दिल्ली वार्तामा सीमादेखि ऊर्जासम्मका एजेन्डा



काठमाडौँ । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएको ५ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो औपचारिक विदेश भ्रमणका लागि आज (बुधबार) भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनले भोलि (बिहीबार बिहान) ‘वान अन वान’ वार्ता गर्दै छन् । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा द्विपक्षीय उच्चस्तरीय भेटवार्ता पनि बिहीबार बिहान नै हुने भएको छ ।

दुवै देशका उच्चअधिकारी संलग्न हुने बैठकमा ऊर्जा, जलस्रोत, सीमा नाका, भौतिक पूर्वाधार, व्यापारलगायत एजेन्डामा छलफल र सहकार्य हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई भारतले यसअघि नै भ्रमणका लागि प्रस्ताव गरेकामा राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन, आन्तरिक राजनीतिक उतारचढाव, उपनिर्वाचन जस्ता कारणले उनको भारत भ्रमण ढिला गरी तय भएको हो ।

यो भ्रमणमा नेपालले नेपाल–भारत सीमावर्ती क्षेत्रका स्थापित व्यापारिक क्षेत्रका अतिरिक्त अन्य नाका चलायमान बनाउन भारतलाई प्रस्तावगर्नेछ । नेपालगन्ज–रुपैडिया, भैरहवा–सुनौली, विराटनगर–जोगबनी काँकडभिट्टा–पानीट्यांकी नाकाबाहेक भारतसँग जोडिएका अन्य व्यापारिक केन्द्र लक्षित कारोबार बढाउन आग्रह गरिने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जानकारी दिए । नेपालमा उत्पादित विद्युत्को ठुलो हिस्सा भारत निर्यात हुने भएकाले दीर्घकालीन ऊर्जा सम्झौता र विद्युतीय आयोजनामा भारतीय लगानी बढाउन प्रस्ताव गर्ने उनले बताए ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री साउदले भने, ‘ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउन भारतसँग विद्युत् व्यापारसँगै बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार बनाउने यस भ्रमणमा तयार गर्नेछौँ ।’

६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त विद्युतीय आयोजना निर्माणमा नेपाल र बंगलादेशबीच सहमति भइसकेकाले उच्चस्तरीय भ्रमणका क्रममा भारतीय अधिकारीहरूसँग विद्युत् निर्यातको वार्ता गर्नैैपर्ने नैतिक दबाबमा नेपाल छ ।

नेपालको ऊर्जामा विगतदेखि नै चासो लिँदै आएको नेपाल र बंगलादेशबीच गत २ जेठमा ढाकामा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा सुनकोसी आयोजनाबारे सहमति जुटेको थियो । भारतले आफूले निर्माण गरेको ट्रान्समिसन लाइनमार्फत् नेपालको विद्युत् बंगलादेश निर्यात गर्न सैद्धान्तिक सहमति जनाए पनि तीनै देशका उच्च अधिकारी संलग्न बैठक हुन सकेको छैन ।

यही वर्षायामदेखि भारतीय भू–भाग हुँदै ५० मेगावाट हाराहारी विद्युत् बंगलादेश निर्यातको वातावरण तयार गर्न नेपाल–बंगलादेशले भारतसँग वार्ता गर्न ढाकाको सचिवस्तरीय बैठकमा सहमति भएको छ ।

बंगलादेश विद्युत् निर्यातका लागि त्रिपक्षीय वार्ताको पहल थाल्न प्रधानमन्त्रीको यो भ्रमणमा नेपालले भारतीय अधिकारीहरूको ध्यानाकर्षण गराउने मन्त्री साउदको भनाइ छ । ‘बिजुली बिक्री हुने बजारको सुनिश्चितताका लागि भारतसँग ‘लङ टर्म’ पावर डिल गर्ने प्रयास हुनेछ’, उनले भने ।

सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र र भारतको उत्तराखण्डको आवागमन सहज बनाउन पक्की पुल निर्माण, सीमा समस्या, भारतीय आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन र निर्माण आरम्भ हुन नसकेका परियोजना अघि बढाउन नेपालले भारतीय अधिकारीहरूसँग छलफल गर्नेछ ।

नेपालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई सहज हुने गरी भैहरवा, नेपालगन्ज, महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको रुट दिन नेपालले आग्रह गर्नेछ ।

