युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको क्रेमलिनको आरोप



काठमाडौँ । रुसले गए राती मस्कोस्थित क्रेमलिनलाई लक्षित गरिएका दुई वटा ड्रोन आफूले खसालिदिएको जनाउँदै युक्रेनमाथि राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

क्रेमलिनले ती ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर विशिष्ट सुरक्षा बलले निष्क्रिय पारेको बीबीसीले जनाएको छ । सरकारी समाचार संस्थासँग बोल्दै राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यसबेला क्रेमलिनमा नरहेको बीबीसीले जनाएको छ ।क्रेमलिनका अनुसार ती ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालय परिसरमा खसे तापनि कसैलाई चोटपटक नलाग्नुका साथै भवनहरूमा समेत कुनै क्षति भएको छैन।

सामाजिक सञ्जालमा देखा परेको अपुष्ट फुटेजमा एउटा सानो विस्फोटन हुनुअघि क्रेमलिनमाथि एउटा वस्तु उडेको देखिएको थियो। किएभले ती ड्रोन हमलासँग आफ्नो कुनै सरोकार नरहेको जनाएको छ। एक विज्ञप्तिमार्फत् क्रेमलिनले भनेको छस् ‘गत रात किएभको सत्ताले मानवरहित विमानमार्फत रुसी सङ्घका राष्ट्रपतिको निवास क्रेमलिनमा हमलाको प्रयास गरेको छ।’

त्यसलाई ‘योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास’ बताउँदै रुसले’आफूले आवश्यक ठानेको बखत जहाँ पनि जवाफी उपाय चाल्ने अधिकार सुरक्षित रहेको’जनाएको छ। उक्त विज्ञप्तिमा पुटिनलाई कुनै चोटपटक नलागेको र उनको कार्य तालिका सामान्य रूपमा जारी रहने जनाइएको छ।

पुटिन व्यक्तिगत सुरक्षा उच्च तहको रहेको बताउँदै बीबीसीका रुस सम्पादक स्टीभ रोजनवर्गले ती ड्रोनहरू कसरी क्रेमलिननजिक पुगे भन्ने सोच्नु नै अचम्मलाग्दो रहेको बताउँछन्।उनी बुधवार मस्कोबाहिर रहेर काम गरेका थिए।रुसी सामाजिक सञ्जालमा देखिएका अपुष्ट फुटेजहरूमा बुधवार बिहानको समयमा मध्य मस्कोमाथि धूवाँ देखा परेका थिए। रुसको मे ९ मा मनाइने भिक्ट्री डे परेडको पूर्व सन्ध्यामा उक्त घटना घटाइएको कुरा आफूले हेक्का राखेको जनाएको छ।

उक्त दिनको समारोहमा कैयौँ विदेशी अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ जुन योजना अनुसार नै अगाडि बढ्ने क्रेमलिनका अधिकारीहरूलाई उद्धृत गर्दै बताइएको छ।बुधवार मस्कोका मेयरले सहरमाथि अनुमतिबिना ड्रोन उडाउन प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

युक्रेनको राष्ट्रपतिका एकजना सल्लाहकारले क्रेमलिनमा हमला गर्नु आफ्नो हितमा नरहेको टिप्पणी गरेका छन्।ती सल्लाहकारले त्यस्ता कदमले रुसलाई युक्रेनी पूर्वाधार र सहरहरूमा थप तीव्र आक्रमण गर्नका लागि उक्साउने र मस्कोलाई उक्त कार्यको औचित्यसिद्ध गर्न सहज हुने तर्क गरे । बीबीसीबाट सभार गरिएको

प्रतिक्रिया दिनुहोस्