संसद्‌मा ‘नांगो नाच’



काठमाडौं । जनताले विश्वास गरेर संसद्‌मा आफ्नो प्रतिनिधित्व गर्न पठाएका सांसदहरू आजभोलि जनताको प्रतिनिधिका रूपमा भन्दा पनि स्टन्टबाज र आफ्नो प्रचारप्रसार गर्न उद्यत छन्।

उनीहरू आफ्नो भाषण संसद् र जनताप्रति उत्तरदायी हुन्छ कि हुँदैन भन्नेभन्दा पनि आफूले बोलेका कुरा र गरेको हर्कत सामाजिक सञ्जालमा भाइरल हुन्छ कि हुँदैन भन्नेमा बढी केन्द्रित हुन्छन्। संसद्को मुख्य काम नीति निर्माण गर्ने हो। यसर्थ पनि सांसदले बोलेको विषय संसद्मा प्रभावकारी हुनुपर्छ।

नीति निर्माणको चरणमा सांसदले बोलेको विषय अर्थपूर्ण र महत्वपूर्ण हुनुपर्छ। तर, विडम्बना उनीहरूले बोलेको विषय संसद्मा भन्दा फेसबुक, युट्युब र टिकटकतिर प्रभावकारी र भाइरल हुन्छ। अनुभवी भनिएका र पटक–पटक सांसद, मन्त्री भइसकेकाले देशमा कुनै परिवर्तन नगरेको भन्दै नयाँलाई जिताएर पठाएका जनताले स्टन्टबाजी र फन्डामात्र सुन्न र देख्न पाएका छन्।

आफ्नो जनजीविकालाई समाधान गर्न नीति निर्माण गर्न गएका सांसदहरू लोकरिझाइँ गर्न र सार्वजनिक खपतमा सीमित हुँदा जनताका समस्या भने ज्यूँका त्यूँ छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले लगाएको कपडा खोलेर अर्धनग्न भए। सभामुख देवराज घिमिरेले आफूलाई बोल्न समय नदिएको विरोधमा उनले संसद्मा कपडा खोलेर विरोध जनाए।

नेपालको संसदीय इतिहासमा कुर्सी भाँच्ने, माइक फुटाउने, सांसदलाई चप्पल हान्ने, अर्थमन्त्रीले तयार गरेको बजेट वक्तव्यको ब्रिफकेस खोस्ने, मन्त्रीलाई थप्पड हान्ने, सभामुखलाई कुर्सी हान्ने तथा दलका बैठकमा समेत कुर्सी हानाहान गर्ने घटना नौलो होइन।

लोकतन्त्रमा संसद्लाई दर्पणका रूपमा हेरिन्छ । संसद्मा हुने यस्ता जात्राले संसारलाई नेपालका नेताको चेतनाको स्तर कस्तो छ भन्ने बुझ्न काफी छ । नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर छ भन्ने प्रश्न यस्ता हर्कतले पटक–पटक उब्जाएको छ। यसले संसदीय व्यवस्था कतिसम्म घिनलाग्दो हुन्छ भन्ने समेत प्रष्ट बनाएको छ।

संसदीय व्यवस्थामा संसद् सार्वभौमसत्ता सम्पन्न हुन्छ। नेपालमा मात्र नभएर संसारमा संसदीय व्यवस्था मान्ने देशमा यस्तो घटना भइरहन्छ । यसरी संसद् बैठकमै सांसदहरूले जात्रा देखाउनु संसद्को विशेष अधिकार भएको विज्ञहरू बताउँछन्।

नेपालको संविधानमा यस्ता हर्कत गर्ने सांसदहरूलाई बैठकबाट निकाल्ने बाहेक अन्य कुनै कारबाही हुँदैन । प्रतिनिधिसभा नियमावलीको नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ।

चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने नियमावलीमा उल्लेख छ । सभामुखको चेतावनी नमाने उसलाई उक्त बैठकबाट निकाल्न सक्ने व्यवस्था छ।

नियमावली ३१ मा भनिएको छ, ‘(१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ। आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’

संसद्‌मा ‘जात्रा’को इतिहास

२०४९ सालमा एमाले सांसद गोल्छे सार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका तत्कालीन सांसद रामचन्द्र पौडेललाई थप्पड हानेका थिए।

