रुस-युक्रेन द्वन्द्व समाधानको सक्षम कूटनीति



  • श्यामप्रसाद मैनाली

काठमाडौं । रुसले युक्रेनमाथि गरेको बर्बर आक्रमणको अवधि दोस्रो वर्षमा प्रवेश गरेको छ। यो सार्वभौम र स्वतन्त्र राष्ट्रमाथिको बलात् अतिक्रमण हो। यस अपराधका कारण दुवै पक्षका ठुलो संख्यामा सैन्यको हताहत भएको छ । सामान्य नागरिकसमेत युद्धको चपेटामा परी मारिएका छन्। युक्रेनी नागरिकहरू आफ्नो प्राण रक्षाका लागि अन्य देशमा शरण लिन बाध्य छन्।

थुप्रै संख्यामा युक्रेनीहरू घाइते बनेका छन्। डलरको सत्यानाश भएको छ। यस युद्धका कारण विश्व नै प्रभावित बनिरहेको छ। हालसम्मको अवस्थाको विश्लेषण गर्दा यस समस्याको समाधान गर्न अन्तर्राष्ट्रिय जगत प्रायः असफल बनेको छ। दुवै पक्ष पराजित हुने यस युद्धमा मानवीय क्षतिलाई मुकदर्शक बनेर हेर्ने कार्य मात्र भएको छ । यस द्वन्द्वको अन्त्यका लागि अर्थपूर्ण प्रयास हुन सकेको छैन । रुस सैन्य शक्तिकै बलमा युक्रेनलाई आफ्नो भूभागमा मिलाउन उद्यत छ।

हालको अवस्थामा राजधानी सहर किभमै अन्धाधुन्ध आक्रमण गरिरहेको छ। कुनै पनि संस्थाहरू विश्व संस्थाकै विशिष्ट सस्था सुरक्षा परिषद्समेतले यसमा गम्भीरतापूर्वक पहलकदमी गरेको अनुभूति गर्न सकिएन । यस परिस्थितिमा विश्वभरका सबै देशले शान्तिपूर्ण अवस्थामा बाँच्न कठिन बन्ने अवस्था छ। अहिलेसम्मका सानातिना अभ्यासहरूले यो समस्याको समाधानमा कुनै पनि प्रकारले योगदान गर्न सकेका छैनन् । विश्व सौहाद्र्रतामै प्रतिकूल परिस्थिति निर्माण हुने अवस्था देखिँदै छ।

यस समस्याको समाधान सैन्य शक्तिको प्रयोगबाट हुन सक्दैन। विश्वका शक्तिहरू संलग्न भएको यस युद्ध अल्प अवधिमै समाप्त हुने देखिँदैन। प्रभावकारी कूटनीतिक माध्यमबाट वार्ताबाटै यो समस्याको समाधान हुन सक्छ। यसतर्फ जिम्मेवार निकायहरू र विश्व शक्तिहरूबाट पहलकदमी अत्यावश्यक छ। आफ्ना समूहगत स्वार्थकै आधारमा द्वन्द्व चर्काउनेतर्फ मात्र ध्यान दिँदै गर्दा विश्वकै शान्ति र सद्भावमा प्रश्नचिह्न खडा हुनेछ।

यदि यो युद्धले निरन्तरता प्राप्त गर्ने हो भने अब आणविक र रासायनिक हातहतियारको प्रयोग हुन सक्छ। युक्रेनले रसियन सैन्यलाई परास्त गर्दै पछि फर्काउन सक्दा पनि समस्याको समाधान हुन सक्दैन । किनकि रुसको आधिपत्यतावादी सोचमा परिवर्तन नआउँदासम्म युक्रेनले स्थायी शान्ति प्राप्त गर्न सकिँदैन। यस अवस्थामा रुसले युक्रेनको सम्मान गर्ने छैन, सौहाद्र्र सम्बन्ध कायम हुन सक्नेछैन । त्यसैले दुवै पक्षका लागि उत्पादक समाधान निकाल्नुको विकल्प हुँदैन । कूटनीतिक माध्यम यसका लागि सबैभन्दा प्रभावकारी हुन सक्छ।

