आगामी आर्थिक वर्षको बजेटले आर्थिक सङ्कट टार्दैन : अध्यक्ष ओली



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटार्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष ओलीले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमा मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको र सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनः स्थापनाका लागि योजना नरहेको बताएका हुन् ।

 उनले भने, “आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ । मेरो नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको थियो तर पछिल्ला वर्षमा ओरालो लाग्दै गएको छ ।”

ओलीले आगामी आवको बजेटले १५औँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने दाबी गरे । अध्यक्ष ओलीले देशको गौरव, इज्जत, प्रतिष्ठालाई ख्याल गर्दै जनताका इच्छा आकाङ्क्षालाई सम्बोधन गरी भावी पुस्तालाई सबल र समृद्धि मुलुक हस्तान्तरण गर्नुपर्नेमा  आजको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्