अभिजात वर्ग र सफलता



काठमाडौँ । टेनिस स्टार नोभाक जाकोभिकले जुन समय प्रशिक्षण सुरु गरे, तत्कालीन युगोस्लाभिया गृहयुद्धमा फसेको थियो । बमबारीलाई छल्दै उनले प्रशिक्षण गरेका हुन् । कुनै समय विश्व खाद्य संगठनको सद्भवना दूत भएपछि तत्कालीन फुटबल स्टार काकाले भने, ‘एक सितो भातका लागि संघर्ष गर्ने मलाई फुटबलले संसारको भोकमरीको सेवा गर्ने अवसर प्रदान गरेको छ ।’ इथोइपियाका डिबाबा दिदी–बहिनीको संघर्षको त कुरै नगरौँ । पेले, गिबर्टो सिल्भादेखि अनेकौँ स्टर गरिबीबाटै हुर्के ।

टोकियो ओलम्पिकमा अमेरिकी एथ्लेटिक्स टोली क्षत्विक्षत् भएको समयमा शाख जोगाउने काम सुडानी आप्रवासीकी छोरी एथिङ मुले गरेकी थिइन् । त्यसो भए गरिबी र दुःख वरदान हो या श्राप ?

महेन्द्र सिंह धोनीले कुनै समय भने, ‘लुजर ब्लेम द कन्डिसन । विनर युटिलाइज द कन्डिसन ।’ नेपाली खेलकुदको कमजोर अवस्थाका लागि गरिबीलाई लगाइने दोष लुजरको बहाना हो या यथार्थ हो ? हुन सक्छ, आर्थिक रूपले समृद्ध तर मानसिक रूपले दरिद्र वर्षौं पुरानो खेल सत्ताको उपज हो । साथमा त्यो सत्ताले आफ्नो स्वार्थका लागि लादेको कमजोर ‘माइन्ड सेट’को उपज पनि हो ।

नेपाली खेलकुद सत्ता वर्षौँंदेखि अभिजात वर्गको कब्जामा छ । त्यो सत्ताले आफ्नो पदीय दायित्व त कहिल्यै पूरा गरेन । साथै, कमजोर ‘माइन्ड सेट’मा राखेर हजारौँ नेपालीको भविष्यमाथि खेलबाड गरेको छ । यो कमजोर ‘माइन्ड सेट’ बनाएर वर्गीय रूपले आमनेपालीको प्रतिनिधित्व गर्ने सबैलाई थिचेरै राख्ने काममा वर्षौंदेखि खेलकुदका सरोकारवाला सबै निकाय लागिपरे । बिचरा ती खेलाडी यसैमा दंग ।

संसारको तथ्यांक हेरौँ, खेलकुदमा सबैभन्दा कमजोर क्षेत्र दक्षिण एसिया नै हो । अनि दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको स्वर्ण पदक खेलाडीको लक्ष्य । त्यसका अधारमा खेल अधिकारीको सान र भाषण । अनि केहीको हकमा सुरक्षा निकायको सामान्य जागिर । भाषणमा ‘संसारभर चिनाउने खेलाडीप्रति सम्मान ।’

सबैभन्दा ठुलो झुट, तपाईं दक्षिण एसियाको पदकधारी भएर संसारभर चिनाउने कसरी हुनुभयो ? यसको मतलब कुनै खेलाडीको मानमर्दन होइन । तपाईंको मिहिनेत र परिश्रमको सराहना गर्नैपर्छ । तर, दक्षिण एसियाको च्याम्पियन भएर संसारभर देशको नाम चिनाइँदैन ।

इतिहासले बारम्बार पुष्टि गरेको छ, ‘खेलकुदको एरेना समृद्ध र सहज जीवन बिताउनेका लागि होइन, संघर्षको संस्कारमा हुर्किनेका लागि हो ।’ हो, नेपाली खेलकुदको सत्ता सम्हाल्ने अभिजात वर्गको अन्तरनिहित स्वार्थ यो हो कि खेलकुद सही ढंगले चल्यो भने त्यसले उनीहरूले नचाहेको वर्गबाट स्टारको उदय हुन्छ । साथमा, उसले ‘ज्यूहजुर’ गर्न छाड्छ भन्ने मानसिक त्रासबाट ग्रसित भएकै कारण दक्षिण एसियामा सपनालाई बाँध्न प्रयासरत छन् ।

