सरकार अर्थतन्त्र सुधारमा लागिरहेको छ  :  प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको देशको आर्थिक अवस्था सुधारका लागि सरकार निरन्तर प्रयासमा लागिरहेको बताएका छन् ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा आज रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

सम्बोधन गर्दै उनले भने ,आर्थिक रूपमा देशमा अहिले जे जस्तो परिस्थिति देखिएको छ, त्यसको समाधान गर्ने हिसाबले सुशासन र सामाजिक न्याय स्थापित गर्ने कुरामा हामी अघि बढिरहेका छौँ ।’ उनले बृहत्तर लुम्बिनी विकासको गुरुयोजनाअन्तर्गत रामग्राम स्तूप एक महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल रहेको  बताएका छन् । बुद्ध दर्शनले लाखौँ मानिसलाई सामाजिक ऐक्यबद्धता र सद्भावको मार्गमा डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ रहेको छ ।

बुद्ध सर्किटको अवधारणाअन्तर्गत चार वर्षअघि तयार भएको गुरुयोजनाको बारेमा चर्चा गर्दै प्रधानमन्त्री दाहालले रामग्राम स्तूप र बुद्धसँग जोडिएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा श्रीलङ्काबाट उपहारस्वरूप प्राप्त भएको भगवान् गौतम बुद्धको अस्तुधातुको अवशेष प्रधानमन्त्रीलाई देखाइएको थियो । भगवान् गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको ऐतिहासिक धार्मिक स्थलको रामग्राम नगरपालिकाले संरक्षण गर्दै आइरहेको छ । कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले स्तूपको विकासका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्