सत्ता उन्मादको भ्रममा बाँचेका मुखौटाहरू



इतिहास त हामी कि जित्नेहरूको पढ्छौँ
कि सत्ताले च्यापेका मुखौटाहरूको
सच्चाइ त कतै गल्लीहरूमा गीत गाउँदै होला
गुच्चा खेल्दै होला अबोध चेतनाहरूसँग
डुल्दै होला अश्वत्थामाको आत्मा बनेर

नेपाली समाजको यथार्थ बोल्ने कवि अनुप न्यौपानेको कविताका यी हरफहरू नेपाली खेल क्षेत्र र खेलकर्मीका लागि पनि एकछिन घोत्लिने खालका छन् । यदि इतिहास सच्चाइको पक्षमै हुने थियो भने हामी काजी भीम मल्लकी सतीले असह्य पीडापछि सरापेको देशको नागरिक पनि हौँ भनेर ठुला अक्षरले सर्वत्र लेखिन्थ्यो होला । अनि लेखिन्थ्यो, सुधारको कुरा गर्ने प्रधानमन्त्री भीमसेन थापा सेरिएर मरेका थिए । गोकर्णको पुल देख्नेबित्तिकै सबैले सम्झना गर्थे होलान्, नेपाली समाजको विकृत स्वरूपसहन नसकेरै साहित्यकार भैरव अर्यालले यहीँ देहत्याग गरेका थिए भनेर ।

त्यति मात्र होइन, शरीरमा हर्मोनको विकाससँगै हुने आकर्षणलाई प्रेम भन्दै युवालाई रुमल्याउने ३ घन्टे फिल्म र गीतको परम्परा छाड्दै लागुऔषध निर्मूल हुनुपर्छ र लैंगिक समानता कायम हुनुपर्छ भनेर जागरण फैलाउने लाखौँ युवाका ढुकढुकी ¥यापर यमबुद्धको आत्महत्याको कारण पनि चर्चाको विषय हुने थियो होला ।

अझ नेपाली खेलकुदमा त जित्नेहरूको पनि कुरा गरिँदैन, केवल सत्ताले च्यापेका मुखौटाहरूको कुरा हुन्छ । त्रिपुरेश्वरको रंगशालाको ट्र्याक । बिहान नियमित प्रशिक्षण सकेर नजिकैको चिया पसलमा पुग्छन्, जितबहादुर केसी । प्रशिक्षक राकेश बज्राचार्य, ओलम्पियन विमला राना मगर र प्रशिक्षक सीताराम चौधरी जितबहादुरका धेरैजसो चिया पार्टनर । यी कोही पनि सत्ताले च्यापेकाहरू होइनन् । त्यसकारण त राकेश वर्षौँदेखि करार प्रशिक्षकमा सीमित छन् । विमला ओलम्पियन नै भए पनि अन्यको जस्तो तामझाम छैन ।

जितबहादुर त्यही चिया पिइरहँदा नेपाली खेलकुदको यो जिउँदो इतिहासप्रति कसैको आकर्षण छैन । पर कतै चिल्ला कारमा सजिनेहरू जम्मा हुन्छन् । मान्छेको घुइँचो लाग्छ । चाकडी चलाइन्छ । खेलकुद विकासको गुड्डी हाँकिन्छ ।

जितबहादुरसहितको जत्था लरक्क घर फर्कन्छ । जितबहादुरले पाएको ५ दशकअघिको त्यो सफलता पछ्याउने दम अहिलेका कुनै माइकालालमा छैन । तर, ती आफूलाई स्टार ठान्छन्, उनलाई होइन । किनकि नेपाली खेलकुदमा भित्रिएको मार्केटिङको कुरूप स्वरूप जितबहादुरका लागि होइन, सत्ताले च्यापेका केही मुखौटाका लागि मात्र हो ।

राज्यले खेलाडीको स्टारडमका नाममा दिने सुविधामा जितबहादुर कतिऔँ क्रममा छन्, त्यो त उनैलाई थाहा छैन । अन्यलाई के थाहा होस् । किनकि उनले कुद्न जाने, नेपाली मार्केटिङका घिनलाग्दो तस्बिर पढ्न जानेनन् । त्यसकारण न नेपाली समाज, न कर्पोरेट हाउस न त त राज्य नै, जितबहादुर कहिल्यै कसैका लागि सेलिब्रिटी भएनन् ।

प्रिन्स दाहाल, ब्याडमिन्टनका जुनियरतर्फका शीर्ष वरीयताका खेलाडी भए । त्यसै समय ब्याडमिन्टनकै अर्का व्यक्तिले खेलाडीको नाममा राज्यबाट सम्मान बुझे । यसरी सम्मान बुझ्ने नै खेलाडीका नेता पनि भएका छन् । कर्पोरेट दुनियाँमा पकड र प्रभाव भनिएका ती व्यक्तिकै कारण नेपाली ब्याडमिन्टन अहिले २ खेममा विभाजित छ । मार्केटिङ स्वरूपले सिर्जना गरेको अर्को दुःखद् पाटो यो पनि हो ।

