सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ऐन कार्यान्वयनमा चुनौती



काठमाडौँ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिंखडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयनमा दृढ रहेको बताइन्।

स्वास्थ्य पत्रकार मञ्चले शनिबार पोखरामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले सिम्खडाले आफु दृढ रहेको बताएकी हुन् ।

जनताको स्वास्थ्यको विषय भएकाले सुर्तीजन्य पदार्थ नियमनका लागि कानुन कार्यान्वयन गर्न आफ्नो भूमिकामा कुनै  कमी नहुने उनको भनाइ छ ।  उनले भने, ‘जनताको स्वास्थ्यसँग सम्बन्धित विषय हो । यसलाई निष्कर्ष निकाल्ने कुरामा मेरो जहिले सहयोग रहन्छ । यो कानुन लागू गर्नुपर्छ भन्नेमा मेरो भूमिका एक प्रतिशत पनि कम हुँदैन ।’

आफू सानै उमेरदेखि धूम्रपान मद्यपानको विरोधी रहेको बताउँदै ऐन कार्यान्वयनमा आफ्नो मात्रै हात नहुने भएकाले सबै क्षेत्रले सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।  धूम्रपान र मद्यपानका कारण धेरै बस्तीहरू अशान्त रहेको, घर समुदायहरू तनावमा रहेको बताउँदै आफूले सेवन नगरे पनि अरूलाई नखा भन्न अप्ठेरो रहेको, खुद्रा पसलमा गएर चुरोट नबेच भन्दा भन्ने मान्छे नै नराम्रो हुने अवस्था रहेको छ । नियममा बस्ने, नियम बनाउने र नियममा बाँधिने कुरा नै अहिलेको मुख्य आवश्यकता भएको उनले भनाइ रहेको छ ।

किशोर–किशोरीहरुमा धूम्रपानको लत धेरै रहेकाले अभिभावकले पनि उचित निगरानी गर्नु आवश्यक रहेको उनको भनाइ रहेको छ ।
उनले भने, ‘हामी सप्पत्ति कमाउनेमा धेरै फोकस भएका छौँ । तर छोराछोरीलाई संस्कार दिनमा ध्यान छैन । हाम्रो घरबाटै सुरु गरौँ। बहस छलफल गर्दै जाऔँ, कानुन कार्यान्वयनको पाटोमा ध्यान दिऔँ । एक दिन अवश्य सफल भइन्छ ।’

हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट ८० लाख मान्छे मर्नु सामान्य कुरा नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा.डा भरत खत्रीले बताए ।

यसरी साइलेन्स किलर हो भनेर थाहा पाउँदा–पाउँदै पनि धूम्रपान गर्नेले त्यसलाई मनन् नगरेको प्रा.डा खत्रीले भनाइ छ । धेरै पत्रकार, चिकित्सक, स्वास्थ्यकर्मीसमेत धूम्रपान गर्ने गरेको आफूले देखेको खत्रीले बताए ।

सुर्तीजन्य पदार्थ सेवनको लत भएका व्यक्तिलाई त्यसको विकल्प नदिएमा ऐन कार्यान्वयनले मात्रै यसलाई नियन्त्रण  गर्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘हामी ऐनमा लागिरहेका छौँ तर चुरोट खानेलाई आवश्यक पर्ने कुरा पूर्ति नगरेसम्म त्यो कम हुँदैन । जति ब्यान्ड गरे पनि कुनै समाधान छैन । ऐन, कानुनले कुनै काम गर्ने वाला नै छैन ।’

धूम्रपानलाई निरुत्साहित गर्न धूम्रपान कार्ड बनाउने जस्ता निमन पनि लागू गर्न सकिने खत्रीको सुझाव रहेको छ ।सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि घरैबाट सुरु गर्नुपर्ने उनको भनाइ छ ।

सुर्तीजन्य सेवनलाई नियन्त्रणका लागि कानुन भने हुनै पर्ने र सुर्तीजन्य उद्योगमा रोजगार रहेकाको विकल्प खोजेर उद्योगलाई निरुत्साहित गर्नुपर्ने खत्रीको भनाइ रहेको छ । साथै, कानुनको दबाबले पनि मान्छेलाई स्वनियन्त्रण गर्न सहयोग पुग्ने भनाइ खत्रीको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले नेपालमा सुर्तीजन्य पदार्थ सेवनको अवस्था र ऐन कार्यान्वयनमा नेपाल तथा गण्डकी प्रदेशमा भएको प्रयासबारे जानकारी गराएका थिए ।

नेपालका करिब एक तिहाइले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङक  आचार्यले प्रस्तुत गरे । पुरुषको तुलनामा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला कम रहेको विभिन्न अध्ययनको तथ्याङ्कमा देखिएको आचार्यले जानकारी दिए ।

सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुष ५१ प्रतिशत रहँदा महिला १३ प्रतिशत मात्रै रहेको पनि उनको भनाइ छ । पहाडी भेगका महिलाले धेरै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्कमा आचार्यले प्रस्तुत गरे ।

सुर्तीजन्य पदार्थ सेवन गर्ने मध्ये ७५ प्रतिशतलाई यो हानिकारक छ भन्ने जानकारी भएको अध्ययनले देखाएको आचार्यले बताए ।
धूम्रपानको लत लागेका ४ प्रतिशतले मात्रै यो छाड्न सकेका आचार्यले जानकारी  गराउँदै नियन्त्रण नियमनका लागि कानुन बनाएर प्रयास भइरहेको बताए । केन्द्र सरकारले २०६८ सलमा ऐन र नियमावली, त्यसपछि निर्देशिकाहरू जारी गर्दै नियमनमा भूमिका खेलिरहेको उनले स्मरण गराए ।

