मालिकार्जुन गाउँपालिकाको शैक्षिक सुधारका लागि दरबन्दी मिलान लगायतका कार्य सम्पन्न 



डम्मर धामी, काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँ पालिकाको शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि दरबन्दी मिलान लगायतकाको कार्य सम्पन्न भएको छ । गुणस्तरीय शिक्षाका लागि दरबन्दी मिलान सहयोग गर्ने सबैलाई गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले धन्यवाद दिएका छन् ।

गाउँपालिका अध्यक्ष धामीले मालिकार्जुन गाउँ पालिका अन्तरगतका सबै राजनीतिक दल, सम्पूर्ण शिक्षक ट्रेड युनियनका सरहरू ,पेसागत महासङ्घका प्रतिनिधि सरहरू , सबै ४४ वटै विद्यालय  व्यवस्थापन समितिका अध्यक्षहरू , सम्पूर्ण प्रधानाध्यापक एवं शिक्षक शिक्षिकाहरू ,बुद्धिजीवी समाजसेवी लगायत शिक्षा प्रेमी, सामाजिक विकास कार्यालय , शिक्षा विकास समन्वय एकाइ ,पालिका स्तरीय दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्य दलका सर , गाउँ शिक्षा समिति ,सबै ८ वटै वडाका वडा अध्यक्षहरू ,कार्यपालिकाका सदस्यहरू उक्त विषयमा राय, सल्लाह र सुझाव, प्रेरणा एवं हौसला प्रदान गर्नु हुने आम मालिकार्जुनबासी आमाबुवा, दिदीबहिनी दाजुभाइ सबैमा मालिकार्जुन गाउँ पालिकाको दिगो विकास र समृद्धिको आधार निर्माण गर्ने , शैक्षिक अभियानमा अतुलनीय सहयोग गरेको भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।

मालिकार्जुन गाउँपालिकामा राष्ट्रिय मापदण्ड अनुसार विद्यार्थी शिक्षक अनुपात १:४० रहेको छ । पालिको हालको मौजुदा मालिकार्जुनको शिक्षक विद्यार्थी अनुपात १:२० रहेको छ । शिक्षक दरबन्दी मिलान नेपालको संविधान २०७२ को अनुसूची- ८ को ७ मा व्यवस्था भए अनुसार आधारभूत तह र माध्यमिक शिक्षा स्थानीय तहमा रहेकाले , संवैधानिक जिम्मेवारी पूरा गर्नु स्थानीय तहको दायित्व एवं कर्तव्यबोध गरी, मालिकार्जुन गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन ,२०७४ को परिच्छेद ३ को ११ भएको कानुनी प्रावधान अनुसार सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारी दरबन्दी मिलान गरेको हो. गाउँपालिकाले सोही परिच्छेदको -१२ नं.मा उल्लेखित विद्यालयको नक्साङ्कन, अनुमति ,स्वीकृति , समायोजन तथा मिलान सम्बन्धी भएको कानुनी आधारहरूको पालना गर्नुका साथै बिद्धमान ऐन कानुन , विभागीय निर्देशन परिपत्र, मापदण्डमा भएको व्यवस्थाका साथसाथै मालिकार्जुन गाउँ पालिकाको शिक्षा ऐन, नियमावली ,कार्यविधि र कार्यपालिकाको निर्णयहरूका आधारमा मालिकार्जुन गाउँ पालिका भित्र रहेका झन्डै १९० जति शिक्षकहरूको दरबन्दी मिलान , अन्तरपालिका स्थानान्तरण ,मापदण्डमा आधारित विद्यालय स्वीकृत र समायोजन गरेको हो । उक्त कार्यक्रम अन्तरगत सरोकारवालाहरू सबैको सहभागीमा समीक्षा, अन्तर्क्रिया एवं साझा प्रतिबद्धता सहितको निर्णय भएको छ । 

दरबन्दी मिलान तथा विद्यालय समायोजनका लागि गाउँ कार्यपालिकाको निर्णयले उक्त कार्य सम्पन्न गर्न बनेको कार्यदलले २०८० वैशाख मसान्त सम्म प्रतिवेदन पेस गर्ने कार्यपालिकाको निर्देशन पालन गरी निर्धारित समयमा नै कार्यदलले कार्य सम्पन्न प्रतिवेदन गाउँ शिक्षा समितिमा पेस गर्ने कार्य सम्पन्न गरेको छ । गाउँ शिक्षा समितिबाट प्रतिवेदन माथि आवश्यक सुझाव सहित कार्य पालिकामा अनुमोदनका लागि पेस गरी , मिति २०८० र ०१/२६ गतेको गाउँ कार्यपालिका, गाउँ शिक्षा समिति र दरबन्दी मिलान तथा विद्यालय समायोजन समितिको संयुक्त बैठकबाट सर्वसम्मतिले निर्णय गरिएको हो । साथै २०८० वैशाख २८ गते भित्र सम्पुण विद्यालयमै गएर पालिको टिमले पत्र हस्तान्तरण गर्ने कार्य सम्पन्न गरेको छ ।

