एथलेटिक्स विवाद उत्कर्षमा : बहुमतको निर्णय अटेर गर्दै अध्यक्षले पठाए नयाँ नाम



काठमाडौँ । अध्यक्ष राजीवविक्रम शाहले कार्यसमितिको बहुमतले गरेको निर्णयलाई बेवास्ता गर्दै नयाँ तदर्थ कमिटीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नामावली पठाएपछि नेपाल एथलेटिक्स संघको विवाद चर्किएको छ । २५ फागुनमा बसेको संघको कार्यसमिति बैठकले हाल मौजुदा कार्यसमितिलाई नै तदर्थ समितिमा रूपान्तरण गर्न परिषद्सँग सहकार्य गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका बाबजुद शाहले आफ्नो अनुकूल नयाँ तदर्थ कमिटीको नामावली पेस गरे पनि राखेपले कुनै निर्णय गरेको छैन । राखेपले यसबारे कुनै निर्णय गरेको छैन । शाहले पठाएको नामावलीमा अध्यक्ष उनी आफैँ छन् भने सञ्जीव तुलाधर, वर्तमान महासचिव धनवीर चौधरी र कल्पना चौधरी उपाध्यक्षमा छन् ।

बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी महासचिव छन् । सचिवमा आरके विष्ट छन् । सदस्यहरूमा किशोर अमात्य, प्रभाकर पाण्डे, जितेन्द्र चौधरी, झलक रावल, गज गुरुङ, राजन खत्री, आशाराम चौधरी र मीरा राई छन् ।

आइएएफ लेक्चर सुशीलनरसिंह राणा र खेल विज्ञ डा. दिवाकर लाल अमात्यका साथै अन्य विज्ञ रघु वन्त, सुनिल राजवंशी र सिद्धान्त अधिकारी शाहले प्रस्ताव गरेको केन्द्रीय कमिटीमा छैनन् । शाह नेतृत्वले जिम्मेवारी मुक्त गरेका राणाले धेरै देशका राष्ट्रिय टोलीका प्रशिक्षकलाई प्रशिक्षण दिइसकेका छन् । उनी लामो दुरीको रेसका लागि विश्व एथलेटिक्सले बारम्बार नोमिनेसन गर्ने लेक्चर हुन् ।

शाहले प्रस्ताव गरेको टोलीमा रहेका खत्री एसियन क्रस कन्ट्री च्याम्पियनअघि शाह विरोधी मानिन्थे । संघसँग असहमत हुँदै एथलेटिक्स परिवार नामक संस्था स्थापना गरेर गतिविधि गरेका उनी सोही च्याम्पियनसिपदेखि अध्यक्ष शाह र प्रदेश सदस्यसचिव भण्डारी निकट भएका थिए ।

शाहले सो नामावली सदस्य सचिवलाई बुझाएको थाहा पाएपछि महासचिव धनवीर चौधरीको नेतृत्वमा वर्तमान कार्य समितिको बहुमतको हस्ताक्षरसहित अर्को नामावली बुझाउने तयारी गरेका छन् ।

महासचिव चौधरीले मंगलबार बिहान यसबारे राखेप सदस्य सचिव टंकलाल घिसिङलाई जानकारी गराइसकेका छन् । ‘हामी तयार छौँ । देशभरका साथी हस्ताक्षरका लागि जम्मा हुन समय लाग्ने भएकाले बुधबार या बिहीबारसम्म हस्ताक्षर बुझाउने सम्भावना छ,’ चौधरीले भने ।

नेपालको राष्ट्रिय च्याम्पियनसिपमा केही ओलम्पिक इभेन्ट पनि हालसम्म सञ्चालन गर्न नसकेको, कार्यालय स्थापना गर्नसमेत असफल भएको तथा प्रशिक्षण व्यवस्थित गर्न नसकेको भन्दै कार्यसमितिका बहुमत सदस्य शाहविरुद्ध उत्रिने भएका छन् । नेपालमा पोल भोल्ट र हिँडाइका ओलम्पिक इभेन्ट आयोजना नै हुने गरेका छैनन् । ‘हामीले कार्यालय स्थापनाको आवाज हरेक कार्य समितिको बैठकमा उठाए पनि अध्यक्षले टालटुल गरेरै अघि बढ्नुभयो,’ चौधरीले भने ।

शाहको कार्यकालमा नेपाली एथलेटिक्सको संरचना नै ध्वस्त भएको भन्दै उनको मनपरीलाई अस्वीकार गर्ने भन्दै निवेदनको तयारी भएको हो । यति मात्र होइन, १२ देखि १६ जुलाईमा थाइल्यान्डको पटायामा आयोजना हुने एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालले खेलााडी छनोटसमेत गर्न सकेको छैन । १३औँ दक्षिण एसियाली खेलकुदको प्रदर्शनका आधारमा भन्दै सोमबहादुर कमाललाई सहभागी गराउने तयारी संघले गरेको छ ।

आइएएएफ लेक्चर राणाले ३ वर्षअघिको प्रदर्शनलाई आधार मान्नु गलत भएको बताए । प्राविधिक समितिले क्राइटेरिया बनाएर त्यसैअनुसार खेलाडी चयन गर्ने परम्परा भए पनि नेपालमा त्यो प्रचलन छैन । यस विवादमा २३ फागुन, २०७९ मा काठमाडौँमा भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिप पनि जोडिएको छ । बहुमत पक्षले प्रशिक्षणलाई व्यवस्थित बनाउन तथा आवश्यक भौतिक संरचनामा लगानी गर्नुपर्ने आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्