पाँच दिनपछि बढ्यो नेप्से



काठमाडाैँ ।  लगातार ओरालो  यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से सातको अन्तिम दिन आज भने सामान्य अङ्कले उकालो लागेको छ ।  नेप्से लगातार पाँच दिन ओरालो लागेको हो । नेप्से ओरालो लाग्दै जाँदै कारोबार रकम भने सुस्ताउँदै आएको छ । बजार निरन्तर ओरालो लाग्दै जाँदा आम लगानीकर्ताहरूकाे पनि सेयर बजारमाबारे चासो घट्दै गएको छ ।

साताको अन्तिम दिन आज बिहीबार नेप्से १२.७३ अङ्क  उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै  १८६९.७३ विन्दुमा पुगेको छ। त्यसै गरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अङ्क बढेको छ।

आज नेप्सेसँगै आज  कारोबार रकम पनि उकालो लागेको छ । आज २७६ स्टकको २० हजार ६५५ पटकको कारोबारमा ७३ करोड २६ लाख रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यसै गरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकहरूको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

आज एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यसै गरी,  आज लक्ष्मी लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सयपत्री हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज एनएमबि बैङ्कको ऋणपत्रको मूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ। त्यसै गरी, नेपाल एसबिआई बैङ्कको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको यस दिन साढे ४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। आज  शिवम् सिमेन्ट्सको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्