सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा तोकियो पेसी



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ। जिल्ला अदालत काठमाडौंको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ। लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुनेछ।

२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो। असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन्।

मुद्दाको अन्तिम फैसला आजै आए लामिछाने कि फेरि जेल जानेछन् कि मैदान फर्किने छन्। यसअघि लगातार पेसी तोकेर पनि मुद्दाको फैसला पछि सरेको सर्‍यै गर्दा अन्तिम सुनुवाइ हुन सकेको छैन। जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने कार्यक्रमसमेत अनिश्चित बनेको छ। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा बसेका छन्। नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्