पराजित हुने खेलको निरन्तरता

युक्रेनका साहसी एवं रास्ट्रप्रेमी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको वार्ता अब पुटिनसँग हुँदैन, उनको उत्तराधिकारीसँग मात्र हुन्छ भनेका छन्। पुटिनका बारेमा अत्यन्त आक्रोशित अभिव्यक्ति दिन बाध्य बनेका जेलेन्स्कीले पुटिनपछिको रुसी शासकसँग मात्र सम्झौता हुने स्पष्ट गरेका छन्।

तेस्रो विश्वयुद्धको विभिषिकाबाट विश्वलाई बचाउन पनि यो युद्धलाई शीघ्र समाधानमा पुग्न समाधानका उपायहरूको बारेमा सबैले सोच्नुपरेको छ। रुसले यस अवधिमा प्रशस्त स्रोतसाधन समाप्त पारेको छ। विश्व नै नकारात्मक रूपमा प्रभावित बनाएको छ । आर्थिक संकुचन र अस्थिरताको अवस्था सिर्जना गरेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्समेत आलोचित बनेको छ । दुवै पक्षमा ठुलो संख्यामा धन र जनको क्षति भएको छ, युद्धको अन्त्य नहुँदासम्म यस प्रकारको क्षतिले निरन्तरता दिई नै रहनेछ । यस्तो विकराल अवस्थामा समेत जेलेन्स्की पुटिनपछिको रुसी शासकसँग मात्र वार्ता गर्ने दृढता प्रकट गर्छन् । कहिलेसम्म युद्ध गरिरहने हो ? यसको प्रत्यक्ष प्रभाव सबैभन्दा ज्यादा युक्रेनलाई नै परिरहेको छ । पुटिन कहिले सत्ताबाट हट्नेछन् ? र, २ देशबीचको शान्तिवार्ता प्रारम्भ हुने हो ? अवस्था कहालीलाग्दो छ । यद्यपि, जेलेन्स्कीको यो अभिव्यक्ति र दृढताका पछाडि केही आधार देखिएका छन् ।

रुसमा पुटिनले छिमेकी देश युक्रेनका विरुद्ध युद्ध गरिरहँदा रुसी जनता आक्रोशित बनेका छन्। पुटिनविरुद्ध कडा आलोचना र आन्दोलनसमेत हुँदै आएका छन् । यसले गर्दा साम्यवादी नेता पुटिनको प्रख्याति तीव्र गतिमा घटिरहेको छ। रुसलाई र विश्वलाई नै नकारात्मक प्रभाव पार्ने गरी युक्रेनसँग भइरहेको युद्धले लोकतन्त्र र मानवअधिकारको विरोधी देशका रूपमा रुसले बनाइरहेको पहिचान उनीहरूलाई स्वीकार्य हुन सकेको छैन । निरपेक्ष अधिकारको प्रयोग प्रत्युत्पादक मात्र हुने भनाइलाई पुटिनले थप पुष्टि गरेका छन् ।

रुसमा अहिले पनि पुटिन धेरै शक्तिशाली छन्। विश्वलाई अल्पअवधिमा द्वन्द्व गर्न सक्ने हतियारहरू रुससँग छ। रुसी सैनिक र अन्य स्वतन्त्र नागरिकको ठुलो समूहले पुटिनलाई समर्थन गरिरहेका छन् । रुसी भाषी युक्रेनीहरूको पनि समर्थन रहिआएको छ । उनीहरू छुट्टै राष्ट्र बन्न चाहिरहेका छन्।

युक्रेनी अडान र प्रयास क्रिमिया क्षेत्रलाई फर्काउने छ। सन् २०१४ मा युक्रेनबाट छिनेको क्षेत्र पुनः प्राप्ति गर्ने उद्देश्य पश्चिमा शक्तिका आडमा युक्रेनले राखेको छ । यसका लागि दुईपक्षीय भिडन्त लम्बिने सम्भावना प्रबल छ । मानवीय र स्रोत साधनको अपार क्षतिलाई समेत सहन गर्न दुवै पक्ष तयारी अवस्थामा देखिएका छन् ।

अबको प्रभावकारी कूटनीतिक रणनीति

संयुक्त राष्ट्रसंघ र विश्वका अन्य शक्ति राष्ट्रहरूले युक्रेनमा शान्ति कायम गर्न गम्भीरतापूर्वक लागिपर्नु पर्ने अवस्था छ । केही महत्वपूर्ण उपायहरूको शीघ्र अवलम्वन गरिनुपर्छ। युक्रेनले आफूलाई समर्थन गरिरहेका पश्चिमा राष्ट्रहरू र आफ्नो सार्वभौमसत्तामाथि नै धावा बोल्ने अतिक्रमणकारी रुस दुवैसँग विल्कुल तटस्थ रहने प्रतिबद्धता व्यक्त गर्नु जरूरी छ।

