
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भीरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ। आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भीरबाट लडेर अदानचुली–१, कल्खे गाउँका दानीको मृत्यु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए।
कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटेलमा नपुगेपछि परिवारका सदस्यले दानीको सोधखोज गरेका थिए। खोजी गर्ने क्रममा सोमबार बिहान दानी मृतावस्थामा दोमुखनजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए। दानीले दोमुखमा होटेल सञ्चालन गर्दै आएका थिए। दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडागीत प्रतियोगिता आयोजना गरिएको थियो।