विकासमा पिआरएको महत्व



गम्भीरबहादुर हाडा ,काठमाडाैँ । पिआरए (सहभागितामूलक ग्रामीण मूल्यांकन)को प्रयोग एउटा व्यवस्थित र क्रमबद्ध कार्ययोजना भएकाले यसको विधि र तरिकालाई बुझ्नु अत्यावश्यक छ । यसमा प्रयोग हुने र हुँदै आएका त्यस्ता विधि र तरिकाहरूका सम्बन्धमा देहायबमोजिम उल्लेख गर्न सकिन्छ । सामाजिक नक्सा निर्माण पिआरए सञ्चालनको एक महत्तवपूर्ण विधि हो । लक्षित समुदायमा रहेका सामाजिक कुराहरू– बाटोघाटो, घरधुरी, वनजंगल, धारा, पाटीपौवा, पसल, स्कुल, स्वास्थ्यचौकी, पुलपुलेसा, मठमन्दिर, सिमाना आदि के कसरी कहाँ अवस्थित छन् भन्ने कुरा हेर्न समुदायकै नेतृत्वमा तयार गरिने नक्सा नै सामाजिक नक्सा हो ।

समुदायभित्र रहेका प्राकृतिक स्रोतहरूको स्वरूपलाई स्पष्ट पार्न तयार गरिने नक्सा नै स्रोत नक्सा हो । स्थानीय जनसमुदायको प्रत्यक्ष सहभागितामा वनजंगल, पानीको मुहान, जग्गाको किसिम, चरन क्षेत्र, आवास क्षेत्र आदिलाई समावेश गरी स्रोत नक्सा तयार गरिने भएकाले उक्त समुदायमा उपलब्ध प्राकृतिक स्रोत र त्यसको सदुपयोग सम्बन्धमा समुदायलाई सशक्त तुल्याउन सकिन्छ ।

धरातलीय नक्साका माध्यमबाट निर्दिष्ट क्षेत्रको भौगोलिक बनावट, हावापानी, माटोको स्वरूप आदि बारेमा जानकारी पाइने हुनाले कुन प्रकारको खेती, पशुपालन, मत्स्यपालन, फलफूल आदि के पेसा वा व्यवसाय उपयोगी हुने निर्णय गर्न सकिन्छ । भौगोलिक नक्सा तयार गर्दा प्रत्यक्ष रूपमा उपयुक्त ठाउँमा नै गएर जनसमूहको प्रत्यक्ष संलग्नतामा तयार गर्नुपर्ने हुन्छ । गतिशीलता चित्रबाट समुदायका मानिसहरू आआफ्नो शिक्षादीक्षा, मठमन्दिर, विवाह, उत्सव, समारोह, स्वस्थ्य, हाटबजार आदिको प्रयोग कुन–कुन क्षेत्रबाट कसरी सञ्चालन गरिरहेका छन्, त्यसबारे यथार्थ जानकारी पाउन सकिन्छ । अर्थात् यस्ता विविध क्षेत्रको जानकारीका लागि तयार हुने नक्सा नै गतिशीलता चित्र हो ।

समुदायका सबै सदस्यको आर्थिक अवस्था अवश्य पनि एकै प्रकारको हुँदैन । कसको आयस्रोत के छ ? कसको जग्गा, पशुपालन, खेतीपाती कस्तो छ ? क–कसले कसरी–कसरी आफ्नो दैनिक जीवन गुजारा गरिरहेका छन् ? आदिको खोजी गरी सम्पत्तिको स्तरीकरणका माध्यमबाट समुदायलाई विभिन्न समूहमा विभाजन गर्न सकिन्छ । जसबाट अनुसन्धाकर्तालाई लक्षित समूह यथार्थ रूपमा छुट्ट्याउन सहयोग पुग्छ ।

