कांग्रेस कलह : संरचनात्मक विद्रोह कि युवा हुंकार ?



काठमाडौं । २०५१ सालमा कांग्रेस संसदीय दलको नेता र २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवा त्यस समय पार्टीभित्र विद्रोह गरेरै माथि उठे । देउवाले गरेको त्यो विद्रोह अहिले उनैमाथि आइलागेको छ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका देउवा नेपाल विद्यार्थी संघका प्रथम सभापति बनेका थिए। त्यो सन्दर्भ र अहिले कांग्रेसभित्र देखिएको अन्तद्र्वन्द्व कतै न कतै मेल खाएजस्तो पनि देखिन्छ।

अहिले कांग्रेसभित्रको विद्रोहमा महामन्त्री गगनकुमार थापाले नेतृत्व लिँदै छन् भने साथमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केही युवा नेता पनि छन्। उनी पनि विद्यार्थी आन्दोलनबाटै कांग्रेसमा स्थापित नेता हुन्।

पार्टीभित्रको आन्तरिक द्वन्द्व र मुख्य गरी गिरिजाप्रसाद कोइरालासँगको अन्र्तद्वन्द्वका कारण देउवाले २०५९ सालमा नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भए । तर, २०६४ सालमा उनको उक्त पार्टी फेरि कांग्रेससँगै एकीकरण भयो।

त्यो शृंखला अहिले नै दोहोरिइहाल्ने अवस्था नदेखिए पनि अधिकांश नेता र कार्यकर्ताले पार्टीभित्र आमूल परिवर्तन भने खोजेका छन् । नेतृत्व त्यसमा सहमत नभएको अवस्थामा यसले आन्तरिक कलह निम्त्याउने पक्का छ। कांग्रेसमा नेतृत्वको रजगज र गुट–उपगुटको बिगबिगी अहिलेको होइन, दशकौँदेखि कांग्रेस अन्र्तद्वन्द्वमा छ।

२०७९ सालको स्थानीय तह निर्वाचनदेखिका उदाहरण मात्रले पनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्वलाई छरपष्ट पार्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने र चुनावमा जाने विषयमा पनि कांग्रेसभित्र व्यापक असन्तुष्टि देखिएको थियो । कारण थियो– अन्य पार्टीसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय ।

त्यस समयमा गगन थापा–शेखर कोइराला समूहसँगै देउवा पक्षकै कतिपय नेताले गठबन्धनको विरोध गरिरहेका थिए । तर, सबैको धारणालाई पाखा लगाउँदै नेतृत्वले त्यस समयमा गठबन्धन गरेरै चुनाव लड्ने निधो गर्‍यो । गठबन्धनमा थिए कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, राष्ट्रिय जनमोर्चा।

यी पार्टीहरूकै बलमा प्रधानमन्त्री बनेका देउवाले चुनावमा पनि उनीहरूलाई साथ दिने र आफूले पनि साथ लिने निर्णय गरेका थिए। गत आमनिर्वाचनमा पनि गठबन्धन गरेरै निर्वाचनमा जाने निर्णय गर्नुमा पनि देउवाकै जोडबल बढी थियो। गठबन्धन गर्दा कतिपय निर्वाचन क्षेत्रका नेताहरू पार्टी नेतृत्वसँग रुष्ट भए।

स्थानीय तहको निर्वाचनमा त रुष्ट बनेका नेताहरूले पार्टी नै त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आमनिर्वाचनमा पनि कांग्रेसलाई साथ दिएनन्।

आमनिर्वाचनताका निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि जनाएको शेखर–गगन समूहले सच्याउन अल्टिमेटमसमेत दिएको थियो । तर, देउवाका अगाडि कसैको केही लागेन।

कांग्रेस महामन्त्री थापाले १४ असोज, २०७९ सालमा खुला रूपमै कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका थिए । एक सार्वजनिक कार्यक्रममा उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीलाई ठिक ठाउँमा ल्याउन आवश्यक रहेको उल्लेख गरेका थिए।

उनले भनेका थिए, ‘पार्टीभित्र शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठुलो विद्रोह गर्नुपर्ने बेला आएको छ। अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको छ।’ थापाले ७ महिनाअघि दिएको उक्त अभिव्यक्ति अहिले पार्टीभित्र प्रष्टैसँग देखिएको छ।

२७ भदौ, २०७९ सालमा पार्टीभित्र असन्तुष्टि जनाउँदै धनुषाका पूर्व जिल्ला उपसभापति सन्तोष यादव एमाले प्रवेश गरे । र, पार्टी छाड्दै गर्दा उनले भनेका थिए, ‘कांग्रेसमा वडा तहदेखि माथिल्लो तहसम्म टिकट बिक्री हुन्छ । किन्न सक्ने माथि जान्छन्, नसक्ने तलै पर्छन्।’

त्यसमा थप बल्ल पुर्‍यायो १३ चैतको घटनाले। सन्दर्भ थियो– डा. स्वर्णिम वाग्लेको पार्टी परित्याग। उनले कांग्रेस अहिले दाइ र भाउजू, साला र भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेकाले दल छाड्न बाध्य भएको भन्दै आफ्नो फेसबुकमै लेखेका थिए।

पार्टीभित्र परिवर्तनको माग गर्दै संसदीय नेताको चुनावमा देउवालाई चुनौती दिँदै उठेका थापाले चुनाव हारे। मन्त्रालयको भागबन्डामा पनि संस्थापन र इतर समूहको हिसाबकिताब मिलेन। त्यसले पनि नेतृत्व पक्षसँग अन्य समूह रुष्ट बनेका थिए। त्यसले पनि अहिले पार्टीको संरचनात्मक सुधारमा उठेको आवाजलाई बलियो पारेको छ।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर यो स्वार्थको आवाज भएको आरोप लगाउँछन्। उनले भने, ‘केही साथीहरू आफ्नो स्वार्थका लागि मिसन बनाएर लागिपरेका छन्। त्यसको बारेमा खुलेर अहिले नबोलौँ।’ तर, पार्टीभित्र हिसाब नमिलेका कारण अहिलेको अवस्था आएको भन्न नमिल्ने काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेल बताउँछन्।

‘पार्टीमा सांसदको टिकट र मन्त्रीको भागबन्डा नमिल्दैमा बोल्नुपर्ने र मिल्यो भने नबोल्ने भन्ने हुँदैन। अहिले हामी पार्टीको आन्तरिक शुद्धीकरण हुनुपर्छ भन्नेमा छौँ’, उनले भने, ‘पार्टीमा देखिएका बेथिति र संरचनात्मक सुधार हाम्रो माग हो।’

नेविसंघका पूर्वअध्यक्ष महर भने अहिलेको अवस्थालाई फरक तरिकाले विश्लेषण गर्छन्। उनका अनुसार अहिले पार्टीभित्र उठेका आवाज केन्द्रीय तहमा मात्र सीमित भएको उनको बुझाइ छ।

‘पार्टीभित्रको सुधार केन्द्रीय तहमा मात्र होइन गाउँ–गाउँसम्म गर्नुपर्ने छ। यसका लागि काठमाडौँमा बसेर बोल्दैमा केही हुँदैन’, महर भन्छन्, ‘एकले अर्कालाई आरोप लगाउँदैमा पार्टीभित्रको समस्या समाधान हुँदैन । त्यसका लागि सामूहिक छलफल आवश्यक छ, अहिले त्यसैको कमी छ।’

प्रतिक्रिया दिनुहोस्