जो ‘चर्चाको शिखर’बाट ओझेलिए



काठमाडौँ । कुनै समय नेकपा एमालेका प्रभावशाली नेता भीम रावलको राजनीतिक भविष्य नै अन्योलमा छ । १० देखि १२ मंसिर, २०७८ मा भएको एमालेको १०औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रावलको ओरालो यात्राको एउटा ‘टर्निङ प्वाइन्ट’ त्यही महाधिवेशन थियो । त्यसयता एकपछि अर्को धक्का सहेका रावल पार्टी अध्यक्ष केपी ओलीका कटु आलोचक हुन् ।

उनी र अध्यक्षबीचको दुरी घटाउन १८ चैत, २०७९ मा उपाध्यक्षमा विष्णु पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सम्मिलित वार्ता समिति गठन भएको थियो । त्यसले पनि कुनै निचोड निकाल्न सकेको छैन । ‘पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ताका लागि खबर गर्छु भन्नुभएको थियो । खबर पाएको छैन,’ रावलले द नेपालटपसँग भने ।

चितवनमा सम्पन्न महाधिवेशनमा केपी ओलीविरुद्धमा उम्मेदवारी दिएका रावलले ४ मंसिरमा भएको निर्वाचनमा अछाम–१ बाट टिकटको दाबी गरे पनि पाएनन् । पछिल्लो समय राजनीतिक जीवनकै अन्योलको बाटोमा रहेका रावलले उचाइ पाएको भने त्यत्तिकै होइन । २०४८ सालमा सम्पन्न निर्वाचनमा सुदूरपश्चिममा कुनै सिट नजितेको एमाले २०५१ सालको मध्यावधि निर्वाचनमा आइपुग्दा रावलकै कमान्डमा पहिलो पार्टी बनेको थियो ।

त्यसपछि लगातार एमाले राजनीतिमा छाएका रावल तत्कालीन एमाले महासचिव (हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष) माधवकुमार नेपाल निकट मानिन्थे । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा उनी सर्वाधिक मत पाएर उपाध्यक्षमा निर्वाचित भए । पछिल्लो समय एमालेको आन्तरिक विवादमा अध्यक्ष ओलीको कटु आलोचक हुनुका बाबजुद माधव नेपालको पार्टीमा नगई उनी एमालेमै रहे ।

पार्टीभित्रको चरम अन्तरविरोध र गुटबन्दीका कारण रावलमात्र होइन, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल पनि राजनीतिमा क्रमशः किनारामा पर्दै गएका छन् ।

गत वर्षको ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ मा एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका खनाल त्यसपछि पार्टीभित्रै अल्पमतमा छन् । उनी पार्टीभित्र एमालेप्रति लचिलो नेताका रूपमा परिचित छन् । तर, उनले नेकपा एसलाई एमालेमा समाहित गर्ने निर्णय पनि गराउन सकेनन् । आफू एमालेमा फर्कन पनि सकेका छैनन् । उनी निकट धेरै जना बिस्तारै एमालेमा फर्कँदै छन् ।

पूर्वमाओवादी नेता तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को राजनीतिक जीवन पनि अन्योलमै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा छोरा प्रतीक र उनी गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेपछि बादलको छवि धमिलिएको छ ।
ठगी प्रकरणमा उनको नामसमेत मुछिए पनि कुनै प्रतिक्रिया दिएका छैनन् । बादल पार्टीका बैठकहरूमा समेत उपस्थित भएर हाजिर गर्नेबाहेक सक्रिय छैनन् ।

‘उहाँ सबै बैठकमा उपस्थित भइरहनुभएको छ । तर, न संगठनका विषयमा कुनै राय राख्नुहुन्छ, न पछिल्लो ठगी प्रकरणका विषयमा पार्टीका नेताले उठाएको जिज्ञासामा नै बोल्न खोज्नुहुन्छ,’ एमालेका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘देख्नलाई उहाँ उपाध्यक्ष हो । तर, पदीय भूमिकादेखि कार्यकर्ता भेटघाट र परिचालनमा समेत उहाँको सक्रियता छैन, बिस्तारै ओझेलमा पर्दैै हुनुहुन्छ ।’

उनीसँगै माओवादी छाडेर एमाले सचिव बनेका नेता टोपबहादुर रायमाझी पनि सोही प्रकरणमा मुछिएका छन् । यसले ‘बादल’को उपस्थितिलाई झनै कमजोर बनाएको छ ।

यी ३ जना नेताको समानता भनेको अस्थिर राजनीतिक जीवन नै हो । यी तीनै जना कुनै समय आफू आबद्ध पार्टीका शक्तिशाली नेता मानिन्थे । झलनाथको राजनीतिक जीवनमा एउटा अचम्मको संयोग देखिएको छ । उनले नेतृत्व गरेको समयमा पार्टी त उकालो लाग्यो, तर उनको ओरालो यात्रा पनि त्यहीँबाट सुरु भयो ।

नेकपा मालेका पूर्वमहासचिव खनाल तत्कालीन समयमा नेपाली कम्युनिस्ट आन्दोलनमा प्रभावकारी नेता मानिन्थे । ४० को दशकमा नेकपा (चौथो महाधिवेशन) नेपालको सबैभन्दा प्रभावकारी कम्युनिस्ट पार्टी थियो ।

