उच्च भेगको मौसमी सूचना फितलो



काठमाडौं । यार्सा संकलन गर्ने क्रममा हिमपहिरो जाँदा आइतबार (७ जेठमा) बझाङमा ३ जनाले ज्यान गुमाए। सुर्मा गाउँपालिकाको धानसेरा लेकमा गएको हिमपहिरोले सोही गाउँपालिका–३ की ३८ वर्षीया रामकोइला देवी बोहरा, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामीको मृत्यु भएको छ।

सोही घटनामा रामकोइलादेवीका ४१ वर्षीय पति बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १५ वर्षीय आकाश धामी घाइते भएका छन्। यार्सा संकलन गर्ने क्रममै गत महिना (१९ वैशाखमा) दार्चुलाको व्यास गाउँपालिकाको छाङरुस्थित बोलिनमा हिउँ पहिरो जाँदा १ महिलासहित ४ जना पुरुषले ज्यान गुमाए।

गर्मीयाम सुरु भएपछि हिमाली क्षेत्रमा स–साना ढिस्का खस्नु, स–साना पहिरो जानु नौलो होइन। तर, हिउँदयाम सुरु हुँदै गर्दा पनि यस्ता घटना बढ्न थालेका छन्। २ वर्षअघि कात्तिक अन्तिम साता मुस्ताङको थासाङ गाउँपालिका–२ को कोवाङस्थित धौलागिरि हिमशृंखलाअन्तर्गतको ६९२० मिटर अग्लो टुकुचे पिकबाट विशाल हिमपहिरो खस्यो।

सो बेला मानवीय क्षति नभए पनि डेढ सयभन्दा बढी चौरी बेपत्ता भए। वर्षौं पुरानो चरन क्षेत्र क्षणभरमै खण्डहर बन्यो। विश्वव्यापी तापमान वृद्धिको असर हिमालय क्षेत्रमा पर्न थालेकाले उच्च भेगमा बेमौसमी वर्षा र हिमपहिरोका घटना बढ्न थालेको विज्ञहरूको बुझाइ छ।

जलवायु परिवर्तनको असर बढ्दो क्रममा रहेकाले हिमाली क्षेत्रमा जुनसुकै मौसममा यस्ता घटना दोहोरिन सक्ने हिमनदी विज्ञ प्राडा रिजनभक्त कायस्थ बताउँछन्। उनी भन्छन्, ‘खास गरी ३० डिग्रीभन्दा बढी भिरालो भेगमा सानोतिनो हिमपहिरो गइरहेको हुन्छ । हिमपात कम भएको बेला विगतमा थुप्रिएको हिउँ पग्लिएर पहिरो जाने गर्छ।’ जलवायुसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी)ले पछिल्लो दशकमा पृथ्वीको औसत तापक्रम (सन् १८५०–१९००को तुलनामा) १.१ डिग्रीले बढेको छ ।

२ वर्षअघिको आइपिसिसीको छैटौँ प्रतिवेदनले तापक्रम वृद्धिबारे यस्तो बताइरहँदा त्यसको असर नेपाल जस्ता हिमाली देशले प्रत्यक्ष भोग्ने निश्चित छ। तापक्रम वृद्धिले नेपालका हिमजलाधार क्षेत्र र उच्च भेगको मौसमी चक्रमा परिवर्तन ल्याउने चर्चा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा समेत हुँदै आएको छ।

नेपालका हिमाली भेगमा १९ वटा हिमजलाधार क्षेत्र पहिचान भएका छन् । तर, सम्भावित जोखिम पहिचान गर्ने गरी अध्ययन अनुसन्धान भएको छैन । उच्च भेगमा भारी वर्षा, हिमपहिरो जस्ता घटना बढिरहँदा मानवीय जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली र नियमित अध्ययन अनुसन्धान राज्यको प्राथमिकतामा पर्नुपर्ने काठमाडौँ विश्वविद्यालयको हिमविज्ञान विषयका प्राध्यापक कायस्थ जोड दिन्छन् ।

पानी बहने ठाउँमा हिमपहिरो खसेमा हिमबाढीले तल्लो तटीय क्षेत्रमा ठुलो जनधनको क्षति गराउन सक्ने भएकाले उच्च भेगहरूमा हिमपात र मौसमको पूर्वसूचना दिन ‘स्नो एन्ड ग्लेसियर स्टेसन’ स्थापना गर्न ढिलो भएको उनको भनाइ छ । स्थानीय तहले विज्ञहरूसँगको सहकार्य हिमपात र त्यसले पार्न सक्ने प्रभाव अनुगमनका लागि स्थानीय स्तरको संयन्त्र बनाउनुपर्ने कायस्थ सुझाउँछन् ।