किनकि नेटो राष्ट्रहरूसँग आबद्धता देखाई आफ्नो अस्तित्वको रक्षा गर्ने रणनीति युक्रेनले अवलम्वन गर्न पुग्दा आफ्नै समर्थक बनाइराख्ने अधिनायकमाथि रुसी रणनीतिमा आँच आएको अवस्था हो। रुसी आक्रमणको मूल कारण पनि यही हो। रुसलगायत सबैले युक्रेनको सार्वभौमसत्ताको प्रत्याभूतिका साथै सबै प्रकारका सुरक्षा प्रदान गरिने विश्वासिलो आधार तयार पार्नुपर्छ, रुसको क्रिमियामाथिको नियन्त्रणलाई यथावत छाड्न युक्रेनलाई तयार पार्नुपर्छ।

लुगंस्क र दोनेस्तक क्षेत्रलाई युक्रेनकै भूभागमा राखी पूर्ण स्वतन्त्रता दिइनुपर्छ। दुवै द्वन्द्वरत पक्षबीच स्वतन्त्र रूपमा व्यापार र पारवहन सुविधा प्रदान गरिनुपर्छ। कृष्ण सागरमा दुवै पक्षहरूको स्वतन्त्र र निर्बाध पहुँचको अवस्था बनाउनुपर्छ । व्यापार व्यवसायलाई दुवै देशमा सुचारु गरिनुपर्छ । रसियन सैन्य दस्तालाई युक्रेनबाट रुस फिर्ता गरी पश्चिमा राष्ट्रहरूले रुसउपर लगाएको प्रतिबन्धलाई अन्त्य गरिनुपर्छ। युक्रेनको पुनर्निर्माण र विकासका लागि रुसको पूर्ण सहभागिता सुनिश्चित गरिनुपर्छ। यसका लागि विशेष कोषको व्यवस्था हुनुपर्छ । मानवीय उद्धार कार्यलाई प्राथमिकतामा राखिनु जरूरी छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई यस पवित्र कार्यमा प्रभावकारी रूपमा मध्यस्थता गर्न लगाउनुपर्छ। अन्तर्राष्ट्रिय क्षेत्रका अन्य संघ सस्थाहरूलाई समेत यस कार्यमा समाविष्ट गराउनुपर्छ। धेरै चरणमा दुईपक्षीय र बहुपक्षीय वार्ताहरू हुनु जरूरी छ। समझदारीको प्रक्रियामा युक्रेन र रुस प्रथम चरणमा वार्ताको टेबुलमा बस्नुपर्छ। यस प्रक्रियामा संयुक्त राज्य अमेरिका, युरोपेली संघ र नेटोलाई आवश्यकता अनुसार समाविष्ट गराइराख्नुपर्छ।

ब्राजिल, चीन, भारत, दक्षिण अफ्रिकाका साथै वार्ताका क्रममा योगदान दिन सक्ने अन्य राष्ट्र र संस्थाहरूको उपादेयता देखिएमा समावेश गरिनुपर्छ। रुससँग प्रत्यक्ष रूपमा वार्ता गरी उसको स्वाभिमानलाई स्थान दिने गरी रणनीति तय गरिँदा मात्र यस समस्याको समाधानमा पुग्न सकिने यथार्थलाई सबै पक्षले स्मरण गर्नुपर्छ। युद्धबाट पुगेको अपार क्षतिका बारेमा सौहाद्र्रपूर्ण अवस्था सिर्जना गर्न वातावरण सिर्जना गर्ने सम्बन्धमा अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ ।

दुवै द्वन्द्वरत पक्षबीचको सौहाद्र्रपूर्ण समझदारी नबन्दासम्म स्थायी समाधान हुन सक्दैन। अन्तर्राष्ट्रिय मानवीय संघसंस्थाहरू– उदाहरणका लागि रोटरियन, अन्तर्राष्ट्रिय रेडक्रसलगायत अन्य सामाजिक क्षेत्रमा प्रख्याति कमाएका संघसंस्थाले कुनै पूर्वाग्रह नराखी दुवै देश आपसमा मिलेर बस्न सक्ने परिस्थिति बनाउन योगदान दिन सक्छन् । यस प्रकारका तटस्थ संघसंस्थाको प्रयासले दुई देशबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सौहाद्र्र बनाउन ठुलो योगदान पुग्न सक्छ।

