सेयर बजारमा उछाल, साढे ४ महिना यताकै उच्च कारोबार



काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से भारी अङ्कले उकालो लागेको छ । नेप्से आज ४०.४८ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै १९८०.०९ विन्दुमा पुगेको छ ।

 आज सेन्सेटिभ इन्डेक्स ६.१० अङ्क, फ्लोट इन्डेक्स २.५६ अङ्क र सेन्सेटिभ इन्डेक्स २.०७ अङ्कले उकालो लागेको हो । बजार आज  दोहोरो अङ्कले उकालो लागेको हो । आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आज २७५ स्टकको ६१ हजार ४५० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आजको कारोबार रकम पछिल्लो साढे ४ महिना यताकै उच्च हो । यस अघि गत वर्षको माघ ११ गते नेप्सेमा ३ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटेलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज विभिन्न २३ स्टकको मूल्य भने ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै शिवम् सिमेन्ट्स र आइएमई जनरल इन्स्योरेन्सको १० करोड रुपैयाँ धेरैको कारोबार भएको छ ।

 आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ। त्यसै गरी, यस दिन लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैङ्क उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया दिनुहोस्