प्रधानमन्त्री प्रचण्ड र मोदीबीचको ‘वान अन् वान’ वार्तामा समेत यो विषय जोडिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । बिहीबार द्विपक्षीय र बहुपक्षीय वार्तापश्चात् संयुक्त पत्रकार सम्मेलन तय भएको परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित भारतीय दूतावासले जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र पूर्व राजदूतहरूले वर्षौं पुरानो सीमा समस्या समाधानका लागि यो भ्रमण प्राथमिकतामा पर्नुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्रीको भ्रमणको तयारीका क्रममा परराष्ट्रमन्त्रीले राय सुझाव माग्दा खुला सीमा व्यवस्थापन, बढ्दो व्यापार घाटा, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतले ग्रहण गर्न नेपालले निरन्तर कूटनीतिक पहल र वार्ता गर्नुपर्ने उनीहरूको सुझाव छ ।

भारतले निर्माण गर्ने माथिल्लो कर्णाली, पश्चिम सेती, पञ्चेश्वर परियोजनालगायत आयोजना अघि बढाउन विज्ञहरूले ध्यानाकर्षण गराउँदै आएका छन् । सीमा र द्विपक्षीय सम्बन्धका अनेकौँ गतिरोध अन्त्य गर्न १५ असार, २०७५ मा काठमाडौँमा सम्पन्न इपिजीको नवौँ तथा अन्तिम द्विपक्षीय बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिए पनि भारतले अझै प्रतिवेदन ग्रहण गरेको छैन ।

कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि यो विषयमा भारतसँग प्रष्ट छलफल हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड स्वयंले भने यस पटकको भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ इतिहास रच्ने दाबी गर्दै आएका छन् ।

मंगलबार नेकपा (माओवादी केन्द्र)को संसदीय बैठकमा पनि उनले भ्रमण उपलब्धिमूलक हुने बताए । राष्ट्रको हितमा दुवै देशबीच केही नयाँ हुनुपर्छ भन्ने आफ्नो सोच रहेको बताउँदै प्रचण्डले भने, ‘भारत भ्रमणलाई जतिसक्दो उपलब्धिमूलक बनाउने र नेपाली जनतामा गलत सन्देश जाने गरी सरकारले कुनै सम्झौता गर्नेछैन ।’

भारतको संसद् भवनमा काठमा कुँदिएको नक्सामा नेपालका भूमि (लुम्बिनी र कपिलवस्तु) समेटिएको समाचार सार्वजनिक भइरहँदा सो विषयबारेमा समेत वार्ता गर्नुपर्ने दबाबमा प्रधानमन्त्री प्रचण्ड छन् ।

यसबारे लक्षित गर्दै मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतान्त्रिक देशले त्यस्तो व्यवहार गर्न नमिल्ने बताए । भारतसँग नक्सामा भएको गल्ती सच्याउनेबारे कुरा नगर्ने हो भने प्रधानमन्त्री भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड आज (बुधबार) दिउँसो नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली पुग्नेछन् । उनी दिल्लीस्थित होटल आइटिसी मौर्यमा बस्नेछन् । बुधबार अपराह्न सोही होटलमा उनले प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री मोदी निकट मन्त्रीकै हैसियतका डोभाल र नेपालका लागि पूर्वभारतीय राजदूत क्वात्रासँग हुने भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्तो छ भ्रमण तालिका

४ दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनकारसँग शिष्टाचार भेटघाट गर्नेछन् । उच्चस्तरीय भेटवार्ता बिहीबार हुनेछ । बुधबार साँझ दिल्लीस्थित नेपाली राजदूतवासले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज आयोजना गरेको छ । यही जमघटमा उनले भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन गर्नेछन् ।

प्रचण्डले उद्योग वाणिज्य महासंघ नेपाल र भारतीय उद्योग परिसंघले दिल्लीमा आयोजना गर्ने संयुक्त वाणिज्य सम्मेलनलाई सम्बोधन गर्ने र भारतमा रहेका नेपालीसँग अन्तक्र्रिया गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रचण्डले मध्य प्रदेशको उज्जैन र इन्दौरको पनि अनौपचारिक भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्ड दिल्लीबाट करिब डेढ घन्टाको हवाई दुरीको मध्यप्रदेशको उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिरको दर्शन गर्नेछन् । साथै इन्दोर सहरको भ्रमण गर्ने उनी नेतृत्वको टोली सो दिन सोही सहरमा बस्नेछ । भ्रमणमा परराष्ट्रमन्त्री साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र यी मन्त्रालयका सचिव र सहसचिवहरूसहितको जम्बो टोली सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्