नेपालको ऐतिहासिक आर्थिक विकास- एक अध्ययन



  • गम्भीरबहादुर हाडा

काठमाडौं । नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। जुन भारत र चीनको बीचमा अवस्थित छ।

नेपाललाई खासगरी ३ भौगोलिक क्षेत्र (हिमाल, पहाड र तराई), ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरिएको थियो। हाल संघीय राज्य बनाउन ७ वटा प्रदेशको विकास गरी नयाँ संविधान २०७२ जारी गरिएको छ।

जसअनुसार २ जिल्ला थप भएर ७७ वटा भएका छन्। नेपाल गोपालवंश, महिषकाल, किराँतकाल, लिच्छवीकाल, मल्लकाल, शाहकाल र गणतन्त्रकाल हुँदै आजको अवस्थामा आएको छ।

(क) गोपाल शासनकाल
नेपालको इतिहासमा गोपाल वंश सर्वप्रथम शासन गर्ने वंशमा पर्छन्। यिनीहरू फिरन्ते अवस्थामा थिए भन्ने भनाइ पनि पाइन्छ। तर पनि यसबेला गाई पाल्ने, भेडा पाल्ने गरेर दूध, घ्यू र ऊन उत्पादन गर्नुका साथै बसेर गर्ने प्राचीन खेतीको प्रारम्भ भएको अनुमान गर्न सकिन्छ।

(ख) महिषपाल शासनकाल

यिनीहरू पनि गोपालहरूजस्तै फिरन्ते अवस्थाको नजिक रहे पनि भैँसीपालन गर्ने, कन्दमूल खाने र प्राचीन खेती गर्ने गरेको अनुमान गर्न सकिन्छ।

(ग) किराँतकाल

यसबेलामा कृषिमा अलिअलि विकास हुन थालेको, खोरिया फाँडेर खेती गरेर कोदो, गहुँ, जौजस्ता बालीको विकास गरेका थिए भने कौटिल्यको अर्थशास्त्रअनुसार ऊन र ऊनीजन्य उद्योगबाट उत्पादित वस्तुहरूको निर्यात भारतका विभिन्न बजारमा हुने गरेको उल्लेख गरेको पाइएकाले त्यसबेला कृषि र उद्योगको विकास भएको संकेत पाइन्छ।

(घ) लिच्छविकाल
लिच्छविकालमा लिच्छवि राजाहरूले जनतालाई करबाट मुक्त गरेर जनहितका प्रयासहरू गरेको पाइन्छ। त्यसबेला कृषिका लागि सिँचाइको व्यवस्था, कृषिसम्बन्धी संघसंस्थाको स्थापना, खेतीमा धान, मकै, कोदो, गहुँ र जौको उत्पादन, व्यापारमा ऊनी र ऊनीमा आधारित वस्तुको उत्पादन, खस्रो खाँडीको कपडा, मृगको कस्तुरी आदिको व्यापार तिब्बतबाट भारतसम्म भएकाले नेपालको व्यापार देशभित्र र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय स्तरमा पनि भएको पाइन्छ।

लिच्छवीकालका राजा मानदेवले सर्वप्रथम ‘मानांक’ नामका मुद्राको प्रकाशन गरेपछि त्यसबेलाको आर्थिक प्रगतिमा थप भूमिका खेल्यो भने उद्योगधन्दा र खानीमा माटाका भाँडाबर्तन, कागज उद्योग र ऊनी कपडा, गहना बनाउने, ताम्रकला, हस्तकला, वास्तुकला र मूर्तिकलाको पनि विकास भएको थियो।

(ङ) मल्लकाल
मल्लकाल नेपालको इतिहासमा टुक्रीय रूपको राजनीतिक अवस्था रहे पनि जयस्थिति मल्लले गरेको आर्थिक सुधारमा देशमा नापतौलको प्रयोग र जग्गाको नापी व्यवस्थाले सकारात्मक प्रभाव पारेको देखिन्छ। मल्लकालमा जातका आधारमा पेसाको विकास भएको थियो।

