खेलाडीको नैसर्गिक हक छिन्ने कर्पोरेट दुनियाँ



काठमाडौं । क्रान्ति कहिले हुन्छ? मनमनमा छ क्रान्ति

घरघरमा छ क्रान्ति पिडा बोध भए पछि जाग्छ क्रान्ति…

सामना परिवारको यो गीत कुनै समय नेपालका सबै गाउँमा घन्किन्थ्यो। त्यस गीतले उठाएको आवाजले ल्याएको व्यवस्थापकीय स्वरूपले नेपालीको जनजीवनमा कत्ति परिवर्तन ल्यायो ? या ल्याउन त ल्याएको हो , तर अपेक्षाकृत ल्याएन भन्ने बहस अर्कै पाटो हो। परन्तु, सत्य के हो भने पिडा बोध भए पछि क्रान्ति जाग्नु पर्छ, अन्यथा बर्सेनी गुम्सिएर बस्नुको कुनै विकल्प छैन ।

सन् २०१६ को रियो ओलम्पिकको स्मरण गरौँ । त्यो समय ‘आइरन लेडी’ काटीन्का होजासुकै चर्चा थियो। सन् २०१७ सम्म आइपुग्दा हंगेरीको राष्ट्रिय पौडी संघमा थुप्रै समस्या देखियो । होजासु खेलाडी जीवनको अन्त्यमा थिइन् । होजासुलाई आवश्यक सुविधा सहित नागरिकता र पासपोर्ट दिन पनि सबै देश तयार थिए । उनको चिन्ता भने आउने पुस्ताको भविष्यका बारे थियो ।

त्यहाँको प्रशिक्षण शैली र खेल स्थलको वातावरणले आगामी पुस्ताको भविष्य अन्धकार भएको भन्दै उनले विद्रोह गरेकी थिइन्। त्यसै विद्रोहले त्यहाँको पौडी सत्ता ढलेको थियो । नयाँ संघले गरेको कार्यले अहिले इतिहासकै उत्कृष्ट बटरफ्लायर क्रिस्टोफर मिलाकको उदय भएको छ । जनसंख्याको आधारमा हंगेरी संसारको सबैभन्दा बलियो पौडी राष्ट्र हो।

दुःखका साथ भन्नु पर्छ संसारमा हामी बसेको देशमा त वार्षिक राष्ट्रिय च्याम्पियनसिपको समेत आयोजना हुँदैन । विश्व बरीयतामा पहिलो स्थानमा रहेका तथा राष्ट्रिय च्याम्पियनलाई अफिसियल अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी गराउने ल्याकत धेरै संघको छैन। राष्ट्रिय टोलीको प्रशिक्षण छैन। आवश्यक उपकरणको पनि अभाव छ । यो अवस्थाले अझै पीडा बोध नभएको हो ? या खेलकर्मीले गुम्स्याएर राखेको हो ? अहिलेको प्रसंग यही हो।

सबै महासंघको प्रष्ट मान्यता छ, ‘त्यस खेलको खेल परिवार भित्रका सबै मिलेर आफ्नो नेतृत्वको चयन गरोस्’। त्यसो भए अहिलेसम्म अयोग्य र निकम्मा सावित भएका संघका विरुद्धमा आवाज सम्भव साँच्चै छैन ? होइन छ, खोजी गरिएन। अन्तर्राष्ट्रिय एरेनामा उपस्थित भइसकेका खेलाडी, प्रशिक्षक र रेफ्री तथा प्रतियोगिता आयोजक मिलेर सामूहिक विद्रोहको आवाज किन नउठाउने ?

एकमुष्ठ विद्रोहको हिम्मत किन नगर्ने ? विश्व महासंघलाई निवेदन गर्न किन डराउने ? अब हामीले भन्न सक्नुपर्छ –हाम्रो देशको राष्ट्रिय संघले नियमित प्रशिक्षण गराउँदैन । नियमित राष्ट्रिय च्याम्पियनसिपको आयोजना गराउँदैन । अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदैन । उपकरण उपलब्ध गराउन सकेन । यो निकम्मा भइसकेको छ । तसर्थ प्रतिनिधि पठाइदिनु हाम्रो नेता हामी आफै चुन्छौँ ।

अनि किन नभन्ने ? विश्व महासंघले निम्न तथा मध्यम आय भएका देशको समानुपातिक विकास होस् भन्ने हेतुले ल्याउने कुनै परियोजनामा हाम्रो देशमा आउँदैन । ‘नेतृत्वले अपिल गरेन। हामीले माग गरेका छौ र हामीलाई त्यो चाहियो,’ भनेर सिधै कुरा गर्न किन हिचकिचाउने ? सबै महासंघको वेबसाइटमा आखिर मेल आइडी पनि राखेकै हुन्छ । वर्षौँसम्म त्यसै पीडामा रहनुको साटो खुलमखुल्ला बहस किन नचलाउने ?