सोही दशकमा खनालकै नेतृत्वमा माले शक्तिशाली मात्र बनेन, धेरैले पहिलो कम्युनिस्ट पार्टीका रूपमा मालेलाई स्वीकार गर्न पुगे । तर, २०३९ सालमा चन्द्रप्रकाश (सिपी) मैनालीलाई प्रतिस्थापन गर्दै महासचिव बनेका खनालले २०४४ सालमा पार्टी नेतृत्व गुमाए । सिपीले नै झलनाथलाई प्रतिस्थापन गरेका थिए ।

यो उतारचढावबीच मैनालीले वामदेव गौतमको साथ लिएर २०५४ सालमा पार्टी फुटाएर माले गठन गरे । लगत्तै भएको आमचुनावमा नराम्रो पराजय बेहोरेलगत्तै वामदेवलगायतको साथ छुटाएका मैनाली पनि बिस्तारै मूलधारको राजनीतिबाट हराउँदै गए ।

हाल मालेका अध्यक्ष मैनाली पार्टी फुटाएपछि एकपटक उपप्रधानमन्त्री बन्नुबाहेक राजकीय र राजनीतिक जिम्मेवारीमा जम्नै सकेनन् । जबकि उनी २०४६ सालको जनआन्दोलनअघि नै नेकपा मालेको २ पटक महासचिव बनिसकेका व्यक्ति हुन् ।

२०६२ सालको पहिलो संविधानसभा निर्वाचनमा नराम्रो हार बेहोरेपछि एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिए । त्यसपछि नेतृत्वमा आएका खनाल २०६५ सालमा बुटवलमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । सो समयमा एमाले संविधानसभाको तेस्रो दल थियो ।

उनकै नेतृत्व रहेको समयमा २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो दल त बन्यो, तर खनाल भने नेतृत्वमा टिक्न सकेनन् । १ वर्षपछि काठमाडौँमा भएको महाधिवेशनमा उनले नेतृत्वका लागि दाबीसमेत गरेनन् ।

खनाललाई सबैभन्दा गम्भीर धक्का भने पछिल्लो समयको एमाले विभाजनको समयमा भएको थियो । खनाल पार्टी फुटाउँदै नेकपा एसका नेता बने । उनी निकट भनेर चिनिएका योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, नीरज आचार्य, राम राना, रविन कोइराला र पुरुषोत्तम पौडेललगायत धेरैजसो नेता एमालेमै रहे । गत ४ मंसिरमा भएको निर्वाचनमा उनी आफू मात्र पराजित भएनन् । उनको दलले थ्रेस होल्ड पनि कटाउन नसकेपछि एकातिर कमजोर पार्टी, पार्टीभित्र पनि कमजोर उपस्थितिपछि खनालको राजनीतिक जीवनमाथि नै प्रश्न खडा हुने अवस्था आएको छ ।

एमाले छिरेर उपाध्यक्ष बनेर पनि राजनीतिको चर्चाबाट हराउँदै गएका बादल माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आलोचक मानिन्थे । ४ असार, २०६९ मा माओवादी विभाजन हुँदा उनी मोहन वैद्य ‘किरण’को पक्षमा थिए । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा बादल महासचिव थिए । २०७३ जेठमा उनी फेरि पुरानै पार्टीमा फर्किएका हुन् ।

२०७४ सालको निर्वाचनपछि बादल राष्ट्रियसभा सदस्य हुँदै गृहमन्त्री बनेका थिए । ५ पुस, २०७७ मा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्दा बादलले साहसिक कदमको संज्ञा दिएका थिए ।

त्यसपछि नेकपा विभाजन हुँदा एमालेमा रहेका बादलको सांसद पद गएको थियो । ६ जेठ, २०७८ मा भएको राष्ट्रियसभा निर्वाचनमा बादल स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । ४ मंसिरमा भएको निर्वाचनमा उनले टिकट पनि पाएनन् । पछिल्लो भुटानी शरणार्थी प्रकरणले बादलको राजनीतिक जीवनमा अर्को धक्का लागेको छ ।

बिस्तारै मूलधारको राजनीतिबाट हराउँदै गएका अर्का नेता हुन्– वामदेव गौतम । एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकता अभियान चलाइरहेका उनी तत्कालीन एमाले धारको राजनीतिमा प्रभावहीन छन् । कहिले नेकपा एस, कहिले माओवादी र कहिले एमालेमा प्रवेश गर्ने हल्लाका बीच उनी पनि सत्ता र राजनीतिक शक्तिबाट बिस्तारै किनारामा पर्दै गएका छन् ।

यी नेताहरूको गुमनाम अवस्थाका कारण भने फरक–फरक छन् । वामेदव र बादल अस्थिर भएका कारण गुमनाम भए भने सिपी निष्ठामा अडिग भएकाले ओरालो लागे । माले गठन भइसकेपछि वामदेवलगायत नेता एमालेमा समाहित भए पनि सिपीले त्यसलाई इन्कार गरे ।

२०४९ सालमा सम्पन्न एमालेको पाँचौँ महाधिवशेनमा उनको कार्यक्रम ‘नौलो जनवाद’ मदन भण्डारीको ‘बहुदलीय जनवाद’का सामु परास्त भए पनि उनी आफ्नो लाइनमा सधैँ अडिग रहे ।

प्रतिक्रिया दिनुहोस्