काठमाडौंलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी



काठमाडौं । सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौं महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ। काठमाडौं महानगरले दिने बजेटबाट काठमाडौंका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सिसीटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सिसीटिभी) क्यामेरा जडान गर्न रु छ करोड उपलब्ध गराउने भएको छ।

काठमाडौंलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सिसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सिसीटिभी जडान गर्ने महानगरको योजना छ। काठमाडौंमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकाभर दुई सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ। बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सिसीटिभी जडान गर्न प्रहरीलाई रु पाँच करोड उलपब्ध गराउने निर्णय गरेको छ। बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सिसीटिभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्