जतिबेला पौडेल स्थानीय विकासमन्त्रीसमेत थिए। ११ चैत, २०५० सालमा विपक्षी दलका सांसद तत्कालीन जनमोर्चाका अमिक शेरचनले उपसभामुख महन्थ ठाकुरालाई चड्कन हानेका थिए।

झडप हुने आशंका गरेर तत्कालीन सभामुख दमननाथ ढुंगाना बैठक सञ्चालनका लागि उपस्थित नहुँदा ठाकुरले बैठक सञ्चालन गरेका थिए। २०५४ मा दल त्यागसम्बन्धी विधेयक पारित गर्ने क्रममा कांग्रेस र एमाले सांसदबीच कुर्सी हानाहान भएको थियो । १ असोज, २०५५ मा स्थानीय स्वायत्त शासन ऐन प्रस्तुत गर्ने विषयमा एमाले र कांग्रेसका सांसदबीच झडप भयो।

सभामुख रामचन्द्र पौडेलले एने प्रस्तुत गर्न स्थानीय विकासमन्त्री केशवलाल श्रेष्ठलाई विधेयक प्रस्तुत गर्न समय दिएपछि एमालेको विरोध सुरु भएको थियो। उक्त समयमा भएको ठेलमठेल र हानाहानमा मन्त्रीसमेत मुछिएका थिए। मन्त्री राधाकृष्ण मैनाली घाइते भएका थिए। उक्त ऐन पारित गर्दा २०५६ सालमा एमालेको विरोधबीच तत्कालीन सभामुख पौडेलले पारित भएको घोषणा गरेपछि झडपको स्थिति आएको थियो।

८ फागुन, २०५७ मा बैठक सुरु हुनेबित्तिकै मुक्का हानाहान सुरु भयो। सभामुख तारानाथ रानाभाटले पूर्वघोषित कार्यक्रमअनुसार नै बैठक सञ्चालन गरे। सभामुखले बैठक सुरु गर्दै पर्यटनमन्त्री ओमकार श्रेष्ठलाई समय दिनासाथ माहोल बिग्रिएको थियो। मन्त्री श्रेष्ठ रोस्ट्रममा पुग्नासाथ एमालेका सांसद राजेन्द्र पाण्डेले उनको कठालो समाए।

आफ्नो कठालो समाएपछि पाण्डेमाथि श्रेष्ठले मुक्का प्रहार गरे । मर्यादापालकलाई समेत स्थिति नियन्त्रणमा लिन मुस्किल भएको उक्त झडपमा वन तथा भू–संरक्षण राज्यमन्त्री शिव बस्नेत र सांसद रामनाथ अधिकारीले पनि कुटाइ खाएका थिए।

२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरिन्। ३ मंसिर, २०६७ मा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधिसभाको बैठकमा बजेट प्रस्तुत गर्न जाँदा माओवादी केन्द्रका सांसदरूले संसद् अवरुद्ध गर्दै उनको हातबाट बजेट ब्रिफकेस खोसेर बजेट वक्तव्य च्यातिदिए । २ पक्षीय घम्साघम्सीमा केही सांसदहरूको लुगासमेत च्यातिएको थियो ।

आर्थिक वर्ष २०६८/०६९ का लागि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले प्रतिनिधिसभाको बैठकमा सहज रूपमा बजेट पेस गर्न पाएनन् । मधेस केन्द्रित दलहरूले लगातार बैठकमा अवरोध सिर्जना गरेका थिए।

दोस्रो संविधानसभाको कार्यत्रकालमा बैठकमा २ वटा कुर्सी तोडफोड गरेपछि तत्कालीन सांसद सञ्जयकुमार साह निलम्बनमा परेका थिए भने संवैधानिक समितिको बैठकमा पूर्वसांसद विश्वेन्द्र पासवानले आफ्नै शरीरको कपडा च्यात्न खोज्दै भिडन्त गर्न सुरिएका थिए।

२०७३ मंसिरमा एमालेले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै संसद् अवरुद्ध गरेको थियो। २०७६ जेठमा गुठी विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेको थियो।

५ माघ, २०७१ मा तत्कालीन माओवादीसहित १९ दलीय मोर्चाका सांसद्हरूले सभामुख सुवासचन्द्र नेम्वाङ र तत्कालीन एमालेका नेता केपी शर्मा ओलीमाथि मोबाइल र माइक प्रहार गरेका थिए। उक्त समयमा सांसदहरूले कुर्सी तोडफोडसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्