त्यसबेलाका खेतीमा धान, मकै, कोदो, गहुँ खेती गर्ने, सिँचाइको विकास भएको तथा गुठी जग्गा (धार्मिक कार्यका लागि जग्गा) को व्यवस्था भएको पाइन्छ । व्यापारमा क्युरिओ, भाँडावर्तन, कोरा कपडाको उत्पादन स्वदेशी र विदेशी बजारमा पुगेको पाइन्छ। तिब्बतबाट सुन, चाँदी र अन्य बहुमूल्य वस्तु नेपालमा आयात गरेको पनि पाइन्छ।

(च) शाहकाल

नेपालमा सन् १७६८ देखि शाहकाल सुरु भएको थियो । नेपाल एकीकरणसँगै सुरु भएको यस कालमा राणा शासनको उदय र अन्त्य पनि भयो।

(छ) प्रजातान्त्रिक काल
सन् १९५१ देखि हालसम्मको अवधिलाई प्रजातान्त्रिक काल भनिन्छ । नेपालमा सन् १७६८ देखि सुरु भएको शाहकाल सन् २००७ सम्म अर्थात् २३७ वर्षसम्म रह्यो तत्पश्चात नेपालमा गणतन्त्रको स्थापना भयो र हाल संघीयतासहितको नयाँ संविधान २०७२ पनि जारी भएको छ।

१८२५ देखि २००८ सालसम्मको आर्थिक अवस्थालाई यस अध्यायमा विश्लेषण गरिएको छ। यसलाई १८२५ देखि १९०३ सम्म, १९०३ देखि २००७ सम्म र २००७ देखि २००८ सालसम्मको अवधिलाई ३ भागमा विभाजन गरी अध्ययन गर्नु जरुरी छ।

(क) वि.सं. १८२५ अर्थात् नेपाल एकीकरण देखि १९०३ सम्मको अवधिको आर्थिक अवस्था

नेपालको एकीकरणअघि नेपाललाई पूर्वी नेपाल, उपत्यका र पश्चिमी नेपाल गरी ३ भागमा विभाजन गरेर विश्लेषण एव व्याख्या गर्ने गरिन्छ। नेपाल एकीकरण हुनुभन्दा पहिला यस देशको पश्चिमी भेगमा बाइसे–चौबिसे नामका रूपमा करिब ४६ राज्य थिए।

यी राज्यमा आर्थिक, सामाजिक तथा भौगोलिक भिन्नता थियो। मालपोत असुली करिब–करिब सबै राज्यको मुख्य राजस्व स्रोत थियो । एकातिर नेपालको उत्तरी सीमानामा बाह्रै महिना हिउँले ढाक्ने ठुला–ठुला हिमशृंखला देखापर्छन्। पहाडी शृंखलापछि नेपालको दक्षिणी सीमा तराईको समथर मैदान हुँदै फैलिन पुगेको छ।

एकीकरणपछि नेपालको क्षेत्रमा रहेको पश्चिमी तराई तत्कालीन नेपालको सिमानाभित्र थिएन । यस क्षेत्रमा खाद्यान्न तथा नगदे बाली उत्पादन गरिन्थ्यो । उक्त उत्पादन स्थानीय उपभोगपछि बाँकी भारततर्फ निकासी हुने गर्दथ्यो । पहाडी प्रदेशहरूबाट तराईतिर बसाइँ सर्ने व्यक्तिहरूको कमीले गर्दा यस क्षेत्रमा ज्यादा आवादी बढ्न सकेको थिएन।

काठमाडौँ उपत्यका नेपालको मध्य पहाडी क्षेत्रमा परे पनि यस क्षेत्रमा उर्वरा भूमि, घरेलु उद्योगधन्दाहरूको विकास तथा तिब्बतसँगको व्यापार आदि कारणले गर्दा उपत्यकाको आर्थिक स्थिति अन्य राज्यहरूको भन्दा राम्रो थियो।