सूचनाको संकलन, प्रस्तुति एवं विश्लेषणमा समुदायका सबै सदस्यको समान सहभागिता रहने भएकाले यसलाई सहभागितामूलक ग्रामीण लेखाजोखा भनिएको हो । अर्थात् पिआरएमा कुनै पनि निर्णय सहभागीको अनुपस्थितिमा हुन सक्दैन । लामो छलफलबाट एकै मतले निर्णय गरी कार्यान्वयन हुने विधि भएकाले यसलाई सहभागी विधिको एउटा रूप मान्न सकिन्छ ।
छोटो समयमा कुनै गाउँ, समुदाय वा समाजको बृहत् पक्षबारे शीघ्र जानकारी प्राप्त गर्ने विधि आरआरए हो । यो विधि पनि सहभागितामूलक विधि नै हो, तथापि शीघ्र सूचना र जानकारी संग्रह गरिनुपर्ने हुँदा आरआरएमा अनुसन्धानकर्ताको भूमिकालाई पनि अहम् मानिन्छ । विकासशील देशका विकास विश्लेषणहरूले सन् १९९० को दशकमा विकास गरेको यस विधिबाट कुनै योजना वा परियोजना सञ्चालन गर्नुपूर्व त्यसको सम्भावना र आवश्यकताबारे शीघ्र जानकारी प्राप्त गर्न आरआरए विकास भएको हो । यस विधिमा अनुसन्धानकर्ताले निश्चित सदस्य छनोट गर्छन् र तिनै व्यक्तिबीचको छलफलबाट जानकारी हासिल गरिन्छ । तसर्थ यस विधिमा अनुसन्धानकर्ता सिपालु र दक्ष हुनु जरुरी छ ।

यो स्थलबाटै प्रत्यक्ष तथ्यांक संकलन गर्ने सोझो विधि भएकाले यसलाई ग्राहक अनुरोध अध्ययन पनि भन्ने गरिन्छ । यसले कुनै पनि कार्यक्रम योजनाको सबल र दुर्बल पक्षबारे जानकारी हासिल गर्नुका साथै सुधारात्मक सुझाव पनि प्राप्त गर्न सकिन्छ । यसलाई एसडब्लूओटी परीक्षणका लागि पनि प्रयोग गर्न सकिन्छ । यहाँ एसडब्लूओटीको अर्थ सबलता, दुर्बलता, अवसर र चुनौती भन्ने हुन्छ । एउटा आरआरए अध्ययनबाट प्राप्त नतिजालाई उस्तै खालका अन्य अवस्थाहरूमा पनि प्रयोग गर्न सकिने हुँदा यसलाई उपयोगी विधि मानिन्छ ।

रोबर्ट चेम्बरले आफ्नो पुस्तकमा आरआरए विधि खर्चका हिसाबले सस्तो र तथ्यांकका हिसाबले निष्पक्ष र विश्वसनीय छ । ग्रामीण समुदायको समस्या पत्ता लगाउन सन् १९७० को दशकतिर यसको विकास र सन् १९८० को दशकमा यसको कार्यान्वयन हुन गएको देखिन्छ । यसअन्तर्गत टास्क फोर्सले आफ्नो उद्देश्य अनुसारको जानकारी संकलन गर्न ग्रामीण जनतालाई कुनै खास जानकारीबिना गाउँमै गएर उपस्थित मानिसहरूलाई एक स्थानमा जम्मा गरेर लक्षित विषयवस्तुको समस्याप्रति विचार प्रस्तुत गर्न अवसर दिइन्छ । विभिन्न समस्या लक्षित गरी प्रस्तुत गरिएको विचारका आधारमा ग्रामीण समुदायको आवश्यकता तथा समस्यासम्बन्धी तथ्यांक संकलन गरिन्छ ।

ग्रामीण सहभागीहरूलाई पाटी पौवा, चौतारी, चिया पसल, स्कुल तथा अन्य सर्वमान्य स्थानमा पनि एकीकृत गर्न सकिन्छ । यसरी ग्रामीण समुदायको समस्याको लेखाजोखा गरी आवश्यक निर्णय लिन अत्यन्त सहयोग प्राप्त हुने हुँदा यस विधिलाई द्रुत ग्रामीण समीक्षाको संज्ञा दिइएको हो ।

