मधेसमा धार्मिक पर्यटनका सम्भावना



  • विशाल बस्नेत

काठमाडौं । जनसङ्ख्याका हिसाबले नेपालकै दोस्रो र क्षेत्रफलका हिसाबले सबैभन्दा सानो भए पनि मधेस प्रदेशको पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म आइपुग्दा ऐतिहासिक धार्मिक तीर्थस्थल भेटिन्छन्। मधेसमा हिन्दु धर्मावलम्बीको मन्दिरदेखि मुसलमानको मस्जिद र चर्चहरूको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विशिष्ट चर्चा हुने गर्छ।

तर, ती क्षेत्रको उचित व्यवस्थापनमा ध्यान दिन नसक्दा ओझेलमा परेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशको तथ्याङ्कअनुसार मधेसका ८ जिल्लामा रहेका ४० वटा धार्मिक स्थलले निकै ठुलो ऐतिहासिक विरासत बोकेका छन् ।

जानकी मन्दिर

जानकी मन्दिर हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो। छिमेकी देश भारत र नेपालको सम्बन्धलाई समेत प्रगाढ बनाउन भूमिका खेल्दै आएको यो मन्दिर हिन्दु धर्मप्रति आस्था राख्ने विश्वभरका मानिसका लागि मुख्य धार्मिक पर्यटन क्षेत्र बनेको छ।

१५औँ शताब्दीमा भारत लोहागढका सन्त सुरकिशोर दासले जनकपुरधामको खोजी गरी जानकी मन्दिरको जग हालेको किंवदन्ती छ। १७८४ सालमा मकवानपुरका राजा मणिक सेनले जानकी मन्दिरको नाममा १४ सय बिघा जग्गा दान गरेको लिखित प्रमाण अझै जीवित छ ।

जलेश्वरनाथ मन्दिर

महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको जलेश्वरनाथ महादेव मन्दिरको पनि आफ्नै ऐतिहासिक चिनारी छ। शिवलिङ्ग पानीभित्रै रहेकाले यहाँ रहेको महादेवको नाम जलेश्वरनाथ महादेव नामाकरण गरिएको विश्वास छ।

रौजा मजार
महोत्तरीको धमौरामा रहेको रौजा मजार इस्लाम धर्मावलम्बीहरूका लागि निकै महत्वपूर्ण तीर्थस्थल मानिन्छ। जसरी मोहम्मद अल्लाह जन्मेको विश्वासका साथ साउदीको मक्का मदिनालाई महत्वपूर्ण मानिन्छ, त्यसरी नै यहाँको यो मस्जिदको पनि विशिष्ट चिनारी छ।

बिग्ही नदीको पश्चिम किनारमा रहेको सो मजारको इतिहास ३०० वर्ष पुरानो रहेको विभिन्न ऐतिहासिक दस्तावेजले प्रमाणित गरेको छ। नेपाल बाइसे तथा चौबिसे राज्यमा विभाजित भएको समयमा भारतको राजस्थानमा पर्ने अजमेरबाट ३ जना अल्लाहका भक्तहरू बाबा गदाअली शाह, बाबा रहम अली शाह र बाबा बहार अली शाह फकिरको रूपमा त्यहाँ आएको बताइन्छ।

मिथिला क्षेत्रमा बसोबास गर्ने मुस्लिम सुमदायलाई धार्मिक शिक्षा तथा धर्मसम्बन्धी जानकारी दिने उद्देश्यले भारतको राजस्थानस्थित बाबा खाजा अजमेरीले उनीहरूलाई पठाएको हुन सक्ने इस्लाम धर्मावलम्बीहरूको मान्यता छ।

सलहेश फूलबारी

सिरहा जिल्लामा रहेको सलहेश फूलबारी सम्भवतः विश्वकै अनौठो फूलबारी हो । यस फूलबारीको मध्य भागमा रहेको हारम नामको रूखमा प्रत्येक नयाँ वर्षको पहिलो दिन सेतो रङको माला आकारको फूल एक दिनका लागि फूल्ने गर्छ। अचम्मलाग्दो त के छ भने यो फूल प्रत्येक नयाँ वर्ष अर्थात वैशाख १ गते फुल्ने गर्छ अनि बेलुका ओइलाएर जान्छ।

सोही फूल हेर्नलाई प्रत्येक वर्ष वैशाख १ गतेका दिन त्यहाँ ठुलै मेला लाग्ने गर्छ। सिरहा जिल्लाको लहान बजारदेखि ४ किलोमिटर पश्चिम पडरिया चोकनजिक रहेको सो फूलबारी ९ बिघा क्षेत्रमा फैलिएको छ। उक्त फूलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेशको फूलबारीको रूपमा प्रसिद्ध छ। फूलबारीको मध्य भागमा रहेको हारमको बोटमा छैठौँ सातौँ शताब्दीदेखि सो फूल फूल्दै आएको विश्वास गरिन्छ ।

