दिसाजन्य फोहोर खोलामा फाल्ने २ कन्टेनरलाई ललितपुर महानगरले तिरायो एक लाख जरिवाना



काठमाडौं । ललितपुर महानगरपालिकाले दिसाजन्य फोहोर खोलामा फ्याँक्ने दुई कन्टेनरलाई ५०-५० हजार रुपैयाँ जरिवाना तिराएको छ। उपत्यकाका विभिन्न ठाउँको सेप्टिक ट्यांकी सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेरलाई एक लाख जरिवाना गरेको महानगरले जनाएको हो।

बा.३ ख. २८० र बा.३ ख.९४०३ नम्बरको कन्टेनरलाई अनुगमनका क्रममा महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो। महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई सफा र सुन्दर बनाउने अभियानलाई असहयोग गरेकाले कारबाही गरेको बताए। उनले भने, ‘दिसाजन्य फोहोर जथाभावी फँयाकेर महानगरबासीको स्वास्थ्यमा खेलबाड भएको छ, यसप्रति हाम्रो गम्भीर आपत्ति छ।’

महानगरको फोहोर व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना तिराइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए। २४ जेठमा महानगरको नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो।

महानगरले यो विषय गम्भीर भएको बताउँदै बागमती सभ्यता आयोजना र जिल्ला प्रहरी परिसरलाई पनि ती कन्टेनरलाई कारबाही गर्न पत्राचार गरेको छ। दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले अनुगमनका लागि त्यहाँ पुगेको नगर प्रहरी प्रमुख सिताराम हाछेथूले बताए।

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टी ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका थिए । प्रति कन्टेनर पाँच सय रुपैयाँ लिएर तामाङले खोलामा सेफ्टी ट्यांकीका फोहोर फाल्न दिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्