यत्ति मात्र होइन, खेल कला पनि हो। तसर्थ धेरैले चासो दिएका छन् । सडकमा आएर सामूहिक विद्रोह गर्दा के त्यो विद्रोह त्यत्ति सजिलै मर्छ ? पक्कै मर्दैन । बस यत्ति हो, विद्रोह सामूहिक रूपमै हुनुपर्‍यो ।

नेपालमा पछिल्लो महिना सबैभन्दा सफल संघ नेपाल बुद्धिचाल संघ नै हो। तर, धेरैलाई हेक्का पनि नहुन सक्छ, यसका विगतका पृष्ठभूमि । यसै खेलमा कुनै समय ओलम्पियाड खेलाडीले पाउने सुविधाको आवाज उठाउँदा सुरविर लामाले वर्षौँसम्म यातना भोगेका थिए । ‘यस खेलको विकास भएको छैन, विकासको प्रचार मात्र जबरजस्ती गरिएको छ’ भन्ने आवाज उठाउने निर्णायकलाई वर्षौँसम्म यातना दिइएको छ।

नगरकोटमा भएको एसियन जोनल थ्री चेस प्रतियोगिताको दौरान चेस खेलमा भएको मनपरीतन्त्रको आवाज उठाउने तत्कालीन संघ उपाध्यक्ष स्वर्गीय सुजेन्द्र श्रेष्ठ आधा रातमा नगरकोटबाट डल्लुस्थित निवासमा आएर सुत्नु परेको थियो। जबकि त्यस खेलसँग सरोकार नै नराख्नेहरूको पनि त्यहाँ मस्ती चलिरहेकै थियो।

मतलब सत्य सुन्ने आवाज हाम्रो समाजमा छैन भन्ने होइन पक्कै छ। सत्य सुन्नेहरूले एक दिन पक्कै सत्ता पाउने छन्। फरक यत्ति हो, एकाध व्यक्तिले आवाज उठाउनेले यातना भोग्छन् र सत्य स्थापित हुने दिन कुर्नुपर्छ। सामूहिक विद्रोहले तत्कालै सत्ता ढाल्छ। सन् २०१७ मा हंगेरीको पौडी सत्ता ढलेजस्तै संसारका धेरै देशमा ढलेका छन् ।

अलिकति प्रसंग बदलौँ, कुनै खेल अघि खेलाडीको बिदाइ हुन्छ । पत्रकार सम्मेलन हुन्छ । एउटै प्रश्नको औपचारिकता हुन्छ । प्रशिक्षण र सम्भावनाको बारे । खराब परिणामसहित फर्केर आए पछि त्यसै खेलाडीले भन्छ, ‘हाम्रो देशमा यो या त्यो छैन ।’ जानु अघिको औपचारिक पत्रकार सम्मेलनमा सत्य बोल्ने हिचकिचाहट किन ?

‘हाम्रो प्रशिक्षण ठिक थिएन। हामीसँग उपकरण थिएन । जाने केही अघि सम्म म खर्चको जोहो गर्नमै व्यस्त थिएँ । यस कारण आफ्नो पेसनका कारण मात्र जान लागेको हुँ’ भन्ने सत्य जानु अघिको पत्रकार सम्मेलनमै किन भन्न नसकेको ?

याद रहोस्, नियमित वैज्ञानिक प्रशिक्षण, संघ आफैले आफ्नै खेलको विज्ञान अनुसार गर्ने राष्ट्रिय च्याम्पियनसिप र अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नैसर्गिक अधिकार हो । अन्तर्राष्ट्रिय सहभागिता पनि सम्बन्धित महासंघको वरियताअनुसार र राष्ट्रिय संघले गर्ने राष्ट्रिय च्याम्पियनसिपकै आधारमा हुनुपर्छ । यो पनि नैसर्गिक हक हो । यो हक नै खोसिएपछि कति वर्ष चुप लाग्ने ?

