टोपबहादुरको निवासमा प्रहरीको खानतलासी गर्दा पनि भेटिएनन् ,कता हराए रायमाझी ?



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको छ।प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि उनी हालसम्म पक्राउ नपरेपछि प्रहरीले खानतलासी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी  दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको  निवासमा खानतलासी लिइएको जनाएका छन् । रायमाझी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबै जनाविरद्ध पक्राउ पुर्जी लिएको थियो ।

वारेन्ट जारी भएपछि उनका छोरा पक्राउ परे पनि रायमाझी ‘फरार’ रहँदै आएका छन् । दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा  संलग्न रहेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्