केन्द्रित समूह छलफलमा सम्बन्धित समूहका सदस्यहरूलाई धर्म, संस्कृति मूल्य, मान्यता, चिन्तन, धारणा, मनोवृत्ति आदिका बारेमा गहन रूपमा छलफल हुन्छ । जसबाट एउटा वस्तुगत निष्कर्ष प्राप्त हुन्छ । रहनसहन, वर्ग, व्यवसाय तथा समस्याका बारेमा जसले भोगेका छन्, तिनीहरूले नै बढी मात्रामा छलफलमा यथार्थ व्यक्त गर्न सक्छन् । जसले अनुसन्धानलाई बढी व्यावहारिक तुल्याउन सहयोग पुग्छ । केन्द्रित समूह छलफल विधिलाई सहभागितात्मक ग्रामीण लेखाजोखा (पिआरए) विधिको एउटा प्रमुख र आधारभूत साधनका रूपमा लिने गरिएको छ । पिआरएमा पनि समूहका सबै व्यक्तिलाई संलग्न गराउन खोजिन्छ भने यसमा पनि समूहका सबै व्यक्तिलाई संलग्न गराउँछ ।

केन्द्रित समूह छलफल विधिबाट सूचना तथा जानकारी प्राप्त गर्दा समूहले भोगेका यथार्थ तथा वस्तुनिष्ठ भोगाइ प्रस्तुत हुने, वास्तविक समस्या पहिचान हुने, समस्या समाधानमा उनीहरूको स्रोत–साधनको बारेमा जानकारी हुने, भोगाइका आधारमा अनुभवजन्य समाधानका उपाय पहिचान हुने, समूहका सदस्यको आत्मबल तथा आत्मप्रतिष्ठा बढ्ने, टाठाबाठा सम्भ्रान्त वर्गको आधिपत्य कम हुने जस्ता सकरात्मक परिमाण यस विधिले अगाडि ल्याउँछ ।’

छोटो समयमा ग्रामीण समाजको समग्र पक्षको अध्ययन गर्न समाजका प्रतिनिधिमूलक सीमित व्यक्तिहरूबाट सूचना तथा जानकारी प्राप्त गर्ने विधिलाई द्रुत ग्रामीण लेखाजोखा भनिन्छ । ग्रामीण समाजमा बस्तीहरू सहरको तुलनामा निकै छरिएका हुन्छन् । एक ठाउँबाट अर्को ठाउँ र एक घरबाट अर्को घरसम्म पुग्न पनि घन्टौँ लाग्ने गर्छ । स्रोत साधन, समय, विषयको प्रकृति आदिका सीमिताका कारण पनि सबै उत्तरदातालाई भेट्न र उनीहरूबाट सूचना तथा जानकारी लिन असम्भव हुने सन्दर्भमा दु्रत ग्रामीण लेखाजोखा विधि बढी उपयोग हुन्छ ।

सन् १९७० को दशकको अन्ततिर विकास प्रक्रियालाई सामाजिक–सांस्कृतिक परिवेशमा मोड्ने र विकाससम्बन्धी प्रयासहरू अगाडि बढाउने सन्दर्भमा प्रस्तुत गरिएको यस विधिमा सामान्य समुदायका सदस्यको भन्दा बाह्य अनुसन्धानकर्ता तथा सहजकर्ताको भूमिकालाई विशेष प्राथमिकता दिइएको हुन्छ । छोटो समयमा सीमित व्यक्तिहरूलाई भेटी समग्र तथ्यांक संकलन गर्ने काम नै दु्रत ग्रामीण लेखाजोखाको प्रमुख विशषता हो । यद्यपि यस विधिमा समुदायको द्रुत ग्रामीण लेखाजोखाको प्रमुख विशेषता हो । यद्यपि यस विधिमा समुदायको प्रतिनिधिको नेतृत्वमा सहभागी हुने भएकाले यसलाई सहभागितात्मक विधिका रूपमा लिइन्छ ।

पिआरएका महत्तवपूर्ण गुण र विशेषता

सामूहिक सहभागिता हुने भएकाले यो लचिलो र प्रजातान्त्रिक विधि हो । पिआरए विधिमा तथ्यहरूको संकलन र सूचना आदान–प्रदान गर्न सजिलो हुन्छ । सबै सदस्यको पूर्ण सहभागिता हुने हुँदा सदस्यहरूबीच माया, सद्भाव र सहयोगको भावना विकास हुन्छ । पारदर्शी र निष्पक्ष यस विधिमा विपन्न वर्गले पनि सहभागी भई सोच्न, विचार आदान–प्रदान गर्ने मौका पाउँछन् । पिआरए विधिमा आवश्यकताअनुसार कार्यक्रम, प्रक्रिया र पद्धति परिवर्तन गर्न सकिन्छ । पूर्ण सहभागिता र छलफल विधि भएकाले पिआरएको प्रत्यक्ष सम्बन्ध विकसित हुन्छ ।

