पिउने पानी र सरसफाइमा ध्यान दिन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौँ । २६ जेठ स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरूमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरूमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, सहिद गङ्गालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरूमा शल्यक्रिया पश्चात् बिरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरूलाई स्मरण गराएको छ ।

गर्मी मौसममा सर्पदंश, आगलागी, झाडापखाला, डंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै बिरामीलाई उपचार सेवा पुर्‍याउन सक्ने गरी आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरूलाई  निर्देशन दिएको छ ।

गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने संभावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने उपाय स्वरूप स्थानीय स्तरका रेडियो, एफएम र पत्रपत्रिका मार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पतालहरूलाई आग्रह गरेको छ । हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरी आम नागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय, प्रादेशिक र स्थानीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस्