पहिलो जाहेरीकर्ता बुढाथोकीविरुद्ध नै दाङमा ठगी मुद्दा



काठमाडौँ । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेको पाइएको छ ।आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका उनीमाथि जिल्ला अदालत दाङमा एक करोड ४९ लाख रुपैयाँ बिगो माग दाबीसहित ठगी मुद्दा चलेको हो ।

मङ्गलवार जिल्ला अदालतमा चलिरहेको बहसका क्रममा जाहेरीकर्ताहरूको तर्फबाट बहस गर्दै अधिवक्ता दीपकराज रेग्मीले उजुरी दिएका पीडित विरुद्ध नै जिल्ला अदालतमा ठगी मुद्दा चलेको बताए ।

‘दाङका रामकुमार रेग्मीले अमेरिका जान पाउने भएपछि रकम दिए, उनको कुरा सुनेपछि विश्वासमा परेका परिवारका सबै सदस्यले रकम बुझाए, अनि आफन्तले समेत गजेन्द्र बुढाथोकीलाई पैसा बुझाए,’ उनले भने, ‘यहाँ ठगीको बारेमा सुरुमा जाहेरी दिने दाङका गजेन्द्र बुढाथोकी हुन्, उनी विरुद्ध गत फागुनमा जिल्ला अदालत दाङमा ठगी मुद्दा चलिरहेको छ । त्यो मिसिल झिकाइ पाँऊ ।’

जाहेरीमा दाङकै राजु केसी लगायतले आफू लगायतलाई अमेरिका पठाइदिन्छु भनी पटकपटक रकम लिएको  खुलाएका छन् । उनीहरूले विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको र पछि अमेरिका नपठाएपछि खोजतलास गर्दा गजेन्द्र सम्पर्कविहीन भएको दाबी गरेका छन् । मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले बुढाथोकीलाई भेट्न सकेन । अनि फरार देखिएको भन्दै ३० फागुन २०७९ मा जिल्ला अदालत, दाङमा ठगी मुद्दा चलायो । बुढाथोकी अदालतमा पेस भएका छैनन्, अदालतले भने प्रमाण बुझ्ने आदेश मात्रै गरेको छ, मुद्दा अघि बढेको छैन ।

नक्कली शरणार्थी प्रकरणबारे बुढाथोकीले १८ जेठ २०७९ मा जिल्ला प्रहरी परिसर, काठमाडौँमा ४८ पेजको कागजातसहित जाहेरी दिएको देखिन्छ । जिल्ला अदालत, काठमाडौँमा पेस भएको अभियोग पत्रमा उनले आफू र चिनजानका ६१ जनाबाट सन्देश शर्माले ९ लाख ७८ हजार रुपैयाँ उठाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्