अपराधी बचाउने चलखेल भएकाे भन्दै पीडितद्वारा कैलाली बन्दको घोषणा



धनगढी : उपमहानगरपालिका वडा नम्बर ४ प्रदेश प्रमुख कार्यालय नजिकै शुक्रबार राति हत्या गरिएका विजय थापाको हत्यारालाई बचाउने चलखेल भएको परिवारले आरोप लगाएका छन् । मृतकका परिवारले न्यायिक समिति बनाए र संघर्ष गर्ने बताएका छन् । 

 

राजनीतिक पावर र पैसाको चलखेलका आधारमा थापाको हत्या गरेको आरोपमा पक्राउ परेका आशीष सेट्टी र घटनामा संलग्न अन्यलाई उन्मुक्ति दिन खोजिएको उनीहरुले आरोप लगाएका छन् । 

थापाको हत्या गरी घिसार्दै लैजाने क्रममा धनगढी उपमहानगर ४ कै आशीष  सेट्टीलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । तर, घटनास्थलबाटै पक्राउ परेका सेट्टीलाई सार्वजनिक नगरिएको र हत्यामा संलग्न अन्यलाई कानुनी दायरामा नल्याएको भन्दै न्यायिक संघले दबाब दिन आन्दोलन गर्ने बताएको हो । 

हत्या भएको पुष्टि हुँदाहुँदै पनि प्रहरीले राजनीतिक र पैसाको चलखेलका आधारमा घटनालाई ढाकछोप गर्न खाजेको र अनुसन्धान प्रक्रियाबारे जानकारी नगराएको परिवारको आरोप छ । न्यायिक संघले थापाको हत्यारा पत्ता लगाउन माग गर्दै आइतवार सार्वजनकि गरेका आन्दोलनका कार्यक्रम सोमबार दिउँसो १२ बजे धनगढी जुलुस प्रदर्शनका साथै प्रहरी कार्यालय अगाडी धर्ना दिइने उल्लेख गरिएको छ ।

 

मंगलबार दिउँसो १२ बजेदेखि अनिश्चितकालीन कैलालीमा आमहड्ताल गरिने र अन्य आन्दोलनका कार्यक्रम मंसिर ४ गते तय गरिने न्यायिक संघ सदस्य देवराज जोशीले बताए ।

 

अन्य केही शंकास्पद व्यक्ति, होटल सञ्चालक, घटना भएको घरका मालिक लगायतलाई पनि अनुसन्धानको दायरामा ल्याउन संघर्ष समितिले माग गरेको छ । हत्या भएका थापाकी आमाले हत्यारालाई प्रहरीले सार्वजनिक नगरेसम्म छोराको शव नबुझ्ने बताएकी छन् । उनले घटनामा संग्लन सबैलाई कारबाही हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्