गण्डकी प्रदेशले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमनका लागि २०७६ मा ऐन  बनाउने प्रयास गरेको आचार्यले जानकारी गराए । नयाँ ऐन तथा निर्देशिकाका कारण सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने, फुटकर खिल्ली बेच्न नपाइने, पाकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्ने जस्ता नियम आएको उनले सुनाए ।

विश्वमा मृत्यु हुनेमध्ये ७१ प्रतिशतको र नेपालमा ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने गरेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । धेरै नसर्ने रोग लाग्नुको कारण सुर्तीजन्य पदार्थको सेवन रहेको चन्दले बताए।

७ प्रदेशमध्ये सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि गण्डकी प्रदेशले मात्रै ऐन बनाएको भन्दै अध्यक्ष चन्दले सह्राना गरे । सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्न मुख्य अस्त्र कर वृद्धि रहेको चन्दले बताए । सुर्ती, चुरोटका खोलमा ९० प्रतिशत चेतावनीमुकल चित्र राख्नुपर्ने नियम रहेको र ६–६ महिनामा नयाँ चित्र राख्नुपर्नेमा त्यो कार्यान्वयन नभएकोमा चन्दले चिन्ता व्यक्त गरे ।

टोबाको कम्पनीका सञ्चालकहरू नीति निर्माण तहमा बसेकालाई दिग्भ्रमित बनाएर आफ्नो स्वार्थ लागू गराउने खप्पिस रहेको आरोप चन्दको रहेको छ । टोकाको कम्पनीका साउँजीहरू राजनीतिज्ञलाई कन्भेन्सन गराउन निकै माहिर हुनुहुन्छ’ चन्दले भने,  ‘रोजगार दिएका छौँ भन्ने, ग्राहकका रूपमा चुरोट, सुर्ती सेवन गर्नेलाई मुद्दा हाल्न लगाउने, यहाँ उद्योग बन्द भए विदेशबाट धेरै आयात हुन्छ भनेर तर्साउने पनि गर्नुहुन्छ ।’

सुरुमा ऐन पास गर्नै गाह्रो भएको, त्यसपछि चेतावनीमूलक चित्र राख्ने निर्देशिका पास गराउने पनि निकै चुनौती झेल्नु परेको चन्दले सुनाए । सुर्ती उद्योगहरूले समाजमा सेवा गरेको भन्ने नाममा विभिन्न गतिविधि गरिरहेकाले त्यो उपयुक्त नभएको चन्दको भनाइ छ । एम्बुलेन्स दिने, स्कुल खोलिदिने, पानी पम्प दिने, अस्पताल खोल्न पैसा दिने जस्ता काममा सुर्ती उद्योगहरूले सहयोग गर्ने गरेकाले त्यस्ता सहयोग लिन नहुने चन्दको भनाइ छ ।

सुर्तीजन्य पदार्थमा पोखरा महानगरपालिका सुस्त देखिएको आरोप अध्यक्ष चन्दको छ । पर्यटकीय सहर पोखरामा स्मोब फ्री होटेल बनाउने सके त्यो निकै राम्रो हुने सुझाव चन्दले दिए ।

सहरका हरेक ठाउँमा धूम्रपान निषेधको चिन्ह राख्ने, पालिकाले आफ्नै पाठ्यक्रम राख्न पाउने भएकाले त्यसमा सुर्तीजन्य पदार्थ नियमनको विषय राख्न पनि उपयुक्त हुने सुझाव चन्दको छ । सुर्तीजन्य पदार्थ सेवन सुरु गर्ने उमेर १२–१३ वर्ष रहेकाले यसरी पाठ्यक्रममा समावेश गर्न सके निकै राम्रो हुने उनको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार प्रविन ढकालले सुर्तीजन्य पदार्थ नियन्त्रण निमनका लागि ऐन निर्माण तथा कार्यान्वयनमा पत्रकारले खेलेको भूमिकाबारे प्रस्तुति राखेका थिए ।

स्वास्थ्य पत्रकारहरूले ऐन आउनुपर्छ भनेर निरन्तर कलम चलाएको उनले सुनाए । ऐन रोक्नका लागि चुरोट, सुर्ती उद्योगको दबाब, धम्की धेरै आएको पनि ढकालले बताए ।

चुरोट, सुर्ती सेवनबाट रोग लाग्छ, क्यान्सर लाग्छ भनेर कहाँ लेखिएको छ, त्यसै समाचार लेख्ने भनेर धम्काउने समेत गरेको ढकालको भनाइ छ । चेतावनीमूलक चित्र कार्यान्वयनमा पनि समस्या भएको उनले बताए ।

स्वास्थ्य पत्रकार मञ्चका पूर्व अध्यक्ष रामप्रसाद न्यौपाने ऐनमा बने पनि कार्यान्वयनमा समस्या रहेको जानकारी दिए । जस्तोसुकै बाधा भए पनि कानुन कार्यान्वयन गर्नुपर्ने न्यौपानेले बताए ।

नयाँ पुस्तालाई सुर्ती, चुरोट सेवनबाट बचाउन आवश्यक रहेको न्यौपानेको भनाइ छ । स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले सुर्तीजन्य पदार्थ नियन्त्रणमा मञ्चले खेलेको भूमिकाबारे जानकारी दिए । ऐन निमार्णदेखि कार्यान्वयनमा स्वास्थ्य पत्रकारको ठुलो भूमिका रहेको ढुङ्गेलले बताए ।

कार्यक्रममा सहभागी तथा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार प्रविण ढकालले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्