गोरखामा पृथ्वीनारायण शाहको राज्यारोहणपछि सैनिक व्यवस्थालाई बढी सुदृढ गर्ने कार्यको सुरुआत भयो । त्यसैबेलादेखि सैनिक हातहतियारसम्बन्धी उद्योगहरूको पनि थालनी भएको देखिन्छ।

पृथ्वीनारायण शाह गद्दीसीन भएपछि केही वर्षभित्रै उनले गोरखामा सीमित मात्रामा भए पनि सैनिक हातहतियार तथा युद्ध सामग्रीको उत्पादन गर्न सुरु गरे।

(ख) १९०३ देखि २००७ सालको अवधिको आर्थिक अवस्था

सन् १८४६ सालमा कोतपर्व घट्यो, जसको मुख्य कारण राजनीतिक अस्थिरता र शासनकाल सुरु भयो । सन् १८४६ सालपछि जंगबहादुर राणा प्रधानमन्त्री तथा कमाण्डर इनचिफ बन्न पुगे । त्यसपछि नेपालमा १०४ वर्ष सम्म जहाँनिया राणा शासनकाल रहयो सुगौली सन्धिमा नेपालले गुमाएको पश्चिमी तराईका ४ जिल्ला कंञ्चनपुर,कैलाली बर्दिया, बाँके हुन् जसलाई नयाँ मुलुक भन्न थालियो । राणाशासन कालमा पनि आन्तरिक राजनीतिक कलह र सत्ताका लागि संघर्षका कारण नेपालको आर्थिक अवस्था कमजोर बन्दै गयो ।

चन्द्रशमसेरको पालाभन्दा अगाडिका कारणले जे जति सम्पति आर्जन गरे पनि त्यो नेपालभित्र नै थियो र चन्द्रशमशेरको पालादेखि कमाएको सम्पति पनि बाहिर लैजान आर्थिक अवस्था दयनीय छ भने अर्कातिर कमाएको सम्पति पनि देशबाहिर लैजान थालेपछि देशको आर्थिक अवस्था कमजोर बन्दै जान थाल्यो। तर, चन्द्रशमसेरले देशमा शिक्षा, साहित्य, सडक, धारा, जलविद्युत् र नहर आदि क्षेत्रको विकासमा प्रारम्भिक पाइला चालियो।

उनको समयमा कृषि र पशुपालन मुख्य पेसा थियो। तराईको क्षेत्र कृषिका लागि उपयुक्त थियो। कृषि त्यति फस्टाउन सकेको थिएन। तराई पहाड तथा हिमाली क्षेत्रबीच आन्तरिक व्यापार हुन्थ्यो भने बाह्य व्यापार भारत र चीनसँग हुन्थ्यो।

औद्योगिक विकासका लागि मुलुकले नयाँ फड्को मार्‍यो। जुद्धशम्शेरले औद्योगिक विकासका लागि उद्योग परिषद् गठन गरी औद्योगिक क्षेत्रमा निजी लगानी आकर्षित गर्ने हेतुले नेपाल कम्पनी ऐन कार्यान्वयन गरेका थिए। परिमाण स्वरुप विराटनगर जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, मोरङ हाइड्रो कन्पनी अन्य विभिन्न कलकारखानाको स्थापना भएको थियो। यी विभिन्न आर्थिक कार्यको विकास भए पनि यिनीहरूको विकास केवल केन्द्र र राणाहरूको स्वार्थ पूर्तिका लागि मात्र थिए ।

राणाहरूको आन्तरिक शासन मोह र विलासिताका कारण शासनका विरुद्धमा उठेका आन्दोलन सशक्त रूपले अगाडि बढिसकेको थियो। आन्तरिक सत्ता मोह र विलासिताका कारण राणा शासनविरुद्ध उठेको आन्दोलन सशक्त रूपले अगाडि बढिसकेको थियो। अन्तर्राष्ट्रिय परिस्थिति पनि राजाविरुद्ध खडा हुन पुगेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पूर्णत प्रतिकूल बन्न पुगेपछि राणाशासन टिक्ने कुनै आधार थिएन। परिणाम स्वरुप २००७ सालमा १०४ वर्षसम्मको जहानियाँ राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको उदय भयो।