उदाहरणका लागि नेपाल पौडी संघ सही चलेको थियो भने लन्डनमा बस्ने गौरिका सिंहभन्दा पहिले कोसी किनारमा हुर्किने माझीकी छोरी पनि स्टार हुन सक्थिन् । तर, काठमाडौँको अभिजात वर्गलाई कोसी किनारको माझीकी छोरी स्टार भएको किमार्थ स्वीकार्य छैैन । न त बर्दियाकी थारूकी छोरी स्टार भएको स्वीकार्य छ ।

इतिहास साक्षी छ, बर्दियााबाट एक होनहार किशोरी नेपाली एथ्लेटिक्समा उदाएकी थिइन् । उनको माथिल्लो सम्भाव्य सफलता नेपाली खेलकुदमा सरोकारको विषय बनेन । केही राष्ट्रिय कीर्तिमान र केही स्वर्ण पदकमा सीमित गरियो । केशरी चौधरीले जति धेरै इभेन्टमा सहभागिता सायद संसारमा कुनै पनि एथ्लेटिक्स खेलाडीले जनाउँछन् । खेल सत्ताले एकाध छानेर तयारी किन गराएन भने उनी दक्षिण एसिया या त्योभन्दा माथि पुग्दा कसैलाई लाभ थिएन । त्योभन्दा राष्ट्रिय स्तरमा उनले जितेको धेरै स्वर्ण पदकको नाममा जस लिने निहित स्वार्थले एउटा होनहार खेलाडीको सम्भावनामाथि खेलबाड गरियो । केही समय सेलिब्रिटी, अहिले दुबईमा प्रहरीको जागिरेको तितो यथार्थ उनले बोकिन् ।

१३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको ५१ स्वर्ण पदकको गुड्डी हाँकियो । केही वर्षपछि तिनैमध्येकी सञ्जु चौधरीले आत्महत्या गरिन् । अनि एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्कीलाई ओलम्पिकमा छनोट भनेर प्रचार गरियो । धेरै स्थानमा सम्मान गरियो । अन्त्यमा सहभागी हुन पाएनन् । गल्ती कसको भन्ने अर्को बहसको पाटो हो । तर, एउटा खेलाडीलाई लामो समय प्रचार गराएर अन्त्यमा उपस्थित हुन नपाउनुको पीडा नेपालको खेल सत्ताले बुझ्दैन । सत्ताको सेरोफेरोमा घुमेको अभिजात वर्गको सिन्डिकेटले पनि बुझ्दैन । मानौँ, यिनको मुटु जीवविज्ञानको कुनै तन्तुले बनेको नभई ढुंगाको कणले बनेको छ ।

जब आमनेपालीले सपना देख्न थाल्छ, त्यो सपनाले अभिजात वर्ग र तिनै सत्ताको सेरोफेरोमा घुम्ने सबैको टाउको दुख्छ । ऊ सफल भएमा काठमाडौँबासी या अन्य भागका अभिजात वर्गलाई धक्का लाग्छ । अभिजात वर्गलाई ‘ज्यू–हजुर’ गर्न छाड्छ कि भन्ने डर हुन्छ । सपना असफल भए त उसले असफलताको कारण पत्ता लगाँउछ र सत्ताको विरुद्धमा लाग्छ । हो, यसैकारण आमनेपालीलाई सत्ताले सपना देख्नबाट वञ्चित गराउँछ । दक्षिण एसियामा स्वर्ण पदक भयंकर हो भनेर पढाउँछ । अभिजात वर्गका धेरै संस्थाका नेतृत्वलाई पनि थाहा छ– खेल नेतृत्व राम्रोसँग चलेमा कठोर संघर्षका संस्कार हुनेहरू धेरै उचाइमा पुग्नेछन् । त्यसबापतको इष्र्याले एउटा तयार पारिएको सिन्डिकेटले हजारौँको जीवनमाथि वर्षौंदेखि खेलबाड गरेको छ ।

सत्ताको गलत ‘माइन्ड सेट’ को प्रयासका बाबजुद कसैले सपना देखेमा उसले सहयोग त पाउँदैन नै, सपना महसुस गर्नेसँगको सामीप्य एउटा पर्खाल पनि खडा गरिन्छ ।