सबल पक्ष

१. अनुसन्धान र विकासको समग्रताको अवधारणाका रूपमा रहने । २. व्यापक क्षेत्रमा एकैपटक प्रयोग गर्न सम्भव हुने । ३. अनुसन्धानकर्ताको सहभागितामूलक व्यवहार हुने । ४. सरल, छिटो र मितव्ययी विधिको रूपमा रहेको । ५. उत्तरदाताहरू निष्पक्ष रूपमा छनोट गर्न नसकेमा विश्वसनीय सूचना प्राप्त गर्न सकिने । ६. मोटामोटी सबै वर्ग र समूहको प्रतिनिधित्व गराउन सकिने । ७. सहभागितात्मक ग्रामीण लेखाजोखामा जस्तो समय तोक्न गाह्रो नहुने । ८. जनुसुकै मौसम र समयमा पनि अध्ययन सम्भव हुने । ९. स्थान, सूचनादाता तथा अध्ययन विधि परिवर्तन गरे त्रिकोणात्मक जाँच गर्न सकिने । १०. छिटो–छरितो तथा सजिलो विधि । ११. मौलिक ज्ञान र सूचनाको अधिकतम उपयोग हुने । १२. पक्षपात र बाह्य प्रभावलाई हटाउन तथा घटाउन सकिने । १३. सहभागितात्मक प्रवृत्ति र व्यवहार हुने । १४. योजनाको सम्पूर्ण तहमा समुदायको संलग्नता हुने आदि ।
ग्रामीण सामाजिक जीवनका स्वाभाविक व्यवहारको अध्ययन हुने, समाजसँगको घनिष्ट सम्बन्धबाट उपयुक्त अध्ययन सम्भव हुने, घटना वा समस्यासँग सम्बन्धित प्रत्यक्षा एवं यथार्थ सूचना तथा तथ्यांक प्राप्त हुने, अनुसन्धान विषयका बारेमा गहन अध्ययन हुने, सामाजिक व्यवहारको विस्तृत अध्ययन सम्भव हुने, सामुदायिक जीवनको प्रतिकको रूपमा रहने ।

दुर्बल पक्ष

१. विस्तृत क्षेत्रमा एकैपटक प्रयोग गर्न कठिन हुने । २. समय, स्रोत र साधन बढी लाग्ने । ३. सबैको उपस्थिति रहे पनि सम्भ्रान्त वर्गको नै हालमुहाली रहने । ४. स्रोत जुटाउने र जागिर खाने माध्यमका रूपमा मात्र लिइने प्रवृत्ति रहनु । ५. अनुसन्धानकर्तामा सहभागितात्मक प्रवृत्ति र व्यवहारको कमी हुने । ६. अनुसन्धान र विकासको समग्र अवधारणाका रूपमा नरहने । ७. यसबाट प्राप्त निष्कर्ष एवं परिमाणलाई सामान्यीकरण गर्न कठिन एवं अव्यावहारिक हुने । ८. कतिपयले यसलाई मनोरञ्जनको साधनका रूपमा लिने । ९. दैनिक मजदुरी गरी खानुपर्ने व्यक्तिहरूलाई सामेल गर्न निकै कठिन हुने । १०. पारदर्शिता र निष्पक्षताको कम सम्भावना हुने । ११. तथ्यांक तथा सूचनाहरूको विश्वसनीयता कम हुने । १२. यस विधिबाट प्राप्त निष्कर्षलाई सामान्यीकरण गर्न नसकिने । १३. विविध– अनुसन्धानकर्तामा तटस्थताको अभाव रहन्छ, अनुसन्धाकर्ताको समूह सदस्यसँगको घनिष्टनाका कारण आत्मनिष्ठ सोच बन्ने हुनाले अनुसन्धानमा वस्तुनिष्ठताको अभाव रहने, यसको क्षेत्र सीमित हुने, पक्षपातरहित अध्ययनको अभाव हुने, तथ्यहरूको लेखनमा कठिनाइ हुने, छद्म भेषमा समूहमा रहन अवलोकनकर्तालाई कठिनाइ हुने आदि जस्ता समस्या उत्पन्न हुने गर्छन् ।

