भ्रष्टाचार काण्डले जो सिद्धिए



काठमाडौँ । २ करोड ३६ लाख रुपैयाँ गैरकानुनी रूपमा कमाएको अभियोग लागेपछि कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको राजनीतिक करियर ‘कमब्याक’ हुन सकेन । उनीविरुद्ध ३० साउन, २०६८ मा सर्वोच्चले दोषी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १२२ रुपैयाँ बिगो जरिमानाको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि जेल गएका खड्का फेरि राजनीतिमा आउने प्रयास गरे । तर, सफल भएनन् । कांग्रेसको १२औँ महाधिवेशनमा तेस्रो अधिक मत ल्याए पनि कांग्रेसको राजनीतिबाट खड्का पलायन भए । १६ चैत, २०७४ मा उनको मृत्यु भयो । तत्कालीन अवस्थामा खड्का कांग्रेसको प्रभावशाली नेताका रूपमा स्थापित थिए ।

राजनीति अपराधीकरण र अपराध राजनीतीकरण भइरहेको हाम्रो देशमा अपराध गरेकै कारण नेता बनेका र अपराधकै कारण राजनीतिमा फेरि उदाउन नसकेका धेरै घटना छन् । देशको मुख्य पदमा पुगेका नेताहरू अपराधमा संलग्न भएका कारण राजनीतिबाट पलायन भएका धेरै उदाहरण छन् ।

यस्तै, एउटा ज्वलन्त उदाहरण हुन्– कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी । जोशी अहिले कांग्रेस राजनीतिबाट अलग छन् । २८ माघ, २०६० मा विशेष अदालतमा ३ करोड ९३ लाख ६३ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै जोशीविरुद्ध मुद्दा दर्ता भयो । जोशीलाई विशेष अदालतले विषयवस्तुमा प्रवेश नगरी सफाइ दिएको थियो ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० कात्तिक, २०६३ मा विशेष अदालतले सफाइ दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर ग¥यो । भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने सर्वोच्चको फैसलापछि १० साउन, २०६६ मा विशेष अदालतले जोशीलाई २ करोड १६ लाख स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र डेढ वर्ष कैद सजाय सुनायो ।

उक्त फैसलाविरुद्ध जोशी सर्वोच्च अदालत गए । उनको मुद्दामा अख्तियारले अभियोगमा १३ वर्ष कैद सजाय र सोही बराबरको बिगो जरिमाना मागेको थियो । तर, सर्वोच्चमा ४४ पटक पेसी तोक्दा अहिलेसम्म उक्त मुद्दाको सुनुवाइ हुन सकेको छैन । सर्वोच्चमा रुमल्लिएको मुद्दा जस्तै उनको राजनीति पनि रुमल्लिएको छ ।

नेताहरू पावरका लागि जे पनि गर्न तयार हुँदा र पावर नै सबैथोक ठान्दा आपराधिक क्रियाकलापमा जोडिन पुग्ने राजनीतिक विष्लेशक डा. सुरेन्द्र भण्डारी बताउँछन् । त्यसकारण अधिकांश अपराधमा नेताहरूको नाम जोडिने गर्छ ।

कतिपय नेताहरू आफ्नो अपराध लुकाउन सक्छन् भने कतिपय नेता आफूले गरेको अपराध लुकाउन नसक्दा त्यही अपराधले उनीहरूको राजनीति सकिन्छ । अधिकांश ठुला अपराधमा नेताहरू कतै न कतै जोडिन्छन् । त्यसमध्ये सबैभन्दा बढी अपराध आर्थिक विषयसँग सम्बन्धित हुन्छ ।

पावरमा जान पैसा सबैभन्दा महत्वपूर्ण हुने कारण पनि नेताहरू आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा बढी मुछिएको विज्ञहरू बताउँछन् । जसरी पनि पावरमा जाने नेताहरूको अभिलाषाका कारण नेताहरू बढी भ्रष्टाचार र आर्थिक मुद्दामा पर्ने विज्ञहरू बताउँछन् ।

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिएका कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विजयकुमार गच्छदारको संलग्नतालाई पावर र पैसाका लागि नेताहरू जे पनि गर्न तयार हुन्छन् भन्ने अर्को उदाहरण मान्न सकिन्छ । उनले सरकारी जग्गा आफ्नो नाममा ल्याउने प्रयास गरेका थिए । यो प्रकरणमा अन्य नेताहरूको नामसमेत जोडिएको छ । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका गच्छदार २०७८ सालमा धरौटी बुझाएर रिहा भएका थिए ।

तर, उनको राजनीति के हुन्छ भन्ने टुंगो छैन । २०७४ मा आफ्नो नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका उनी अहिले गुमनाम छन् । उनी २०७८ मंसिरमा भएको कांग्रेस महाधिवेशनमा उपसभापतिमा पराजित भए भने गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा पनि सुनसरी–३ बाट पराजित भए ।

भ्रष्टाचार अभियोग लागेपछि कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा प¥यो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ । त्यसपछि उनी राजनीति गुमनाम हुँदै गएका छन् ।

यही प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालतले पूर्वमन्त्री बद्री मैनालीलाई २० करोड जरिमाना र ९ वर्ष ६ महिना कैदसहित फैसला सुनायो । अदालतको फैसलापछि आफूमाथि अन्याय भएको बताएका उनको राजनीति फर्किन सक्ने अवस्था नरहेको उनी आफँैले बताइसकेका छन् ।

