नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुगाउँछौँ : गृहमन्त्री



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्ने बताएका छन् ।

बुधवार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने काम अपराध भएको बताएका छन् ।

श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा सहभागी सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए । साथै उनले अहिलेको नक्कली शरणार्थी प्रकरणमा सरकारले कुनै हस्तक्षेप वा दबाब दिने काम नगर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्