रूपान्तरण अभियानले कांग्रेसमा कलह



काठमाडौं । आक्रोश : गत शुक्रबार प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रामक सुनिए। भने, ‘आजको समस्या कांग्रेसको वर्तमान नेतृत्वले हल गर्छ भन्ने विश्वास हराउन थालेको छ।’

आश्वासन : गत शनिबार आयोजित कांग्रेस ललितपुरको सम्मेलनमा सभापति देउवाले १५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण हुने कुरामा विश्वस्त पार्न खोजे । भने, ‘पार्टीमा अब म सभापति हुने होइन, काम गर्नुस् न ।। गाली गरेर केही हुनेवाला छैन…।’

सबैजसो राष्ट्रिय दल आन्तरिक प्रतिपक्षविहीन बनेका बेला सत्तारुढ कांग्रेसभित्र सभापति र महामन्त्रीबीचको सार्वजनिक असन्तुष्टि र घोचपेच यो पहिलो भने होइन । बरु पछिल्ला यी २ घटनाले भन्छ– कांग्रेसभित्र गम्भीर राजनीतिक मतभेद छ।

सैद्धान्तिक रूपमा एकैठाउँ देखिए पनि मूल नेतृत्वको संगठन सञ्चालन र कार्यशैलीप्रति पार्टीभित्र एउटा ठुलो पंक्ति असन्तुष्ट मात्र छैन, नेतृत्वविरुद्ध देशव्यापी समानान्तर गतिविधिलाई समेत निरन्तरता दिइरहेको छ।

सभापति देउवाले एकल निर्णय गरेको भन्दै संस्थापन इतर पक्षले आपत्ति जनाएको योे पहिलो पटक होइन। अहिले पार्टीभित्र संस्थापन इतर समूहले रूपान्तरण अभियान नै सुरु गरेको छ। यो अभियान गत साता जनकपुरबाट सुरु भएको हो ।

संस्थापन इतर पक्षले सभापति देउवाले पार्टीलाई कमजोर बनाएको, नागरिकता विधेयक प्रकरणमा गल्ती भएको र ‘सांसद विकास कोष’ मा असहमति रहेको कुरा उठाएका छन्।

अभियानमा केन्द्रीय सदस्य मधु आचार्य र चन्द्रमोहन यादव, नेताहरू गुरुराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, राजेन्द्र अमात्य, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत सहभागी छन् । अभियानअन्तर्गत सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने जनाइएको छ।

संस्थापन इतर पक्षले कार्यक्रममा रेशम चौधरीलाई दिइएको आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया र ‘सांसद् विकास कोष’को रकमको कुरा उठाए। यसका साथै भ्रातृ संस्थाहरूलाई बन्दी बनाइएको भन्दै संस्थापन इतर पक्ष सभापति देउवासँग आक्रोशित छ।

पार्टी महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका उम्मेदवार भएका केन्द्रीय सदस्य प्रदीप पौडेलसमेत अहिले संस्थापन पक्षसँग असहमत छन्। सांसद विकास कोष ब्युँताइएपछि उनले यसमा असहमति व्यक्त गरेका थिए।

‘सांसदको काम नीति–नियम बनाउने र उपभोक्ताको रुचिअनुसार बजेट निर्माण गर्न सहयोग गर्ने हो। आफैँले बजेट चलाउने होइन,’ बजेटबारे उनको प्रतिक्रिया थियो। पौडेलले संसद्मा बोल्दै नागरिकता विधेयक प्रकरणमा त्रुटि भएको समेत बताएका छन्।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले २२ वैशाखमा भएको पदाधिकारी बैठकमा रूपान्तरणका लागि सभापति तयार नभए राजीनामा दिएर कार्यकर्तामाझ दबाबमा लागि जानुपर्ने प्रस्ताव राखेका थिए। अहिले कांग्रेस विवादमा सबैभन्दा पेचिलो विषय भ्रातृ संगठनको महाधिवेशन पनि हो।

नेपाल विद्यार्थी संघको महाधिवेशन अन्तिम पटक १६ माघ, २०७६ मा भएको थियो। २०७३ पछि नै नेपाल तरुण दलको नियमित अधिवेशन हुन सकेको छैन । नेपाल महिला संघको महाधिवेशन पनि अन्तिम पटक २०७३ सालमा नै भएको थियो।

नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन त २०६४ सालपछि भएकै छैन। नेपाल किसान संघको महाधिवेशन पनि २०६४ सालपछि हुन सकेको छैन। नेपाल दलित संघको महाधिवेशन पनि २०६९ पछि हुन सकेको छैन।

नेपाल भूतपूर्व सैनिक संघको महाधिवेशन अन्तिम पटक २३ जेठ, २०७३ मा भएको थियो। नेपाल लोकतान्त्रिक जनजाति महासंघको महाधिवेशन अन्तिम पटक २०६४ सालमा भएको थियो । राष्ट्रिय लोकतान्त्रिक अपांग संघले २०६६ मा भ्रातृ संगठनको रूपमा मान्यता पाए पनि त्यसपछि अधिवेशन हुन सकेको छैन।

नेपाल ठाकुर संघको भने २०७९ साल साउनमा महाधिवेशन भएको थियो। तर, पार्टी केन्द्रीय समितिले त्यसलाई विघटन गर्दै अनिरुद्रप्रसाद ठाकुरको संयोकत्वमा तदर्थ कमिटी गठन गरेको थिय। त्यसले महाधिवेशनको अर्को मिति तय गर्न सकेको छैन।

नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले २०७९ साउनमा मान्यता पाए पनि संयोजकको समेत टुंगो लागेको छैन। भ्रातृ संठगनको अधिवेशनअघि नै मन्त्रिपरिषद् विस्तारको समयमा पार्टीमा विवाद चुलिएको थियो।

संस्थापन इतर समूहको मुख्य असन्तुष्टि नै भ्रातृ र शुभेच्छुक संस्थालाई जीवन्त राख्न नसक्नुमा छ। उनीहरू सभापति देउवाकै कारण महाधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण र संगठन चलायमान हुन नसकेको निष्कर्षमा छन्।

केन्द्रीय सदस्यसमेत रहेका रूपान्तरण अभियानका नेता गुरुराज घिमिरे सभापतिले एकलौटी ढंगले पार्टी चलाउन खोजेको, राजकीय जिम्मेवारीमा एकलौटी गरेको, संगठनलाई चलायमान बनाउन नसकेकोे जस्ता कारण अब देउवाबाट पार्टी चल्न नसक्ने निष्कर्षमा पुगेको बताउँछन्। तर, संस्थापन पक्षका नेताहरू भने महामन्त्री गगन थापा पक्षधर नेताहरूले पार्टी सभापतिको कार्यशैलीमा प्रश्न उठाउने नाममा लोकप्रिय हुने दाउ मात्र खोजेको दाबी गर्छन्।

‘यो गगनजीहरूको लोकप्रिय हुने दाउमात्र हो। महामन्त्रीलाई संगठन चलायमान बनाउने नेतृत्व लिन कसले रोकेको छ ?,’ संस्थापन पक्षका एक नेताले द नेपालटपसँग भने। पार्टीभित्र आन्तरिक किचलो बढ्दै जाँदा कतिपय नेताहरू भने दुवै पक्षमा खुल्न चाहिरहेका छैनन्। बाग्मती प्रदेश सरकारका मन्त्रीसमेत रहेका नेता रामकृष्ण चित्रकार भने कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण फरक धारणा बाहिर आउनुलाई सामान्य रूपमा लिएको बताउँछन्।

‘पार्टीमा शुद्धीकरण र रूपान्तरणको मुद्दा सधैँ जीवित रहन्छ,’ चित्रकारले भने। उनले नागरिकता विधेयकको विषय न्यायालय प्रवेश गरिसकेकाले उसले नै सबै कुरा टुंगो लगाउने भएका कारण यसमा विवाद गर्न आवश्यक नरहेको बताए।

चित्रकारले पार्टीभित्रको किचलोमा मध्यमार्गी धार देखाइरहँदा आइतबार मात्र संस्थापन इतर नेता तथा सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रकरणमा राष्ट्रपतिबाट त्रुटि भएको बताए। संस्थापन पक्षले यो कदमको बचाउ गरिरहेका बेला उनले रूपान्तरण अभियानमा सहभागी नेताहरूको आवाजलाई बलियो हुने गरी सञ्चारकर्मीसँग भने, ‘वर्तमान संसद्मार्फत् मात्र यो विधेयक अघि बढ्नुपर्ने थियो।’

प्रतिक्रिया दिनुहोस्