राष्ट्रिय सभाले चयन गर्‍यो सुनुवाइ समितिमा रहने राष्ट्रिय सभाका ३ सांसद



काठमाडौँ। राष्ट्रिय सभाको आज बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको छ । समितिमा राष्ट्रिय सभा सदस्यहरू रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका हुन् ।

बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको हो । शर्मा नेकपा माओवादी केन्द्र, दाहाल नेकपा एमाले र रायमाझी नेपाली काङ्ग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरूको नियुक्तिअघि संसदीय सुनुवाइ गर्ने व्यवस्था रहेको छ ।

त्यसका लागि सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य गरी १५ जनाको समिति गठन हुनेछ । जसमा राष्ट्रियसभाका ३ जना र बाँकी प्रतिनिधिसभाका सदस्य रहनेछन् । दलीय सहमति नहुँदा प्रतिनिधिसभाले भने सुनुवाइ समितिमा नाम पठाउन सकेको छैन ।

प्रतिनिधि सभाबाट काँग्रेस र एमालेको समान ४-४ सदस्य सुनुवाइ समितिमा जानेछन्। त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादीबाट थप १-१ गरी थप ४ सदस्य समितिमा चयन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्