आपसमा रहेको शत्रुतापूर्ण सम्बन्धलाई निर्मूल गर्न सकिन्छ । संयुक्त राज्य अमेरिका र नेटोको औपचारिक अडान नै युक्रेनमाथि रुसको आक्रमण भएकाले युक्रेनको शान्ति कायम गर्ने सम्बन्धमा युक्रेन आफैँलाई रणनीति तयार गर्ने अवसर प्रदान गर्नुपर्छ भन्ने रहेको छ। रुसी आक्रमण बर्बर र अमानवीय हो । युक्रेनको सार्वभौमसत्तामाथिको बलात् अतिक्रमण हो, त्यसैले युक्रेनको भविष्यका बारेमा निर्णय लिने अधिकार सोही पीडित देशलाई नै दिनुपर्छ भन्ने स्पष्ट अडान राखिरहेका छन् ।

यथासम्भव छिटो यी दुई द्वन्द्वरत पक्षबीच समझदारी हुनु नितान्त आवश्यक छ। वार्ताबाट मात्र यो सम्भव छ। शान्तिको परिस्थति निर्माण गर्नुबाहेक अन्य विकल्प देखिएको छैन। अन्यथा दुवै पक्षले भियतनाम युद्धकै सरहको नियति भोग्नुपर्नेछ । अफगानिस्तान द्वन्द्व र इराकका शासक सद्दाम हुसेनको उत्तराद्र्धको अवस्थाबाट पाठ सिक्नु जरूरी छ।

यद्यपि संयुक्त राष्ट्रसंघ मात्रको क्रियाशीलता पर्याप्त देखिएको छैन । यस संस्थाले प्रस्ताव गरी पारित गरेको भत्र्सना प्रस्तावको खासै प्रभाव युक्रेन द्वन्द्वमा परेको देखिएन । मानवीय क्षतिको सन्दर्भले सबैभन्दा ठुलो प्राथमिकता पाउनुपर्छ । यसलाई विश्वका कुनै पनि शक्तिले स्वीकार नगर्न सक्दैनन् । भारत र बंगलादेशबीच सीमा समस्याको समाधानका लागि ४२ वर्षको अनवरत वार्ता गर्नुपरेको थियो । बंगलादेशले आफ्नो अतिक्रमित ४३ हजार हेक्टर भूभाग भारतबाट फिर्ता गर्न सफल भएको थियो ।

रुस युक्रेनबाट केही भूभाग छिनेर आफ्नो भूभागमा गाभ्दा मात्र वार्तामा बस्ने, युक्रेन एक टुक्रासम्म पनि आफ्नो भूभाग गुमाउँदा शान्तिका लागि तयार नहुने अवस्था स्पष्ट भएकाले मध्यस्थकर्ताहरूले ठुलै प्रयास यस मामिलामा गर्नुपर्ने अवस्था देखिँदै छ। युक्रेनमाथि रसियन विजय पनि सम्भव देखिएको छैन। यस युद्धमा रुसले संयुक्त राज्य अमेरिका, युरोपेली महासंघ, नेटोलगायत शक्ति सम्पन्न पश्चिमा राष्ट्रहरूसँग लड्नुपर्ने अवस्था छ।

यी शक्तिशाली समूहहरूले प्रत्यक्ष सैन्य उपस्थितिबाहेक अन्य सबै प्रकारका सहयोग युक्रेनलाई प्रदान गरेका छन् । रुसले विजयको पताका फहराउन पनि सक्दैन, युक्रेनले रुसी सैनिकलाई पछि धकेल्न पनि सकिरहेको छैन । दुवै पक्ष आफ्नो अस्तित्व रक्षाका लागि प्रयासरत छन्। उपयुक्त सम्भावना के हुन सक्छ ? खोजी गरिरहेका छन्।

यस अवस्थामा विश्व शान्तिका लागि यी दुई देशबीच समझदारी बनाउने उपयुक्त समय नै यही हो। विश्वका सबै शान्तिकामीहरू एकै स्थानमा उभिएर युक्रेन–रुस युद्ध अन्त्यका लागि योगदान गर्न लागिपर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्