गढीमाई
बारा जिल्लाको गढीमाई नगरपालिका– १ मा रहेको गढीमाई मन्दिर विश्व प्रसिद्ध छ। यो मन्दिरमा प्रत्येक ५ वर्षमा मङ्सिर शुक्ल सप्तमीदेखि मेला लाग्ने गर्छ । यो मन्दिरको विषयमा अनेकौँ भनाइ छन्। एक किंवदन्तीअनुसार मन्दिरको स्थापना ८०० वर्षपहिले बरियारपुरका भगवान् चौधरीले गरेका थिए।

५ दिनसम्म माताको पूजा गरेपछि मात्रै सर्वसाधारणको दर्शनका लागि मन्दिर खुला गरिन्छ । यस मन्दिरमा मेला लाग्दा महिनाभरिमा २ दिन मात्रै बलि प्रदान हुन्छ। जसमा हजारौँको सङ्ख्यामा श्रद्धालुहरू विभिन्न भाकल पूरा भएपछि पशु बलि दिने गर्छन्।

छिन्नमस्ता
सप्तरीको छिन्नमस्ता नगरपालिकाको सखडा गाउँमा छिन्नमस्ता भगवतीको मन्दिर छ । विभिन्न भाकलसहित छिन्नमस्ता भगवतीमा पुग्दा भाकलहरू पूरा हुने गरेको मान्यता रहेकाले यहाँ नेपाल र भारतका श्रद्धालुहरूमा ठुलो सङ्ख्यामा आउने गर्छन् ।

यहाँ केही वर्ष पहिलेसम्म सखडेश्वरी भगवतीकै नामले नै पूजा गरिन्थ्यो । भगवतीको प्रतिमामा शिर नभएकाले पछि छिन्नमस्ता भगवती नामकरण गरियो । सखडा भगवतीको मूर्तिलाई सूक्ष्म रूपले हेर्दा ३ वटा टुक्रा मिलाएर स्थापित गरिएको जस्तो देखिन्छ । सन् १३२८ मा गयासुद्धिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए । सिम्रौगढका मूर्तिहरू समेत अहिले पनि फुटेकै अवस्थामा छन् ।
मट्टीहानी
महोत्तरीस्थित मट्टीहानी नेपालकै प्रसिद्ध धार्मिक स्थल मानिन्छ । नेपालकै जेठो गुरुकुलदेखि मन्दिर नै मन्दिर भएको यो ठाउँको नाम पनि मट्टीहानी नगरपालिका नै राखिएको छ ।
मठ नै मठ भएको हुनाले पनि मट्टीहानी नामकरण गरिएको धेरैको भनाइ छ । यहाँ टेकेमा मात्र पनि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । विभिन्न धार्मिक मेला र महोत्सव लागिराख्ने यस ठाउँमा नेपाल र भारतबाट आएका तीर्थालुहरूको विभिन्न पर्वहरूमा भिड नै लाग्ने गर्छ ।

प्रदेश र स्थानीय सरकार बेखबर

माथि उल्लेख गरिएका मधेसका प्रसिद्ध केही प्रतिनिधि धार्मिक पर्यटन क्षेत्र मात्र हुन् । प्राचीन महत्व बोकेका मधेसका धार्मिक क्षेत्रलाई मात्र ध्यान दिन सकियो भने समृद्धिको सुरुआत यहीँबाट सुरु हुन्छ।
सङ्घीयता स्थापनासगैँ हामीकहाँ ३ तहका सरकार छन्।

अझ स्थानीय धार्मिक क्षेत्रलाइ प्रवद्र्धन गर्न प्रदेश र स्थानीय सरकारको निकै महत्वपूर्ण भूमिका हुन सक्छ । तर, यो एकादेशको कथा बनेको छ।पछिल्लो समय बरु पर्यटन व्यवसायीहरूले धार्मिक पर्यटन क्षेत्रको विकासमा निकै ध्यान दिएका छन् । अझ महोत्तरीको बर्दिबास नगरपालिकामा त सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धन समिति नै गठन गरिएको छ।

स्थानीय क्षेत्रका चर्चित धार्मिक तीर्थस्थलहरूको सम्भावयता अध्ययन गर्ने र प्रचारप्रसारका लागि मुख्य द्वारहरूमा होर्डिङ बोर्ड राखिएको पर्यटन व्यवसायी सङ्घ महोत्तरीका सचिव तथा नगर समिति सदस्य नारायण घिमिरेले बताए। ‘प्रादेशिक पर्यटन पूर्वाधार, आन्तरिक पर्यटनको आधार’ भन्ने नारालाई आधार मान्दै मधेस सरकारले यसअघि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने नीति नै बनाएको थियो, तर उक्त नीति, लिपिमा मात्र सीमित बन्यो।

