साउदी अरबमा अपराध गरेर निकालिएका शिवराम नेपालमा लुटपाटमा संलग्न, विराटनगरबाट पक्राउ



विराटनगर : विराटनगर महानगरपालिकामा लामो समयदेखि लुटपाट मच्चाउँदै आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 

सप्तरीको शम्भुनाथ नगरपालिका घर भई विराटनगरको शान्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय शिवराम चौधरी र विराटनगर ८ का २५ वर्षीय समीर कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाले विभिन्न ठाउँमा लुटपाट मच्चाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । 

यस समूहले विराटनगरमा केही दिनअगाडि छुट्टाछुट्टै स्थानबाट विभिन्न व्यक्तिको सामान लुटेको प्रहरीले जनाएको छ । पक्राउ परेका शिवराम यसअघि साउदी अरबका केही ठाउँमा अपराध गरेर नेपाल फिर्ता भएको अभियुक्त रहेको अनुसन्धानबाट खुलेको एसपी केसीले बताए । उनले भने, ‘नेपाल आएपछि लुटपाटको धन्दामा शिवराम संलग्न भएको देखियो ।’ 

पक्राउ परेकाहरूका साथबाट विभिन्न कम्पनीका तीन थान मोबाइल, सात वटा सिम कार्ड, महिलाले लगाउने घडी, चस्मा र लुटपाटमा प्रयोग गरिँदै आएको लु३९प ४३९७ नम्बरको कालो पल्सर मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्