दरबन्दी मिलान तथा समायोजन कार्यदलमा शिक्षक महासङ्घका तर्फबाट अध्यक्ष श्याम गिरि र प्रतिनिधि नारायण जोशी, शिक्षक सङ्घका तर्फबाट प्रतिनिधि तिलक सिंह धामी , शिक्षक सङ्गठनका प्रतिनिधि अध्यक्ष लाल सिंह धामी र क्रान्तिकारी शिक्षक सङ्गठनका तर्फबाट प्रतिनिधि अध्यक्ष सुरेन्द्र गिरि र पेसागत महासङ्घका तर्फबाट हरि दत्त जोशी बुद्धिजीवी पूर्व शिक्षक तथा शिक्षा समिति सदस्य किसन सिंह धामी , विद्यालय शिक्षक प्रतिनिधि दान सिंह धामी , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बि.नि.लोकेन्द्र सिंह धामी र सामाजिक विकास समित संयोजक मदन चन्द रहेको प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनलाई गाउँ शिक्षा समिति हुँदै कार्यपालिकाबाट निर्णय गर्ने काम सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष धामीले गाउँपालिकामा रहेका विद्यालयहरूको हक कम्तीमा पनि ८ वटा आइसिटी सहितका विद्यालय सहयोग कार्यक्रम गर्न सकिने,विभिन्न विधाका पालिका स्तरमै २ वटा सञ्चालित र थप १वटा गरी ३ वटा  प्राविधिक विद्यालय सहयोग तथा सञ्चालन गर्न सकिने ,शिशु कक्षा सञ्चालन र व्यवस्थापनका लागि थोरै भए पनि २० वटा ठाउँमा शिशु कक्षा व्यवस्थापन गर्न सकिने र थुप्रै शैक्षिक सामाग्री र केही विद्यालयहरूमा सह-लगानिमा कक्षा कोठा सुधार , भवन ,शौचालय ,खानेपानी ,खेलमैदान र सामग्री सहितको सुधार तथा मर्मत सम्भारमा लगानी गर्न सकिने  बताएका छन् ।

उनले भने, ‘यदि यथास्थितिमै रहेमा हाम्रा सामुदायिक विद्यालयहरू अबको केही वर्षमा खालि भवन र बिना विद्यार्थीका शिक्षक मात्रै  रहने अवस्था  थियो। हाम्रो एउटा अध्ययनले  यस  पालिकामा विगत १० वर्ष यता झन्डै ३२ सयको हाराहारीमा विद्यार्थी सङ्ख्या विभिन्न कारण घटेको देखिन्छ भने सङ्ख्या एउटा अध्ययन ले देखाउँछ भने , झन्डै ३ हजार  हाराहारीमा छोरा छोरी पढाउनैका लागि गाउँ छोडेको देखिन्छ । यो अवस्था यदि बदल्न नसक्ने हो या ढिला गर्ने हो भने यसले भोलिका दिनमा ठुलो समस्या ननिम्त्याउला भन्न सकिन्न । यस कारण बेलैमा हामीले  केही थोरै सोच्ने प्रयास  गरेका छौ । यसमा सबैका साथ सहयोग चाहिन्छ ।’

शिक्षक स्थानान्तरणका सम्बन्धमा 

एउटै विद्यालयमा लामो समय सम्म काम गरिरहँदा कार्यसम्पादनमा जति उपलब्धि हुनु पर्ने हो सो हुन नसकेको अवस्था विश्लेषण तथा शिक्षा नियमावलीमा भएको व्यवस्थालाई मध्यनजर गर्दै स्वैच्छिक रूपमा मालिकार्जुन गाउँ पालिकामा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई अन्तर पालिका विद्यालय छनौट गर्न निबेदन आह्वान गरी सोही अनुसार प्रार्थमिकताका आधारमा प्रावि तहमा लगभग सबै र निमावि ,मावि तहमा केही गरी शिक्षक, शिक्षिकहरूको स्थान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

यसरी लामो समय देखि थाती रहेको दरबन्दी मिलान जस्तो एउटा चुनौती पूर्ण कार्य सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले आज भन्दा ठिक एक वर्ष अघि आफूलाई आम मालिकार्जुनबासीले दिएको , शिक्षा ,स्वास्थ्य ,रोजगार एवं सामाजिक सुरक्षा गर्ने अभिभारा र जिम्मेवारी पुरा गर्न निर्भीकताका साथ दृढ संकल्पित भएर अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्