हिमपातको पूर्वसूचना नियमित र चुस्त हुँदा मानवीय क्षति घटाउन सकिने विज्ञहरूले औल्याउँदै आएका छन् । हिमाली क्षेत्रको मौसमी सूचना संयन्त्रको अभावमा ९ वर्षअघि (२८ असोज, २०७१ मा) अन्नपूर्ण पदमार्ग र आसपास क्षेत्रमा हुदहुत आँधीको प्रभावपछिको हिमपातमा १ साताभित्र ४५ जनाले ज्यान गुमाएका थिए । उच्च पहाडी र हिमाली क्षेत्रको वैज्ञानिक र वास्तविक मौसमी गतिविधि स्वचालित प्रणालीबाट अद्यावधिक गर्दैै अन्य मौसमी सूचनाझैँ आमसर्वधारणलाई सम्प्रेषण गर्ने जल तथा मौसम विज्ञान विभागले तयारी थालेको १ दशक भयो ।

स्टेसन स्थापना गर्ने क्षेत्र पहिचान गरेको विभागले बजेट र अन्य स्रोत साधन अभावको कारण जनाउँदै ‘स्नो एन्ड ग्लेसियर स्टेसन’ स्थापना गर्न सकेको छैन। उच्च भेगको मौसमी सूचना अद्यावधिक गर्न विभाग मातहत हिम सर्वेक्षण शाखा छ। यो शाखालाई हिमताल जोखिम न्यूनीकरणको पूर्वतयारी, वर्षा र हिममापनको क्षेत्राधिकार तोकिएको छ। तर, न्यून जनशक्ति र उपल्लो भेगका लागि प्रविधिमैत्री अभ्यास चुस्त नहुँदा सूचना सम्प्रेषण प्रभावकारी नभएको विभागका प्रवक्ता सुमन रेग्मी बताउँछन्।

‘हिमाली भेगको मौसमी सूचना अद्यावधिक गर्ने र सम्प्रेषण गर्ने क्षेत्राधिकार हाम्रै हो । तर, भौगोलिक विकटता, स्वचालित स्टेसन र सोही क्षेत्रकै लागि चाहिने ‘डेडिकेटेड’ जनशक्ति हामीसँग छैन,’ उनले भने।

उच्च क्षेत्रको तापक्रम, जलवायु परिवर्तनको असर, हिमपातको मात्रा अध्ययनसहित हिमाली क्षेत्रमा आउन सक्ने तत्कालीन र दीर्घकालीन मौसम पूर्वानुमानका लागि उपल्लो भेगमा २ दर्जन हाराहारी स्वचालित स्टेसन स्थापना गर्नुपर्ने रेग्मी बताउँछन् । ४ हजार ५०० मिटर र सोभन्दा माथिका विभिन्न २३ स्थानमा हरेक वर्ष ५ वटा स्टेसन स्थापना गर्ने विभागको तयारी व्यवहारमा उत्रिन सकेको छैन ।

विश्व बैंकको आर्थिक सहयोगमा ६ वर्षअघि यस्ता स्टेसन राख्न २ पटक ‘ग्लोबल टेन्डर’ आह्वान भए पनि सरकारले परियोजना कार्यान्वयन गर्न ढिलासुस्ती गरेपछि विश्व बैंक पछि हटेको थियो । उपल्लो भेगमा वर्षा र हिमपातको सूचना अद्यावधिक गर्ने स्वचालित स्टेसन स्थापनाका लागि प्रतिस्टेसन ६० देखि ७० लाख रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ।

हिमाल आरोही र उच्च क्षेत्रको पदमार्गका आन्तरिक र बाह्य पर्यटकसहित उच्च भेगमा बसोबास गर्ने स्थानीयका लागि ‘स्नो एन्ड ग्लेसियर स्टेसन’को सूचना सम्प्रेषण गर्ने विभागको लक्ष्य छ । हाल विभाग मातहत ३ हजार ५०० मिटरभन्दा माथिल्लो भेगमा ७ वटा मात्रै स्टेसन छन्। सोलुखुम्बूको इम्जास्थित दिङबोचे र पाङबोचेमा, दोलखाको च्छोरोल्पास्थित बेदिङमा, रसुवाको लाङटाङ, कास्कीको माछापुच्छ«े बेस क्याम्प, जुम्लाको डाँफे लेक र हुम्लाको पञ्चमुखीमा हिमपात मापन स्टेसन छन्।

उपल्लो भेगका यी सबै स्टेसन स्वचालित नभएकाले सूचना संकलन परम्परागत विधिबाटै हुने गरेको (व्यक्ति स्टेसन राखिएकै ठाउँमा पुग्नैपर्ने) विभागका सिनियर मेटियोरोलोजिस्ट दिनकर कायस्थले बताए। तथ्यांक र मौसमी सूचना स्टेसनले रेकर्ड गर्ने भए पनि आमसर्वसाधारणलाई तत्कालै सम्प्रेषण गर्न असम्भव हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्