यता, कांग्रेसका अर्का नेता तथा पूर्वसञ्चारमन्त्री चिरञ्जीवी वाग्ले पनि भ्रष्टाचार मुद्दा लागेपछि फेरि राजनीतिमा आउन सकेनन् । ७ साउन, २०६१ मा विशेष अदालतले वाग्लेले २ करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गर्दै अढाई वर्ष कैद सजाय सुनायो । उक्त फैसलाको पुनरावेदन गर्दा सर्वोच्च अदालतले २०६७ मा २ करोड ३ लाख रुपैयाँ जरिमाना र १८ महिना जेल सजायको फैसला सुनाएपछि वाग्ले जेल परे । जेलमुक्त भए पनि उनी हाल गुमनाम छन् ।

भ्रष्टाचार मुद्दा लागेपछि गुमनाम हुने अर्का नेता हुन्– तत्कालीन कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता । २ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि उनी कांग्रेस छाडेर विभिन्न पार्टीबाट राजनीतिमा आउने प्रयास गरे पनि सफल भएनन् ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०६८ मा गुप्ताले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्चले बिगो भराउन र डेढ वर्ष कैद फैसला सुनाएपछि उनी जेल परेका थिए ।

तत्कालीन अवस्थामा सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्रमा रूपमा रहेका कांग्रेसका अर्का नेता तारिणीदत्त चटौतको राजनीति पनि लाउडा जहाज प्रकरणमा मुछिएपछि सकियो । २०५६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका तारिणीदत्त चटौत लाउडा जहाज प्रकरणमा मुछिएसँगै राजनीतिमा फर्किन सकेनन् ।

चटौत लगायतविरुद्ध २०५८ मा दायर भएको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ । यो आरोपसँगै चटौतको राजनीतिक यात्रा पनि गुमनाम छ । यद्यपि, २०६४ सालको संविधानसभामा उनलाई समानुपातिकबाट सभासद बनाइएको थियो ।

तर, पनि उनीले आफ्नो राजनीतिलाई फर्काउन भने सकेनन् ।
अहिले चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको राजनीति पनि गुमनाम हुने नेताहरूले आकलन गर्न थालेका छन् ।

यो प्रकरणमा नाम मुझिएका एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । गृह जिल्ला अर्घाखाँचीमा प्रतिनिधिसभाका सभाुमख देवराज घिमिरेसँगै कार्यक्रममा सहभागी भएका उनीविरुद्ध प्रहरीले प्रक्राउ पुर्जी जारी भएपछि बाटोबाटै फरार भएका थिए ।

पूर्वगृहमन्त्री, सचिवसहित १२ जना पक्राउ परिसकेको यो प्रकरणमा कांग्रेस नेतृ आरजु राणा देउवा, मञ्जु खाण, एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको नाम जोडिएको छ । थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । उनीसमेत फरार छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने अहिलेसम्मका सबैभन्दा ठुलो र उच्च ओहोदाका नेता पूर्वगृहमन्त्री खाण हुन् । यद्यपि, यो विषयमा अन्य ठुला नेताहरूसमेत मुछिने सम्भावना धेरै छ ।

भ्रष्टाचार प्रकरणमा मुछिएका नेताहरू

भ्रष्टाचार प्रकरणमा सबै दलका अधिकांश नेता मुछिएका छन् । यस्ता प्रकरणमा धेरैजसो पछिल्लो समय नेकपा एमालेका नेताहरूको नाम आउने गरेको छ । तर, धेरै कांग्रेसका नेताहरू यस्ता प्रकरणमा दोषी ठहरिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडाकू शिविर घोटाला प्रकरणमा मुछिएका छन् । यससँगै उनी बुढीगण्डकी जलविद्युत् आयोजना घोटालामा समेत मुझिएका छन् । यो प्रकरणमा अन्य दलका नेताहरू पनि जोडिएका छन् ।

कुनै समय नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए । तर, पछि भट्टराईले उक्त आरोप आफूले आवेगमा लगाएको भन्दै सत्य नभएको बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ललित निवास जग्गा प्रकरणमा मुझिएका छन् । यो प्रकरणमा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, एमाले नेता विष्णु पौडेलसमेत मुझिएका छन् । पौडेलका छोरा नवीनको नाममा जग्गा दर्ता भएको प्रमाण बाहिरिएको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद प्रकरण, यती प्रकरण, ओम्नी प्रकरणलगायत प्रकरण ओली नेतृत्वको सरकारका पालामा भएको थियो । ओली क्याबिनेटका सदस्यहरू ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, योगेश भट्टराई, भानुभक्त जोशीले नेतृत्व गरेका यी प्रकरणको मुख्य नेतृत्वकर्ता ओली नै भएको आरोप छ ।

सुडान घोटला प्रकरणदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आउँदा तत्कालीन गृहमन्त्री, गृहसचिव, प्रहरीका उच्च ओहोदाका अधिकारीहरू पक्राउ परिसकेका छन् । ठुला नेता जोडिएका अधिकांश प्रकरणको फाइल खुल्न बाँकी छ ।

पार्टीका शीर्षदेखि अधिकांश मुख्य नेताहरू जोडिएका ललिता निवास, बुढीगण्डकी घोटाला, माओवादी लडाकू शिविर घोटलाजस्ता अधिकांश प्रकरणको फाइल अझै खुल्न सकेको छैन ।

यसरी आउने सबै प्रकरणको मुद्दा अघि बढाउने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ । तर, यो आयोगका आयुक्तको नै राजनीतिक नियुक्ति हुने हुँदा नेताहरूविरुद्ध परेको यस्ता भ्रष्टाचारका फाइलहरू खुल्न नसक्ने जानकारहरू बताउँछन् ।

पूर्वआयुक्त लोकमानसिंह कार्कीले माओवादी लडाकू शिविर घोटलको फाइल खोल्ने तयारी गरे पनि पछि उनीविरुद्ध नै भ्रष्टाचारको मुद्दा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्