भारतीय प्रधानमन्त्रीसँग राजदूतको भेट दुर्लभ



काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको १ वर्ष नाघिसकेको छ। यसबीचमा शर्माले नयाँ दिल्लीस्थित धेरै देशका कूटनीतिज्ञसँग भेटघाट गरे।

उनको पछिल्लो उच्चस्तरीय भेटवार्ता बिहीबार (११ जेठमा) भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरसँग भएको छ। यो तहको भेटवार्ता कूटनीतिक तहमा अर्थपूर्ण मानिन्छ।

उनीहरूको यो भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको तयारीका लागि भएको चर्चा भइरहँदा उनीहरूले ट्विटरमा भ्रमणको प्रसंग भने जोडेका छैनन्। ‘सदिऔँ पुरानो बहुआयामिक सम्बन्धलाई अझ गहिरो बनाउनेबारेमा छलफल भएको छ,’ भेटपछि शर्मा र जयशंकरले ट्विट गरे ।

गत वर्ष (२८ वैशाखमा) ओहोदाको प्रमाणपत्र बुझाएको १ वर्षपछि शर्माले जयशंकरसँग ‘वान् टू वान्’ भेट गरेका हुन्। १ वर्षको अवधिमा विभिन्न बैठक र सन्दर्भ पारेर शर्मा र जयशंकरबीच भेट भए पनि द्विपक्षीय सम्बन्ध केन्द्रित भेट भने ढिलैगरी भएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति नजिकिएकाले शर्मा र जयशंकरबीच भेटवार्ता भएको कतिपय जानकारहरूको तर्क छ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी, भारतीय गृहमन्त्री अमित साहसँग भेट गरे पनि शर्माले १ वर्ष लामो अवधिमा अझै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यस्तो अवसर पाएका छैनन्। राजदूत र प्रधानमन्त्री तहको भेट भारतीय विदेश मन्त्रालयले तय गर्ने भएकाले शर्माले सो अवसर नपाएको हुन सक्ने परराष्ट्र मामलाका जानकारहरूको बुझाइ छ।

दुवै देशसँग जोडिएको विशेष घटनाक्रम र परिस्थितिबाहेक दिल्लीस्थित नेपाली राजदूतले प्रधानमन्त्रीसँग विरलै भेट गर्ने भारतका लागि पूर्वराजदूत डा. दुर्गेशमान सिंह बताउँछन् । नजिकको छिमेकी भएकाले नेपालका राजदूतले प्रधानमन्त्रीसँग गर्ने भेट अर्थपूर्ण हुने बताउँदै उनले भने, ‘द्विपक्षीय सहकार्य र सम्बन्धका अनेकौँ आयाम, व्यापार घाटा न्यूनीकरण गर्न प्रधानमन्त्रीसँगको भेटघाट महत्वपूर्ण रहन्छ।’

पछिल्ला वर्षहरूमा राजदूतले भारतीय प्रधानमन्त्रीसँग गर्ने भेट हुँदै नहुनु कूटनीतिक सम्बन्ध सुधारको पाटोसँग जोडिने सिंहको बुझाइ छ । उनी डा. मनमोहन सिंह प्रधानमन्त्री छँदा भारतका लागि नेपाली राजदूत थिए । ‘प्रधानमन्त्री सहभागी हुने कुनै सभा–सम्मेलनमा अतिथिका रूपमा राजदूतहरू सहभागी हुनुले पनि कूटनीतिमा अर्थ रहन्छ । तर, छुट्टै भेटवार्ताको महत्व झन् धेरै हुन्छ,’ सिंहले भने ।

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको डेढ महिना हाराहारीमा प्रधानमन्त्री सिंहसँग भेट्ने मौका पाएको उनले स्मरण गरे। यसअघि भारतका लागि पूर्वराजदूतहरू नीलाम्बर आचार्य, दीपकुमार उपाध्यायले प्रधानमन्त्रीसँग भेट्ने मौका पाएका थिएनन्।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्यसमेत रहेका आचार्य राजदूत नियुक्त हुँदा भारतसँगेको सम्बन्ध थप सुधार हुने अपेक्षा गर्दै तत्कालीन सरकारले उनलाई राजदूत नियुक्त गरेको थियो। तर, विदेश मन्त्रालयमार्फत् पटकपटक पहल गर्दा पनि आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने मौका पाएनन्।

उपाध्यायको कार्यकालमा नाकाबन्दीको धङधङी बाँकी रहँदा उपल्लो तहमा भेटवार्ता हुन सकेको थिएन। ‘उपाध्यायको कार्यकालमा विदेशमन्त्री तहको भेटवार्ता नै एक ढंगले ग्याप थियो, त्यो बेला प्रधानमन्त्रीसँगको भेट धेरै परको कुरा हो,’ एक पूर्वकरियर राजदूतले भने ।

वर्तमान राजदूत शर्मा अमेरिकाका लागि पूर्वराजदूत र राष्ट्रिय योजना आयोगसमेत पूर्वउपाध्यक्ष रहेकाले ढिलोचाँडो प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुन सक्ने उनको ठहर छ। लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई गाभेर नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा चिसोपना आएपछि राजदूतले गर्ने उच्चस्तरीय भेटवार्ता पातलिएको हुन सक्ने कूटनीतिक मामलाका जानकारहरूको ठहर छ।

सरकारले शर्मालाई गत वर्ष (११ कात्तिक, २०७९) भारतका लागि राजदूतका लागि सिफारिस गरेको थियो। एग्रिमोका लागि पत्राचार गरिएको ४ महिनापछि मात्रै भारतीय विदेश मन्त्रालयले उनको सहमतिपत्र पठाएको थियो। नेपालका लागि भारतीय राजदूतहरू भने सहजै राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरू भेट्ने गर्छन्।

गत ११ पुुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले १५ पुसमा भेटवार्ता गरेर बधाइ दिएका थिए। गत ३ माघमा डा. विमला राई पौडेल परराष्ट्रमन्त्री नियुक्त भएको २ दिनभित्रै श्रीवास्तव मन्त्रालय पुगेर पौडेललाई बधाई दिएका थिए।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि गत ३ वैशाखमा परराष्ट्रमन्त्री नियुक्त भएका नारायणप्रकाश साउदलाई सोही दिन मन्त्रालय पुगेर श्रीवास्तवले बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्