दूधमती–महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकीय मार्गका रूपमा विकास गर्ने, पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल भिष्वा मठलाई वीरगन्ज महानगरपालिकासँगको सहकार्यमा धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्ने, पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गर्न प्रदेशमा कम्तीमा ३ वटा पर्यटन कार्यालय स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख भएको थियो । तर, त्यो अझै अघि बढ्न सकेको छैन ।

स्थानीय सरकारले सक्रियता बढाउने हो भने छोटो समयमा पर्यटन स्थल कसरी बनाउन सकिन्छ भन्ने पछिल्लो समय गतिलो उदाहरण बनेको छ– सर्लाहीको बाग्मती नगरपालिका । बाग्मती किनारमा खेर गएको भूभाग अहिले उक्त नगरपालिकाका नगर प्रमुख भरत थापाले देशकै आकर्षक पर्यटकीय क्षेत्र बनाएका छन्। बाग्मतीको पानी सदुपयोग गर्दै बनाइएको विशाल तालमा डुङ्गा र मिनी पानीजहाज चढ्न मात्र दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ।

महोत्तरीको खयरमारा

मधेसको सबैभन्दा उच्च ठाउँमा रहेको खयरमाराका भित्री ठाउँहरू अझै प्रचारप्रसारको पर्खाइमा छन्। समथर भूभागमा बसोबास गर्ने मधेसका बासिन्दाहरूले खयरमाराको लक्ष्मी भाङ्ग्रे, झ्याउरे, पिपलदमा, गर्दीखोला जस्ता ठाउँमा पुगेपछि अनौठो महसुस गर्छन्। ठुल्ठुला पत्थर नै नपाउने मधेसको यो ठाउँमा पहाडका जस्ता ढुङ्गा मात्र छैनन्, भिर, पाखाहरू वास्तवमै मनमोहक छन्। १० वर्षे जनयुद्धका क्रममा मधेसको मुख्य सेल्टर बनेको यस ठाउँलाई मधेसको रोल्पा पनि भनिन्छ।

यसै ठाउँमा रहेको चनौटे डाँडा मधेसकै सबैभन्दा अग्लो ठाउँ मानिन्छ। यस डाँडामा पुगेपछि तराईका फाँटहरूको मनोरम दृश्य नियाल्न सकिन्छ। मन्दिर, गुम्बाहरूको रहेको यस ठाउँको आफ्नै धार्मिक चिनारी पनि छ । मधेस धार्मिक पर्यटनका हिसाबले मात्र उर्वर होइन, प्राकृतिक दृश्यका हिसाबले समेत अग्रणी रहँदा रहँदै सरोकारवाला निकायको बेवास्ताको सिकार बन्नु दुःखद् बनेको छ।

होटल तथा पर्यटन व्यवसायीको प्राथमिकता परेका ठाउँ

होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशले मधेसका सबै जिल्लाका धार्मिक पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरेको छ। मधेस प्रदेशले विभिन्न ४० वटा धार्मिक क्षेत्रलाई मात्र ध्यान दिए मधेस प्रदेशको समृद्धिको परिकल्पना साकार हुन सक्ने व्यवसायी सङ्घका अध्यक्ष हिरा गौतम बताउँछन्।

पर्यटन व्यवसायी सङ्घले महोत्तरीका जलेश्वरनाथ मन्दिर, पञ्चधुरा माई मन्दिर, टुटेश्वरनाथ मन्दिर, रौजा मजार र कालापानीलाई प्राथमिकतामा राखेको छ। त्यसैगरी सर्लाहीको सागरनाथ वन परियोजना, नारीताल, चमेली माई मन्दिर, हरिहर क्षेत्र, भरत ताल र पत्थरकोटलाई प्राथमिकता दिएको छ भने बारामा पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई मन्दिर, ऐतिहासिक सिम्रौनगढ, चुरियामाई मन्दिर र हरिटेज माछा गाउँ छन् ।

सिरहामा सलहेश फूलबारी, बाबा ताल, हिल पार्क, शान्ति पार्क, उत्तारायणी, कमल दह, धनुषामा जानकी मन्दिर, धनुषाधाम, महागङ्गा आरती, रामजानकी विवाह मण्डप, धनुष यज्ञ, मिथिला आर्ट, रौतहटमा बाग्मती नुनथर, निजानन्द धाम, बरहवा ताल, शिवनगर पशुपतिनाथ, शहीद स्मृति पार्क, पर्सामा पर्सा गढी, भिरवा डाँडा, घडीअर्वा पोखरी, गहुवामाई, शङ्काराचार्य गेट सङ्घको प्राथमिकतामा परेको धार्मिक पर्यटकीय क्षेत्र हुन् ।

प्रतिक्रिया दिनुहोस्