टिम भावना नेपालको मुख्य आधार 



अम्मान । उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाली इरानसँग  पराजित नेपाली महिला यु–१७ टोली जोर्डनसँगको दोस्रो खेलमा सकारात्मक देखिएको छ ।  एएफसी यु–१७ महिला एसियन कप छनोटको इरानसँग बुधवार भएको खेलमा नेपाल १–० ले पराजित भएको थियो ।  अम्मानको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाल ३ पटक गोलको नजिक पुगेर पनि चुकेको थियो । पहिलो हाफमा नेपाल दुई पटक गोलको नजिक पुगेको नेपालले दोस्रो हाफमा पनि त्यत्तिकै उत्कृष्ट अवसर गुमाएको थियो ।

सोही खेलको क्रममा नेपालले जोर्डनसँगको दोस्रो खेलमा विजयी हुने आत्मविश्वास राखेको छ । ‘ केही कमजोरी रहे । त्यसलाई सुधार गर्दा हामी जोर्डनसँग जित हात पार्न सक्छौ,।’ व्यक्तिगत स्किल भन्दा पनि टिम समन्वयमा नेपाल उत्कृष्ट छ । प्रशिक्षक गुरुङ र सहायक प्रशिक्षक भगवती थापा आफूहरूले टोली हेरे पछि पाएको यो महत्त्वपूर्ण सफलता ठान्छन् । ‘सबै जना सकारात्मक छन् । साथै टिम भावना छ ,’ नेपाली राष्ट्रिय टोलीकी पूर्व रक्षक थापाले द नेपाल टपसँगको कुराकानीमा भनिन् ।

नेपाली टोलीकी फरवार्ड वर्षा ओली र सिना परियारको साथमा होल्डीङ मिडफिल्डर झुमा विश्वकर्माको खेल प्रभावकारी हुने अपेक्षा गरिएको छ । अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यु–१७ महिला फुटबलका लागि आयोजक देशका साथै गत संस्करणमा शीर्ष तीन स्थान पाउने जापान, उत्तर कोरिया र चीन छनोट भइसकेका छन् ।

पहिलो चरणमा सबै देशलाई  ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट पहिलो हुने टोली दोस्रो चरणमा प्रवेश गर्ने छन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिने छ । दुवै समूहको शीर्ष दुई टोली अर्को वर्ष इन्डोनेसियामा आयोजना हुने प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्