करातेका पुराना खेलाडी संघरत्न महर्जनप्रति धेरैको सम्मान छ । उनको परिचय एक असल व्यक्तिका रूपमा छ । नेपाली फिल्म क्षेत्रमा समेत छाएका संघरत्न आफैँले एकेडेमी चलाएका छन् । प्रतियोगिता आयोजना गर्छन् । उनका चलचित्र पनि चर्चामा आउँछन् । संघरत्न आउँदैनन् ।

कारण प्रष्ट छ– संघरत्नलाई छिमेकका कोही गरिबले आर्थिक अभावले पढ्न नपाएकामा चासो हुन्छ । पढाउने र खेल सिकाउने चाहना हुन्छ, खेलकुद मार्केटिङको घिनलाग्दो स्वरूप र प्रवृत्तिमा होइन ।

एकछिन प्रसंग बदलौँ । सन् १९९१ मा संयुक्त राष्ट्रसंघका महासचिव हेभिएर पेरेज द कोयारले आफ्नो कार्यकाल सकिएपछि भनेका थिए, ‘मैले दुई ध्रुवलाई वास्ता गरिनँ । अब एउटै ध्रुव अझ खतरनाक हुन सक्छ ।’

उनले पद छाड्दा बर्लिनको पर्खाल भत्किसकेको थियो । सोभियत संघ पनि विघटन भइसकेको थियो । पूर्वी युरोपको परिचय कम्युनिस्टहरूको क्षेत्र भन्ने पनि थिएन । सन् २०२३ मा माओत्से तुङको चीन सि जिनपिङको शासनमा आइपुग्दा खुला अर्थतन्त्र स्वीकार गर्न थालेको छ । सन् २००८ को कठोर आर्थिक मन्दीको समय पार गर्दै संसारमा पुँजीवादले एउटा यात्रा तय गरिसकेको साँचो हो ।

संसारका यी यावत् परिवर्तनका बाबजुद यो होइन कि, नेपाली समाजका वर्गीय चरित्र विगतको भन्दा फेरिएको छ । वर्गीय विभेद अन्त्यको मुद्दा अब आवश्यक छैन भन्ने पनि पक्कै होइन ।

खेलकुद मार्केटिङ संयन्त्रसँग जोडिएका र खेलकुद चलाउन आउने राजनीतिक शक्ति पनि हेरौँ–

वर्गीय कुरा गरेर समाजवादको कुरा उठाउने इतिहासको पहिलो दल नेपाली कांग्रेसमा २०५१ मा एकेजिबी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) को उदय भएकै समय समाजवादको मुद्दा उठाउने जगन्नाथ आचार्यले सो दल त्याग्नुप¥यो । सोही समयदेखि कांग्रेस दलभन्दा पनि विचारशून्य झुन्डहरूको जमात बन्योे ।

पूर्वी पहाड आधार बनेको जेबी टुहुरेको जनवादी गीतले उठाएको पूर्वमाले या पछिल्लो एमाले त शिक्षा व्यापारी, दलाल र नवधनाढ्यको पार्टीबाहेक केही होइन नै, कोरोनाकालको त्यो समय, केपी ओलीको शासन थियो । लकडाउनकै समयमा काठमाडौँमा रमेश पौडेल र किरण पौडेलको नेतृत्वमा ओलीको विरोध गर्न पाइँदैन भन्दै जुलुस निकालिन्थ्यो । उता, महोत्तरीको सीमामा राजु सदाले एक घुट्की पानी नपाएर ज्यान गुमाए । यति तथ्यले मात्र पनि एमालेको विगत बोल्छ ।

अहिले खेलकुदको नेतृत्व गर्ने माओवादी केन्द्र नि ? माओवादीकै सत्तामा संस्कृतिकर्मी माइला लामा जेल गए, सामन्तका पुजारी सूर्यलाल भण्डारी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव बनाइए ।

यसै राजनीतिक सत्ता र सामाजिक सत्ताले स्थापित नेतृत्वहरू त्यसै रंगशाला परिसरमा अबोध अनुहारमा भ्रम छर्दै वर्षौँदेखि आफ्नो लाभ र स्वार्थ पूरा गरिरहे । ठुला सपना त उनीहरू बाँड्दैनन् । सामान्य सपना बाँड्छन् । किनकि ती सपनामा अल्झाएरै भए पनि कसैलाई देखाएर उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय लाभको दोहन गर्नु छ । अनि नबुझेरै जीवन बिताउने र बुझेपछि पछुताउने थुप्रै अनुहार त्यहीँ कुदिरहेका छन्, वर्षौँदेखि ।