राणाकालीन शासन व्यवस्थाले मूलतः केन्द्रीकरणको अवधारणालाई अँगालेको भए पनि केही हदसम्म विकेन्द्रित प्रशासनका स्वरूपहरू पनि थिए। राणाकालमा १९७६ मा गाउँ स्तरमा मान्यजन कचहरूको स्थापना गरी स्थानीय स्वायत्त शासनको अवधारणा लागू गराउनेतर्फ केही कार्य प्रारम्भ भएको देखिन्छ । साथै तराईमा अमाल र पहाडमा कचहरीको व्यवस्था गरिएको थियो।

२००४ सालमा नेपाल सरकारले वैधानिक कानुन जारी गरी सो विधानमै स्पष्ट स्थानीय स्वायत्त शासनको अवधारणालाई केही हदसम्म प्रत्याभूत गर्ने प्रयास भएको देखिन्छ। नेपाल सरकारको वैधानिक कानुन, २००४ ले स्थानीय निकायका रूपमा हरेक सहरी क्षेत्रमा १० देखि ५० जना निर्वाचित सदस्यहरूको एकै नगर पञ्चायत र ग्रामीण क्षेत्रमा ५ देखि १५ जनासम्म निर्वाचित सदस्यहरूको एक ग्रामपञ्चायत रहने र जिल्लामा जिल्ला पञ्चायतको व्यवस्था गरेको थियो।

१९०४ देखि नेपालमा राणकाल सुरु भयो । राणाहरूमध्ये प्रथम शासक जंगबहादुर राणले श्री ५ सुरेन्द्र वीरविक्रम शाहबाट खड्क निसाना आफ्नो नाममा गराएर लिएपछि देशको सम्पूर्ण प्रकाशनको जिम्मा उनीहरूमा पर्न गयो। शाहवंशीय शासकहरूले तिनै राणहरूको निगरानीमा रहनु, आर्थिक क्रियाकलाप पनि उनीहरूको निर्देशनअनुसार सञ्चालन गरिनुपर्ने कुरा पनि छँदै थियो। त्यसकालमा पनि राजस्वको मुख्य स्रोत मालपोत नै थियो। यस कालमा कर संकलन गर्ने काम जमिनदार र तालुकदारबाट ठेक्कामा गरिन्थ्यो।

कृषि उत्पादन बढाउनेतर्फ कुनै खास प्रयास गरिएको थिएन । मालपोतबाट उठेको रकममध्येबाट सकेसम्म कम खर्च गर्ने र बाँकी रहेको रकम आफ्नो ढुकुटीमा जम्मा गर्ने चलन विद्यमान थियो । सार्वजनिक कोेषको रकम र राजाको निजीको बीचको भिन्नता छुट्याउने कुनै ठोस आधार थिएन। एकीकृत बजेट बनाउने चलन थिएन किनभने सोच्ने खर्चको तुलनामा आम्दानी बढी नै हुने गथ्र्यो।

आय–व्ययबीच सन्तुलन कायम गर्ने तथा सकेसम्म बचत गर्ने नीतिको आधारमा नै आर्थिक गतिविधिहरू सञ्चालन गरिन्थ्यो। आम्दानी तथा खर्च गर्ने काम राणाहरूबाट निर्दिष्ट कार्यप्रणालीअनुसार गरिन्थ्यो। राणाकालमा प्रचलित सनद सवाल र दरबन्दी प्रणाली तत्कालीन आस्थालाई विचार गर्दा आर्थिक अनुशासन कायम गर्ने काममा पर्याप्त जस्तै मानिन्थ्यो।

