सम्भव छ एचआइभीको उपचार ?



काठमाडौं । अनुसन्धानकर्ताहरूले जर्मनीका ५३ वर्षीय पुरुष एचआइभी संक्रमणबाट मुक्त भएको जनाएका छन्। यसरी एचआइभी संक्रमणबाट मुक्त हुनेको नाम भने गोप्य राखिएको छ। अनुसन्धानकर्ताहरूले सन् २०१९ मा उनी ठिक भएको भेटिए पनि त्यसबारे औपचारिक घोषणा गरेका थिएनन्।

२०२३ मा फेब्रुअरीमा एचआइभी संक्रमित उनी पूर्ण रूपमा ठिक भएको घोषणा गरियो। ४ वर्षअघि नै एन्टिभाइरल औषधि सेवन गर्न छाडेका उनको शरीरमा त्यसपछि कुनै पनि एचआइभी भाइरस देखिएको छैन।

‘यो साँच्चै निको भएको हो,’ नेचर मेडिसिनको पब्लिकेसनमा यसको विस्तृत विवरण प्रस्तुत गर्ने क्रममा डा. जोन एरिक ओेले जेन्सनले भनेका छन् । हालसम्म एचआइभीलाई कहिले पनि ठिक नहुने रोगको रूपमा लिइएको छ। तथापि उपचार पद्धतिमा मारेको फड्कोका कारण लामो समयसम्म मान्छे बाँच्न भने सक्छन्।

रिपोर्टमा उल्लेखित ती व्यक्ति क्यान्सर संक्रमित भएपछि उनको ‘स्टेम सेल’ प्रत्यारोपण गरिएको थियो । उपचारको अन्य कुनै पद्धति बाँकी नरहेपछि कठिन र जोखिमपूर्ण मानिने ‘स्टेम सेल’ प्रत्यारोपण गरिएको हो । संयोगवश, क्यान्सरको उपचार गराइएका उनी एचआइभी संक्रमणबाट पनि मुक्त रहे।

ह्युमन इम्युनो डिफिसेन्सी भाइरस (एचआइभी) शरीरमा प्रवेश गरेपछि रोग प्रतिरोधात्मक सेलहरू नाश गर्छ। यसै भाइरसका कारण एक्वायर्ड इम्युनो डिफिसेन्सी सिनड्रोम (एड्स) रोग लाग्छ । रोग लागेपछि सामान्य संक्रमण पनि ठिक हुँदैन।

संसारमा ३ करोड ८४ लाख व्यक्ति यो संक्रमण लिएर बाँचिरहेका छन्। यी सबै रोगको उपचार पद्धतिमा विकासलाई नियालिरहेका छन् । यो भाइरसको संक्रमणबाट बचाउनका लागि अहिले भ्याक्सिनको विकास क्रम पनि अघि बढिरहेको छ ।

एचआइभी ठिक हुने पहिलो व्यक्ति भने अहिले चर्चा गरिएका व्यक्ति होइनन् । टिमोथी रे ब्राउन हुन्। ‘बर्लिन पेसेन्ट’को रूपमा सो उपचारको प्रतिवेदन सन् २००९ मा प्रकाशित भएको थियो । यसपछि ‘लन्डन पेसेन्ट’ का रूपमा सन् २०१९ मा प्रतिवेदन प्रकाशित भएको थियो। सन् २०२२ मा ‘सिटी अफ होप’ र ‘न्युयोर्क पेसेन्ट’ प्रकाशित भएको थियो। जेन्सनले यो उपचार र विगतका घटनालाई आधार मानेर एचआइभीको उपचार खोज्न सहज हुन सक्ने प्रतिक्रिया दिएका छन् । ‘एचआइभीको उपचार पत्ता लाग्नु कति महत्वपूर्ण छ भने यसको अपेक्षा गर्न पनि कठिन मानिएको छ,’ साउथ सोर हेल्थका संक्रामक रोग निर्देशक ड. टड एलरिनले भने ।

उनको यो विश्वासका बाबजुद सरुवा रोग विशेषज्ञ चाँडै नै एनआइभीको सफल उपचार पत्ता लाग्नेमा विश्वास मान्न सकिरहेका छैनन् । सरुवा रोग विशेषज्ञ. डा अनुप बाँस्तोला केही केसलाई हेरेर सामान्यीकरण गर्न नहुने बताउँछन् । बाँस्तोलाका अनुसार यसरी ठिक हुनेहरू एचआइभी–१ हुनेहरू हुन् । उनीहरूको बोनम्यारो प्रत्यारोपण गर्दा अर्को बोनम्यारोमा एचआइभी प्रवेश गर्ने ढोका बन्द हुन्छ । यो एकाध घटना हो।

तथापि डा. बाँस्तोला पनि अहिले भएको उपचार पद्धतिको विकासलाई उपलब्धि मान्छन् । सुरुमा दैनिक २ पटक एन्टिभाइरल चक्कीबाट उपचार सुरु भएको हो। अहिले दैनिक १ चक्की पर्याप्त हुने भएको छ। भाइरल लोड कम भएको व्यक्तिमा सुई पनि पर्याप्त हुन सक्छ। भाइरल लोड कम गराउँदै एक व्यक्तिबाट अर्कोमा सर्नबाट पनि रोक्न सकिन्छ।

उपचार पद्धतिका बारे भएको भ्याक्सिनको उत्पादनलाई पनि अझ धेरै समय कुर्नुपर्ने उनी बताउँछन्। ‘शरीरमा यसको एन्टिबडी विकास गर्न कठिन भएका कारण भ्याक्सिन पत्ता बनाउन कठिन हुन सक्छ,’ डा. बास्तोलाले भने।

यस्तो छ इतिहास
सन् १९५९ मा लिइएको पहिलो स्याम्पलमा एचआइभी संक्रमण देखिएको थियो। प्रजातान्त्रिक कंगोमा सो रोगको संक्रमण फेला परेको हो एचआइभी २ प्रकारका हुन्छन् । एचआइभी–१ चिम्पान्जी तथा एचआइभी–२ बाँदरबाट मानिसमा सरेको हो।

धेरैलाई एचआइभी सन् १९८० को दशकमा पत्ता लागेको भन्ने पनि छ । सन् १९८१ मा अमेरिकाका १ समलिंगी पुरुषमा कापोसिस सारकोमा भन्ने विरलै हुने क्यान्सर र पिसिपी भनिने फोक्सोको संक्रमण देखिएको थियो। यो दुवै रोग देखिएपछि चिकित्सकले खोज सुरु गरेका थिए। त्यसपछि पत्ता लागेको रोगलाई एड्स नामकरण गरिएको हो। सन् १९८४ मा सो रोग लगाउने भाइरसलाई एचआइभी नाम राखियो।

प्रतिक्रिया दिनुहोस्