व्यक्तिगत घटना दर्ता:किन र कसरी गर्ने ?



काठमाडाैँ । व्यक्तिको जीवनमा घटेका जन्म, मृत्य, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइ जस्ता घटनाहरू सम्बन्धित स्थानीय पञ्जिकाधिकारीकहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

व्यक्तिले राज्यबाट पाउने सेवा, सुविधा प्राप्त गर्न र कानुनबमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र जरुरी हुन्छ । घटना घटेको व्यक्तिको स्थायी बसोबास रहेको गाँउ/नगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत घटना दर्ता गर्न सकिन्छ । सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको स्थानीय पञ्जिकाधिकारीले व्यक्तिगत घटना दर्ता गर्छ । व्यक्तिगत घटना दर्ता गर्न व्यवस्थापन सूचना प्रणालीको अनलाइन घटना दर्ता समेतको व्यवस्था गरिएको छ ।

विदेशी नागरिकको मृत्यु दर्ता गर्न अस्पतालमा जन्मेका विदेशी नागरिकको बच्चाको हकमा सम्बन्धित अस्पतालको डाक्टरको सिफारिससहित सम्बन्धित देशको राजदूतावास वा नियोगको सिफारिस र राष्ट्रियता स्पष्ट हुने राहदानी वा त्यस्तो कुनै प्रमाण र घरमा जन्मेको बच्चाको हकमा सम्बन्धित देशको राजदूतावास वा नियोगको सिफारिस र राष्ट्रियता स्पष्ट हुने राहदानी वा त्यस्तो कुनै प्रमाणको आधारमा दर्ता गर्दा सम्बन्धित देशको नाम उल्लेख गरी जन्म दर्ता गरी प्रमाण पत्र दिने व्यवस्था छ ।

विदेशी नागरिकको मृत्यु पनि दर्ता गर्न मिल्छ । यसका लागि सम्बन्धित देशको राजदूतावास वा नियोगले प्रमाणित गरिदिएको सूचक वा आधिकारिक व्यक्ति सूचक हुन पाउँछ । यसमा मृत्यु भएको अस्पतालको प्रतिवेदन वा प्रहरी प्रतिवेदन, सम्बन्धित देशको राजदूतावासको सिफारिस वा कुनै कार्यालय वा योजनामा कार्यरत रहेको भए प्रमुखको रीतपूर्वकको पत्र र प्रवेशाज्ञा खुल्ने राहदानी आवश्यक पर्छ ।

मतदाता परिचयपत्र भएकोे तर बसाइँसराइ नभएको व्यक्ति र परिवारसँग सम्बन्धित घटना दर्ता कहाँ गर्ने ? भन्ने पनि धेरैमा अन्योल देखिन्छ । मतदाता परिचयपत्र पाउने र व्यक्तिगत घटना दर्ता २ अलग–अलग कानुनअनुसार हुने हुँदा व्यक्तिगत घटना दर्ता सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानको पञ्जिकाधिकारीबाट गर्नुुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाइँसराइ गराउनुपर्छ ।

व्यक्तिगत घटना दर्ता गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि भएन भने पनि प्रमाणपत्रमा नागरिकता नम्बर भने उल्लेख गर्नैपर्छ । जस्तै, जन्म दर्तामा बाबु र आमाको, मृत्यु दर्तामा मृतकको, विवाह दर्तामा पति र पत्नीको, सम्बन्धविच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको र बसाइँसराइमा सूचकको नागरिकता र विदेशी नागरिकको हकमा पासपोर्ट नम्बर उल्लेख भएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्