समस्या समाधानका लागि समस्याको पहिचानदेखि कार्यक्रमको योजना र त्यसको कार्यान्वयन, अनुगमन मूल्यांकन तथा उपलब्धि बाँडफाँटमा सबै सदस्यको पूर्ण सहभागिताबाट समस्याको लेखाजोखा गर्ने विधिलाई सहभागितात्मक ग्रामीण लेखाजोखा भनिन्छ । सामाजिक अनुसन्धान एवं विकास निर्माणको प्रक्रियामा स्थानीय जनता वा बासिन्दाको सहभागितामूलक कार्य प्रणालीको तरिका नै सहभागितामूलक ग्रामीण लेखाजोखा हो ।

कथित पढेलेखेका व्यक्तिहरूबाट योजना बनाई परम्परागत ढाँचामा आदेश दिनुको सट्टा हालसम्म पछाडि परेका तिनै ग्रामीण गरिब जनतालाई अगाडि ल्याएर समस्यासँग सरोकार रहेका समुदायका सदस्यहरूसँग कार्य गर्दै जाँदा नयाँ–नयाँ तथ्यहरू, सूचना तथा विधिहरू सिक्दै जाने विधि नै सहभागितात्मक ग्रामीण लेखाजोखा विधि हो । यसमा लक्षित वर्गमा रहेका सम्पूर्ण मानिसको गुणात्मक सहभागितालाई जोड दिइएको हुन्छ ।

कुनै खास क्षेत्रका खास समुदायका विविध विषयमा उनीहरूका समस्याहरूको विषयमा खोज अनुसन्धान गर्दा उनीहरूको समुदायमा छलफल गरी विचारहरूको विमोचन गरेर मन्थन गरेर सही र महत्तवपूर्ण समस्याहरू पहिचान गर्ने, उपयुक्त कार्यनीति बनाउने जस्ता कुराहरू लक्षित समूह छलफलमा गरिन्छन् । समाजको कुनै वर्गको समस्याको विशेष अध्ययन गर्न यो विधि बढी उपयोगी हुन्छ । यस विधिमा समय र श्रम कम लाग्छ । छोटो समयमा आवश्यक सूचना संकलन गर्न सकिन्छ । तर, सामूहिक छलफल गर्नुअघि आवश्यक पूर्वतयारी पूरा गर्नुपर्छ । जस्तो कि त्यस विषयमा विज्ञहरू को हुन् ? सरोकारवाला को को हुन्, मुख्य व्यक्ति को–को हुन् त्यो थाहा पाउनुपर्छ । त्यसपछि पायक पर्ने स्थानमा उनीहरूलाई उपयुक्त हुने समयमा छलफलका लागि बोलाउनुपर्छ ।

समस्या समाधानका उपायहरूमा

लक्षित समूह छलफलमा अनुसन्धानकर्ताले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूका विचारलाई गहन रूपमा सुन्ने, टिपोट गर्ने, सहभागिताको क्रममा सबैलाई अवसर दिने, द्वन्द्व सिर्जना हुन सक्छ, नियन्त्रण गर्ने गर्नुपर्छ । यसो गर्न सके उनीहरूले आफ्ना बुझाइ र विचारहरूलाई छलफलमा ल्याउन सक्छन् र यथार्थ कुरा, तथ्य बुझ्न, थाहा पाउन र संकलन गर्न सकिन्छ ।

यस विधिको महत्तवलाई बुँदागत रूपमा निम्न रूपमा व्यक्त गर्न सकिन्छ– १. लेख्न, पढ्न जान्ने व्यक्तिहरू पनि सहभागी भएर जानकारी दिन सक्ने । २. एकै स्थानबाट धेरै आधारभूत जानकारी संकलन गर्न सकिने । ३. समय र श्रमको समेत बचत हुने । ४. विषयको विश्लेषण र मन्थन हुने हुनाले यथार्थ र तथ्यगत कुराहरू बाहिर आउने । ५. विभिन्न सामाजिक अन्तरद्वन्द्व र विभेदका विषय पनि बुझ्न सकिने । ६. सरोकारवालाहरू आफ्नो सहभागिताबाट उत्साही हुने आदि ।

प्रतिक्रिया दिनुहोस्