३२ वर्षअघि किंग्सटनको एउटा गाउँमा जन्मेको युसेन बोल्ट ‘मोर द्यान द ह्युमन विइङ’ का रूपमा स्थापित हुने सम्भावना सायद सन् २००८ को बेइजिङ ओलम्पिकसम्म कसैले कल्पना गरेको थिएन । प्रकृति सबैभन्दा ठुलो सत्य हो । प्रकृतिले जोकोहीलाई असाधारण क्षमता दिएको हुन सक्छ । मानिसमा निहित क्षमता अनन्त हुन सक्छ । हामी बुझ्दैनौँ, सपनालाई बाँध्छौ । केही वर्ष देखिने स्टारडममा रमाउँछौँ ।

नेपालमा धेरै धनी छन्, जो आफू मात्र होइन, उनीहरूको पुर्खा पनि कोही राम्रो चिकित्सक, इन्जिनियर, आइटी टेक्निसियन, कर्पोरेट हाउसको नेतृत्व कतै पनि छैनन् । सम्पत्ति उनीहरूसँग छ । त्यो सम्पत्तिको कारण तपाईंको पुर्खा जस्तो स्वच्छ पक्कै छैन । तसर्थ, उनीहरूको शरीरमा बगेको रगत पनि तपाईंको जस्तो पवित्र छैन । त्यो सम्भावना प्रकृतिले तपाईंलाई दिएको हुन सक्छ, उनीहरूलाई होइन ।

जसले सत्ता चलायो, उसैले खेलकुदको सुन्दर पक्षलाई ढाकछोप ग¥यो । खेलकुद तिनका लागि हुँदै होइन, जसको शासन छ । खेलकुद कुनै गाउँको कठोर संघर्ष गरेर हुर्केको संस्कार बोक्नेका लागि हो, जसको पुर्खादेखि आफैँसम्म श्रमको संस्कारमा हुर्केको होस्, नकि कुनै शक्ति केन्द्र रिझाएर प्राप्त सम्पन्नता । यी अभिजात वर्गका सत्ता र खेलकुद चलाउने कुनै निकायभन्दा आमव्यक्तिको संस्कार उत्कृष्ट छ । यसकारण त नेपालमा खेलकुद विकास भएको लामो समयपछि दोलखाको पहाडमा कुदेका जितबहादुर केसीले इतिहास रचे ।

त्योभन्दा ठुलो इतिहास रच्ने संस्कार तपाईंको पुर्खाले दिएको छ । तर, तपाईं सत्ताले बाँडेको भ्रममा अल्झिनुहुन्छ । उनीहरूकै योजनाअनुसार आफूलाई खुम्च्याउनुहुन्छ । खेल जीवनपछि गुनासो नै गुनासो गर्नुहुन्छ ।

सत्ताले बाँडेको दक्षिण एसियाली स्वर्ण पदकको सपना पूरा गर्ने कसैले वर्षौंसम्म शक्तिको आशिर्वाद पाउँछन् । त्यही सफलता पाउने सञ्जु चौधरीले आत्महत्या गर्छिन् । समाजको अकाट्य नियम ‘वर्गीय माया सधैँ प्यारो हुन्छ’ भन्ने सत्यलाई अभिजात वर्गले बुझ्यो । आमनेपाली वर्गले बुझेन । यति मात्र होइन, आमनेपाली वर्ग सत्ता र सिन्डिकेटले स्थापित तथा आमखेलाडीको सपनालाई खुम्च्याउन उद्यत् अभिजात वर्गीय चरित्रलाई महान् ठान्ने गल्ती गर्छ ।यसकारण भनिन्छ, ‘कि त आत्महत्या कि त नक्सलवादी’– आमनेपाली वर्गका सामु २ विकल्प । अन्यथा जीवनभर गुनासो मात्र बाँकी रहन्छ । यसकारण खेलकुदभित्र नयाँ आवाज उठाउने हिम्मत गरौँ । आवाज उठाउने साहस गरौँ ।

जागौँ, माइन्ड सेटमा परिवर्तन गरौँ । आमनेपाली वर्गमै असीमित क्षमता छ, काठमाडौँ या मोफसलका कुनै सम्पन्न घरानामा होइन । तपाईं आफैँलाई सानो ठानेर नतमस्तक हुनुभयो भने यो खेलुकदको मान्यता र प्रकृतिको नियमविपरीत हो । किनकि जसको संस्कार स्टार हुने छैन, उसले यही खेलकुदको संरचना चाहन्छ । तपाईंलाई सपना देख्नबाट पनि रोक्छ । तपाईंको सपनामा अवरोध सिर्जना गर्छ । किनकि सत्ता अभिजात वर्ग मात्र स्टार भएको हेर्न चाहन्छ, आमनेपाली होइन ।

प्रतिक्रिया दिनुहोस्