प्रचण्डका दुःख : विश्वास पाए, पाएनन् मन्त्री



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले ५ महिनासम्म पूर्णता पाउन सकेको छैन। राष्ट्रपति निर्वाचनमा नेकपा एमालेसहित दलहरूसँगको गठबन्धन भत्काएर कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्रीमा निरन्तरता पाएका प्रचण्डले ६ चैतमा दोस्रो पटक विश्वासको मत पाएका थिए।

नेपाली कांग्रेससहित १० दलीय समीकरण बनाएपछि कांग्रेस, जनता समाजवादी पार्टीले आफूले पाएको मन्त्रालयमा मन्त्री नपठाउँदा प्रचण्ड नेतृत्वको सरकार पूर्ण हुन सकेको छैन। उपनिर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि ८ दिन बितिसक्दासमेत दलहरूबीच मन्त्रिपरिषद् विस्तारको विषयमा गम्भीर छलफल हुन सकेको छैन। तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल भने केही दिनमा मन्त्रिपरिषद् विस्तार हुने बताउँछन्।

१–२ दिनभित्रमा मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको गजुरेल बताउँछन्। गजुरेलले कांग्रेसले १–२ दिनमा मन्त्रीको नाम पठाउने बताए पनि कांग्रेस सांसद उदय शमशेर जबरा भने पार्टीले मन्त्री पठाउने विषय आफूलाई केही जानकारी नभएको बताउँछन् । जबरा देउवा पक्षका मन्त्री बन्ने लाइनका सांसद हुन्।

प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संघीय मामिला, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालयको नेतृत्व गरिरहेका छन् । बजेटसमेत बनाउनुपर्ने समय आइसकेका कारण मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिन सरकार लागेको गजुरेलले बताए।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्डले ताकेता गरिरहेको भए पनि सम्बन्धित दलले भने कुनै निर्णय गरेका छैनन्। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ आफ्नो पार्टीले मन्त्री पठाउने विषयमा कुनै छलफल नगरेको बताउँछन्। अहिले अध्यक्ष बारामै भएका कारण यस विषयमा कुनै छलफल नभएको उनले बताए।

श्रेष्ठले द नेपालटपसँग भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्री पठाउन ताकेता गरिरहनु भएको छ । तर, हामीले पार्टीभित्र छलफल गर्न सकेका छैनौँ ।’ प्रधानमन्त्री प्रचण्डले विशेष गरी कांग्रेससँग मन्त्री पठाउन ताकेता गरिरहेको भए पनि कांग्रेसको आन्तरिक किचालोले मन्त्री पठाउन नसकेको श्रेष्ठले बताए ।

कांग्रेसका कारण ढिलाइ

कांग्रेसले आफूले पाएका मन्त्रालयमा मन्त्री पठाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । ८ वटा मन्त्रालय भागमा परेको कांग्रेसले अहिलेसम्म ५ जना मात्र मन्त्री पठाएको छ । उसले अझै ३ जना मन्त्री पठाउन बाँकी छ।

कांग्रेससँगै जसपाले समेत मन्त्री पठाएको छैन। सत्ता गठबन्धन दलहरूले आफूले पाएको मन्त्रालयमा मन्त्री नपठाउँदा अहिले मन्त्रिपरिषद् विस्तारमा विलम्ब भइरहेको छ। सरकारमा मन्त्री पठाउने विषयमा शीर्ष नेताहरूलाई जिम्मा लगाएका कारण आफूलाई यो विषयमा केही थाहा नभएको सांसद जबरा बताउँछन्।

उपनिर्वाचन सकिएलगत्तै मन्त्री पठाउने भने पनि कांग्रेसले अहिलेसम्म मन्त्री पठाउने विषयमा आन्तरिक छलफलसमेत गरेको छैन । कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासमेत यो विषय अनभिज्ञ छन्। उनले द नेपालटप दैनिकसँग भने, ‘म केही दिनदेखि बैठकमा जान पाएको छैन, यस विषयमा मलाई केही थाहा छैन ।’

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उपनिर्वाचनमार्फत् निर्वाचित भएर आएपछि उनलाई समेत सरकारमा सहभागी गराउने विषय सत्ता गठबन्धन दलभित्र बहस सुरु भएको छ। सरकारलाई समर्थन गरिरहेको रास्वपाले भने अहिले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गरिसकेको छैन। यद्यपि सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको छ।

सरकारमा सहभागी हुने विषयमा लामिछानेसँग छलफल भए पनि अहिलेसम्म कुनै ठोस निर्णय नभएको गजुरेलले बताए।उनका अनुसार रास्वपा ‘पर्ख र हेर’को अवस्थामा छ। सरकारमा जाने विषयमा रास्वपा दुविधामा रहेको र कांग्रेसले समेत कुनै ठोस निर्णय दिन नसकेकाले रास्वपा सरकारमा आउने वा नआउने विषय ठोस नभएको बताउँछन्। सरकारमा जाने विषयमा रास्वपाले सोमबार छलफल गर्ने सचेतक सन्तोष परियार बताउँछन्।

पार्टीले बोलाएको बैठकमा सरकारमा जाने वा नजाने विषयमा गहन छलफलपछि मात्र निर्णय हुने उनको भनाइ छ। आइतबार सभापति लामिछानेले प्रधानमन्त्रीलाई भेटेका थिए। प्रधानमन्त्रीले सभापति लामिछानेलाई बधाई दिन बालुवाटार बोलाएकाले गएको सचेतक परियारले बताए।

प्रतिक्रिया दिनुहोस्