प्रचण्ड-मोदीबीच आज भेटवार्ता



काठमाडौं । नेपाल–भारतबीच सीमा समस्या, ऊर्जा, व्यापार, भौतिक पूर्वाधार, कृषिलगायत विषयमा द्विपक्षीय सहकार्य गर्न आज उच्चस्तरीय भेटवार्ता हुँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा यस्ता विषयमा सहमति हुनेछ।

भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौताका लागि नेपालले औपचारिक प्रस्ताव गर्दै छ । साथै भारत हुँदै तेस्रो मुलुकमा विद्युत् निर्यात, सीमावर्ती व्यापारिक नाकाको भौतिक पूर्वाधार, सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको आवागमन सहज बनाउन पक्की पुल निर्माणलगायत विषयमा सहयोग गर्न नेपालले आग्रह गर्नेछ।

यो भ्रमणमा टुंगो लाग्ने अपेक्षा गरिएको कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा विवाद भने छलफलको मुख्य एजेन्डा बनाउन भारत सकारात्मक नरहेकाले अझै थाती रहने प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका अधिकारीहरूको ठहर छ। सीमा समस्याबारेको विषय द्विपक्षीय सामूहिक छलफलमा भन्दा पनि प्रचण्ड मोदीबीचको ‘वान अन् वान’ वार्तामा सीमित हुन सक्ने भ्रमण टोलीका सदस्यहरूको बुझाइ छ।

यसअघि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणमा पनि सीमा समस्या छलफलको एजेन्डा बनेको थिएन। प्रचण्ड–मोदीबीच बिहीबार ११ बजे हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदै छ।

गत १० पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। सीमा समस्या केन्द्रित बृहत् छलफल नभए पनि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन कार्यान्वयन गर्नेबारे चर्चा हुने बताइएको छ।

नेपाली र भारतीय विज्ञ संलग्न इपिजी टोलीले करिब २ वर्ष लामो समयपछि टुंग्याएको प्रतिवेदन भारतले ग्रहण गरको छैन। भारतको संसद् भवनमा राखिएको नक्सामा नेपालका भूमि (लुम्बिनी र कपिलवस्तु) समेटिएको तस्बिरसहितको समाचार सार्वजनिक भइरहँदा सो विषयबारेमा समेत वार्ता गर्नुपर्ने दबाबमा प्रधानमन्त्री प्रचण्ड छन्।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार अपराह्न भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । विगतदेखि नै प्रधानमन्त्री मोदी निकट र मन्त्रीकै हैसियतका डोभाल र नेपालका लागि पूर्वभारतीय राजदूत क्वात्रासँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डोभाल र क्वात्राले होटल मौर्यमा भेटवार्ता गरेका हुन्।

१२० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै बुधबार दिउँसो दिल्ली पुगेका उनको भ्रमण टोलीमा ५ जना विभागीय मन्त्री छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र यी मन्त्रालयका सचिव र सहसचिवहरू उच्चस्तरीय छलफलमा सहभागी हुनेछन्।

सम्बन्ध उचाइमा पुर्‍याउन भ्रमण

यसैबीच प्रधानमन्त्री प्रचण्डले आफ्नो यो भ्रमणपश्चात् नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएका छन्। बुधबार साँझ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा नेपाली समुदायलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

भ्रमणको मिति तय भएपछि प्रचण्डले नेपालका विभिन्न सार्वजनिक कार्यक्रममा आफ्नो दिल्ली यात्रा ऐतिहासिक र उपलब्धिमूलक हुने दाबी गर्दै आएका थिए। बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी थिइन्।

रेल सेवा उद्घाटन हुने

प्रचण्डको यो भ्रमणका क्रममा विराटनगर जोड्ने रेल सेवाको उद्घाटन हुँदै छ। भारतको बथनाहदेखि विराटनगरको बुधनगरसम्म ८ किलोमिटर लामो मालवाहक रेल्वे सेवा प्रचण्ड र मोदीले संयुक्त रूपमा उद्घाटन गर्दै छन्। डिजिटल माध्यमबाट प्रचण्ड र मोदीले झन्डा देखाएपछि बथनाहबाट छुट्ने कार्गो रेललाई बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ।

मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउने रेल विभागले जनाएको छ। कुल १८ किमी लामो मार्ग विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्म जोड्ने लक्ष्य राखिएकामा बिहीबारदेखि नियमित रूपमा बनथाह–बुधनगरसम्मको ८ किमी क्षेत्रमा कार्गो रेल सञ्चालन हुनेछ।

बथनाह–विराटनगर–कटहरीसम्म १८.१ किलोमिटर रेल सेवाको निर्माण सन् २०११ मा सुरु भएकामा जग्गा अधिग्रहण र अन्य प्राविधिक कारणले अझै अधुरो छ। भारतीय आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन रेलमार्गको भारततर्फ ५ किमी र नेपालतर्फ १३ किमी लम्बाइको हुने विभागले जनाएको छ। मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा रेल्वेको अन्तिम स्टेसन निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्