मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी



पर्वत । घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैंचा। बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो। परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन्।

२ दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाख रुपैयाँसम्म कमाएको बताउँछन्। उनको घरमा अहिले सय मौरीका घार छन्। मौसममा यसको संख्या थपिन्छ। एपि सेरेना जातको मौरी पालेका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए । शुरूमा चिसोले ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताए । उनले वर्षमा २ पटक मह निकाल्छन्।

विक्रम संवत् २०५७ सालबाट व्यावसायिक माहुरीपालन थालेका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो। तिमिल्सिना भन्छन्, ‘मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन। मागअनुसार ग्राहकलाई पुर्‍याउन सकिरहेको छैन।’ उनले मह मात्र होइन, मौरीको घार र गोला समेत बिक्री गर्छन्।

उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए । उनी भन्छन्, ‘कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटबल लगायतका क्षेत्रबाट व्यवसायी घरमै आएर लैजान्छन्।’ विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिए । उनले वर्षमा ३०० घारसम्म बिक्री गर्छन्।

मौरी सहितका घार प्रतिगोटा ९ हजार र मह प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुन्छ। विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ। उनले १ सिजनामा ७ क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाएका छन्।

प्रतिक्रिया दिनुहोस्