ती चिल्ला कार होस् या महँगो मोटरबाइक । लामो समयको अन्तरालमा भेट्दै ‘कस्तो छ ? ठिक छ होइन ?’ भन्दै गरिने रेस्पोन्सको नाटक । पुँजीवादको विकृत स्वरूपले स्थापित गलत मार्केटिङको साथमा उदाएका र लाभ लिएका तिनै व्यक्तिले छाडेको भ्रममा अझै हजारौँ जना त्यहीँ कुदिरहे । जसले जितबहादुरलाई आदर्श मान्न हिम्मत गर्दैन । केही सुकिलामुकिला अनुहार मात्र खोजिरह्यो ।

एक पटक हामी बाल्यकाल सम्झौँ त, कैयौँ पटक हामी स्कुल जाँदा खोला तर्न नसकेर रोएको समय गाउँको कुनै दाइले समाएर तारिदिएको । त्यहीँ स्कुलबाट फर्कँदा हिलाम्मे माटोमा गोडा भासिन आँट्दा छिमेकको काकाले काँधमा बोकेर लगेको दिन । अनि स्कुलको बेन्चमा घोप्टो परेर सुँक्कसुँक्क रुँदा एक हुल बाल सखा आएर ‘ए के भो हामीलाई भन न, हामी छौँ नि’ भन्दै ढाडस दिएको ।

हो, हाम्रा छिमेकका ती दाइ, काका र बालसखाका आकृति यही खेलकुद क्षेत्रमा छन् । नेपाली खेलकुद विकास त भएन, जिउँदोचाहिँ तिनकै कारण छ । हामी तिनका नजिकसमेत कहिल्यै पुगेनौँ ।

कवि अनुप न्यौपानेकै अनुसार ती सच्चा अनुहार र हातहरू जुनसुकै गल्लीमा हुन सक्थे । हामी संकटमा ५ हजार रुपैयाँ सहयोग गरेर सामाजिक सञ्जालमा फोटो पोस्ट्याउने, एउटा ट्र्याकसुट उपहार दिएर समाचार छपाउन लगाउने अनि यदाकदा तारे होटेलमा भात खुवाउनेलाई महान् ठान्न थाल्यौँ । यिनैले हाम्रो भावना मारे । हाम्रो सपनाको हत्या गरे र त्यसबापत आएको रकमको एउटा हिस्सा त्यही तारे होटेलको भोज हुन सक्छ भन्ने पनि सोचेनौँ ।

महँगो रेस्टुरेन्टको अमेरिकानो र क्यापचिनोलाई उपलब्धि ठान्दै साँच्चै आफ्नालाई बिर्सिएर खराब मार्केटिङले स्थापित असहयोगी अनुहारलाई आदर्श मानिरह्यौँ । धेरै खेलकर्मीको समस्या एउटै हो । जो आफ्ना होइनन् र हुनै सक्दैनन्, तिनलाई आफ्ना ठानिरहने, जो आफ्ना हुन् उनको नजिक पुग्न त यो मार्केटिङको खराब संरचनाले नै पर्खाल खडा गरेको छ । त्यो पर्खाल नाघेर समाजमा रहेका संघरत्न महर्जन, रघु वन्त, गणेशराज भण्डारी र निवासगोपाल वैद्यलगायतको नजिक पुग्ने त हिम्मत नै भएन ।

यस्ता नाम अन्य धेरै हुन सक्छन् । यही मार्केटिङ शैलीले धेरै खेलाडीलाई यस्तो भ्रममा धकेलिदियो कि मानौँ मकै भटमास छाडेर रंगीन र आकर्षक खोलमा प्याक गरिएको जंक फुडमा विश्वास गर्दै शरीर बिगारे जस्तै आफ्ना हुन सक्नेलाई बेवास्ता गर्दै आफ्नै पसिनामा रजाइँ गर्नेलाई आदर्श मान्न लगायो । यो बुझाइ सायद नेपाली खेलकुदका धेरै अनुहारको उँधोगतिको कारण पनि बन्यो ।

अब एकपटक सत्ताले च्यापेका र नच्यापेकाको बीचको विभेद हेरौँ । केही साग स्वर्ण पदकधारी सधैँ सत्ताको सेरोफेरो, कोही आत्महत्या या म्यादी प्रहरीको बाटोमा । खेलकुदमा रहेको गलत मार्केटिङको घिनलाग्दो स्वरूपलाई कवि नाथन रायनकै भाषामा

जसरी स्वास्थ्य चौकीका सिटामोलले
सहन सक्नेहरूलाई औषधिमुलोको अनुभूति दिए
सहन नसक्नेलाई हैजा र झाडापखालाको
मृत्यु दण्ड दिए
दरबार हजुरले बुझिबक्स्यो ?
दिस इज क्यापिटल पनिसमेन्ट ।

जुन यातना सहेरै/नबुझेरै भ्रममै बाँचेर हजारौँ जना वर्षौंदेखि अल्झिरहेछन् ।

प्रतिक्रिया दिनुहोस्