समाजवादी मोर्चा माथि ओलीको कटाक्ष : एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन मात्र हो 



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको चर्चा चलीरहेको वेलामा त्यसको कुनै औचित्य नभएको बताएका छन् । अहिले एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन मात्र मोर्चा घोषणाको कुरा गरिएको ओलीको भनाइ रहेको छ ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सँगसँगै रहेका दलहरूले समाजवादी मोर्चा बनाई रहनुको कुनै अर्थ नहुने बताएका छन्।

ओलीले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ?’ उनले नेकपा एमाले कुनै मोर्चामा नलाग्ने बताउँदै एमालेले आगामी निर्वाचन बहुमत ल्याउने दाबी गरे ।

उनले भने, ‘यो चारतिर फर्केका, चारतिरका गलत गलत फरक फरक उद्देश्य बोकेका त्यस्ता तत्त्व एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन । एमालेलाई सरकारबाट बाहिर राख्न एक छिनलाई हुन सक्छ । ०८४ सम्मलाई हुन सक्छ । हामीले मिसन ८४ को तयारी गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नु छ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’

प्रतिक्रिया दिनुहोस्