यी प्रसंग छाडेर केही फरक प्रसंग । सन् २००० को एथेन्स ओलम्पिकमा अमेरिकी पौडीबाज एन्थोनी एरभिनले ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका थिए । सन् २००४ मा थाइल्यान्डमा सुनामी जाँदा उनले त्यही पदक बेचेर आएको रकम सुनामी पीडितलाई दिएका थिए।

हामीले खोजेको त्यस्तो स्टार हो, मानवीय संवेदनाले भरिपूर्ण एरभिन जस्तो। अनि जतिसुकै ठूला स्टार भएपनि सामान्य जीवन चाहने सेनेगलका स्टार साडियो माने जस्तो । जसका कारण वैज्ञानिकहरू मानव जीवनको अधिकतम क्षमता कति भन्नेमा अर्को बहस चलाउन बाध्य भए ।

हाम्रो चाहना हो, खेल स्तर जे भए पनि सोचाइ त्यस्तै भएको स्टार होस, जसलाई हामी आदर्श मान्न सकूँ। त्यो स्टार मानवीय संवेदना भएको र आफ्नो धरातल नबिर्सने होस् । यो सम्भावना भएका कुन खेलका कुन खेलाडीको जीवनमा कसरी खेलबाड गरियो ? त्यो इतिहासमा पक्कै लेखिने छ नै ।

विश्वले पत्याएका आइएएफ लेक्चरलाई आफ्नो देश भित्र मूल्य नबुझेको नेपाली एथलेटिक्सको शर्मानक अवस्था हेटौडामा सम्पन्न प्रदेश खेलकुदमा पनि देखियो । हेटौडामा फाइनल चरणको यात्रा हिटको परिणामको आधारमा नभई समयको आधारमा गर्ने भन्ने छलफल भयो । यो भन्दा शर्मानक अरू के नै हुन सक्छ । त्यो पनि एउटा इलेक्ट्रोनिक्स उपकरणको व्यवस्था गर्न नसक्ने संघले ।

खेल जीवन छाड्ने अनि आफ्नो व्यक्तिगत गरिबी देखाउने । यो भन्दा ठुलो झुट र अभिभावकको अवमूल्यन के हुन सक्छ ? अव पनि किन नभन्ने–मेरा अभिभावकको अवस्था जे होस, स्वाभिमानी छन्। आत्म सम्मानमा बाँच्छन् । छलकपट गर्दैनन्। धेरै छाक आफू भोको बसे होलान्।

हामीलाई पेट भरी खुवाएर हुर्काए। जब हामीले क्यारियर रोज्यौँ । हाम्रो अभिभावक हुनु पर्ने शासक भए । तिनीहरू सम्पन्न भए पनि मानसिक रूपमा दरिद्र छन् । यस कारण मैले खेल छाडेको हुँ।

सामान्य जागिर, केही ब्रान्डका लुगाको भरमा खेलाडीको नैसर्गिक हक गुमेको ७० वर्ष नाघेको छ । खेलकुदका नाममा उठेका र जन्मेका कुनै संघ संस्था यी आवाज उठाउनका लागि होइनन् । यस कारण हिजो उठेनन्। भोलि पनि उठ्दैनन्। यस कारण कसै प्रति आशा गर्नु त गलत हुँदै हो । विश्वास गर्नु अझै गलत हो । यी संस्था आम हकहितका लागि होइनन् भन्ने बारम्बार पुष्टि भई सकेको छ ।

नैसर्गिक हकको हनन भइरहँदा कर्पोरेट दुनियाँका केही व्यापारिक प्रयोग हुन्छ । एक जोर सुट या केही सामान उपलब्ध गराइन्छ । छुट दिइने घोषणा गरिन्छ । शक्ति केन्द्रमा उनीहरूको पकड हुन्छ । अनि पाउनै पर्ने हक छिनिदा पनि यस्तै ललिपप देखाएर राखिन्छ । खेलाडीको पहिचान उसको खेल स्तरले हुने हो ब्रान्डेड पोसाकले होइन । हुँदो हो त साडियो माने भन्दा नेपाली खेलाडीको मूल्य संसारमा बढी हुने थियो।

कोरोना काल थियो । कोरोना नियन्त्रणको नाममा छुटाइएको १० करोड रुपैयाँ हिसाब र आरटीडी किटको अनियमितता भएको भन्दै सामाजिक अभियन्ता पुकार बमको नेतृत्वमा बालुवाटारमा आन्दोलन जारी थियो।

‘इनफ इज इनफ’ नाममा कोरोना कालमै भएको त्यो आन्दोलनको अघि केपी ओली सत्ता झुक्दै माग सम्बोधन गर्न बाध्य भएको थियो। यो अभियानले झैँ ७० वर्ष छिनिएको यो नैसर्गिक हकका बारे बिद्रोह गर्ने कि नगर्ने निर्णय अब खेलाडी स्वयंले गर्न ढिला भइसकेको छ । किनकी यो अभियानमा साथ दिने हातहरु धेरै जन्मिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्