जथाभाबी सामाजिक सञ्जाल चलाउने प्रहरीलाई विभागीय कारबाही गरिने 



काठमाडौँ । जथाभाबी सामाजिक सञ्जाल चलाउने प्रहरीलाई विभागीय कारबाही गरिने भएको छ । प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्नकालागि कारबाही गर्ने भएकाे हो ।

पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोस्ट गर्ने, टिकटक बनाउने ट्विटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले चेतावनीसहितको निर्देशन जारी गरेको छ ।

सोमबार प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचार संहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी सहितको परिपत्र जारी गरेको छ ।

महाशाखाद्वारा परिपत्रमा भनिएको छ,‘ सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन विपरीत फेसबुक, ट्वीटर, यु–ट्युव, टिकटक लगायतमा पोस्ट, सेयर, ट्याग, कमेन्ट, लिंक सेयर, ट्वीट तथा रि–ट्वीट नगर्ने भनी पटकपटक जानकारी गराउँदासमेत हालसम्म पनि केही प्रहरी कर्मचारीले प्रहरी पोशाक प्रयोग गरी कार्यालय, व्यारेक, कार्यकक्ष लगायत क्षेत्रमा यस्ता क्रियाकलाप गरेकाले यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ । गाइडलाइन विपरीतको कार्यमा संलग्न कर्मचारी उपर हदैसम्मको विभागीय कारबाही गर्न/गराउन निर्देशानुसार अनुरोध गरिएको छ ।’

phq

प्रतिक्रिया दिनुहोस्