जंगबहादुरले विदेशी बैंकमा राष्ट्रिय ढुकुटीको कुनै अंश पनि राख्नेबारेमा कानुनी ढंगले नै अवैध घोषित गरेका थिए। जंगबहादुरका छोराहरू शक्तिमा आउन पनि पाएनन् । जंगबहादुरले पनि भाइहरूको गुन सम्झी सुरुमा शक्तिमा भाइहरूलाई नै प्रतिस्थापना गरे।

धीरशमशेर र उनका छोराहरू नै शक्तिमा रहे । वीरशमशेर, देवशमशेर र जुद्धशमशेर त नेपालको प्रधानमन्त्री नै भए। तर, जंगबहादुरका छोराहरू धीरशमशेरका छोराहरूको षड्यन्त्रमा परी निष्कासित भएकाले जंगबहादुका परिवारद्वारा देशको धन अपेक्षाकृत रूपमा कमै आर्थिक विनाश भयो । वीरशमशेर आफ्नो प्रारम्भिक कालमा कलकत्ता बसेकाले आधुनिक पदार्थवादी सभ्यताप्रति विशेष अभिरुची राख्थे ।

चन्द्रशमशेरको शासनकालमा राष्ट्रिय आय करिब अढाई करोड पुगेको थियो । चन्द्रशमशेरले लगभग ४० करोड नगद रुपैयाँ विदेशी बैंकमा जम्मा गरे। बहुमूल्य र रत्नादिका रूपमा कति सम्पत्ति बाहिरियो त्यसको कुनै हिसाब छैन । चन्द्रशमशेरले सिंहदरबारलगायत आफ्ना छोरा–नातिका निम्ति बनाएको दरबारहरूमा कमसेकम ५–७ करोड रुपैयाँ खर्च गरेको अनुमान छ ।

प्रथम महायुद्धताका ब्रिटिस सरकारले नेपाललाई वार्षिक १० लाख रुपैयाँ दिएर नेपाली स्वदेशी फौजी शक्तिको उपयोगिता प्राप्त गर्ने प्रयास गर्‍यो। १९२३ ई.को अंग्रेजसँगको एक सन्धिअनुसार नेपालमा विदेशी मालको आयातमा थप प्रोत्साहन भएकाले देशको आर्थिक शोषणमा अझै वृद्धि भयो। भीमशमशेरले लगभग ६ करोड रुपैयाँ विदेशी बैंकमा जम्मा गरे वार्षिक १०–१५ लाख आय हुने बिर्ता आफ्नो परिवारका सदस्यहरूको नाममा गरे।

छोरा नातिका लागि दरबारसमेत तयार गरेका थिए। यिनको पालामा नुन र कपासको आयातमा भन्सार रकम माफ गरियो। जुद्धशमशेरले पनि आफू र आफ्नो परिवारका लागि प्रशस्त सम्पत्ति एकत्रित पारे।

जुद्धशमशेरले केन्द्रमा मुलुकी खाना र यसअन्तर्गतका कार्यालयमा ३ साँचोको व्यवस्था गरी प्रधानमन्धी, मुख्तियार र जंगीलाठको जिम्मामा राख्ने व्यवस्था गरे । १९३४ को जग्गाको वर्गीकरण पनि पुरानै ४ प्रकारको जग्गाको किसिममा आधारित थियो ।

२००७ सालअघि नेपालमा केवल ३७६ किलोमिटर सडक मात्र थियो। यो सालमा प्रतिकिलोमिटर सडकले २१.२५० जनसंख्यालाई सेवा पुर्‍याउँदै आएको थियो। २००७ सालमा काठमाडौँ र भारतको पटनाबीच वायुसेवा सुरु भएपछि मात्र नेपालमा हवाई यातायातको विकास आरम्भ भएको हो।

यो सेवा भारतका तत्कालीन कम्पनी ‘ इन्डियन नेसनल एअरलाइन्स कर्पोरेसन’ले हप्ताको एक पटक सञ्चालन गर्ने गरेको थियो। यो कम्पनीले केही आन्तरिक वायुसेवा पनि सञ्चालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्