ज्येष्ठ नेताकै रजगज



काठमाडौं । एमाले सचिवालय बैठकले पदाधिकारी बन्न लगाएको ७० वर्षे उमेर हद निलम्बन गर्ने निर्णय गरेपछि राजनीतिमा उमेर कि सक्रियता जरुरी भन्ने बहस ब्युँतिएको छ।

एमालेले अन्य दलका नेतालाई आकर्षित गर्ने लक्ष्यका साथ उमेर हद निलम्बन प्रक्रिया अघि बढाएकामा युवा पुस्ताको असन्तुष्टि पनि चुलिएको छ। तर, राजनीतिक सत्तामा भने ज्येष्ठ नागरिककै बर्चस्व र रजगज देखिएको छ।

उमेर हद निलम्बन गर्ने निर्णयमा पुगेको एमालेमै ‘वृद्ध भत्ता’ खाने उमेर पुगेका नेताको बाहुल्य देखिन्छ। मोदनाथ प्रश्रित, अमृत बोहोरालगायत नेता ७० वर्षे उमेर हदका कारण सक्रिय राजनीतिबाट टाढिँदै गर्दा नेकपा एसबाट एमालेमै फर्किएका मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंहलगायत ७० वर्ष कटेका नेतालाई स्पेस दिने एमालेको तयारी छ ।

यो लहरमा वामदेव गौतमसमेत मिसिने चर्चा भइरहेका बेला ६९ वर्षीय ईश्वर पोखरेल, ७० वर्षीया अष्टलक्ष्मी शाक्य, ६८ वर्षीय रामबहादुर थापा बादल, ६९ वर्षीय युवराज ज्ञवाली उपाध्यक्ष छन्। सरकारले ६८ वर्ष पुगेकालाई ज्येष्ठ नागरिकको सम्मान दिँदै सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । एमाले अध्यक्ष केपी ओलीसहित सबै उपाध्यक्षहरूको उमेर सामाजिक सुरक्षा भत्ताका लागि योग्य भइसकेको छ।

एमालेभित्रै पछिल्लो पुस्तामा यसप्रति असन्तुष्टि भने नभएको होइन। स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पार्टीमा नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज होस् भन्ने नीतिअन्तर्गत उमेर हदम्याद ल्याइएको भन्दै यसमा असहमति व्यक्त गर्छन्।

उनले महाधिवेशनबाट पारित नीतिलाई सचिवालयले परिवर्तन गर्न नपाउने कुरा उठाएका छन्। ‘पहिले केन्द्रीय समितिमा प्रस्ताव लगेर महाधिवेशनको हलबाट समाधान खोज्न मिल्छ,’ थापाले द नेपालटपसँगको कुराकानीमा भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको मत भने फरक छ । उनी उमेरको हदम्यादभन्दा कार्यकालको सीमाले नेतृत्व हस्तान्तरण प्रक्रिया सहज बनाउने बताउँछन्। ‘एक पदमा बढीमा कति कार्यकाल रहन पाउने या निर्वाचनमा कति पटक उम्मेदवार हुन पाउने भन्ने सीमाले नेतृत्व हस्तान्तरण सहज बनाउँछ,’ पौडेलले भने ।

एमाले मात्र होइन, राष्ट्र प्रमुख, सभामुखदेखि लिएर अन्य राजनीतिक दलका शीर्षस्थ नेताले समेत ज्येष्ठ नागरिक भत्ता बुझ्ने योग्यता बनाइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ७९ वर्षका भए। कांग्रेस सभापति शेरबहादुर देउवा ७७ वर्ष पूरा हुँदै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ६९ वर्षका भइसकेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७२ वर्ष पूरा भए। सभामुख देवराज घिमिरे ६८ वर्ष पूरा भइसकेका छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८२ वर्षका भइसकेका छन्।

नेकपा एकीकृत समाजवादीको अवस्था पनि त्यस्तै छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको उमेर ७० वर्ष पूरा भएको छ भने सम्मानित नेता झलनाथ खनाल ७३ वर्षका भइसकेका छन्। उपाध्यक्ष डा. वेदुराम भुसाल ६९ वर्षका भए। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसमेत ६९ वर्षका भएका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ ६५ वर्षका भए। माओवादी केन्द्रका धेरैजसो शीर्ष नेताहरू ६० देखि ६५ वर्षको हाराहारीमा छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का अर्को वर्षदेखि सामाजिक सुरक्षा भत्ताका लागि योग्य हुँदै छन्।

उनी ६७ वर्षका भए। यी स्थापित र पुराना दलभन्दा फरक अवस्था राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को छ। रास्वपाका सभापति रवि लामिछानेको उमेर ४८ वर्ष भएको छ । यो पार्टीका सबैजसो केन्द्रीय नेता लामिछानेभन्दा कान्छा छन्।

राजनीतिक विश्लेषक पीताम्बर भण्डारीको मत भने फरक छ। उनको विचारमा राजनीतिमा उमेरभन्दा पनि कति योगदान छ भन्ने कुराले अर्थ राख्छ। अहिले राजनीतिज्ञले समाजसेवाभन्दा पनि बढी पेसा बनाउन खोजेका कारण यो समस्या आएको उनको मत छ।

नेपाल मात्र होइन, संसारमा पाको नेतृत्व भएका अन्य केही देश पनि छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनको उमेर ८० वर्ष भइसकेको छ। बाइडेन ७८ वर्षको उमेरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए। क्यामरुनका पाउल बिया संसारका सबैभन्दा पाको उमेरका राष्ट्रपति हुन्। १३ फेब्रुअरी १९९३ मा जन्मिएका उनी ९० वर्षका भए ।

प्रतिक्रिया दिनुहोस्