समाजवादी मोर्चा घोषणा : हल भरियो, मन भरिएन



काठमाडौं । दलहरूको लामो प्रयासपछि सोमबार काठमाडौँमा ४ दलका शीर्ष नेताहरूले ‘समाजवादी मोर्चा’ गठन भएको घोषणा गरेका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको ‘नेकपा’ विभाजदेखि नै मोर्चाको आवश्यकता महसुस गरेका नेताहरू झन्डै ४ वर्ष लामो छलफल र बहसपछि मोर्चालाई पूर्णता दिएका छन्।

यस अविधिमा नेताहरूबीच मोर्चा बनाउन लामो छलफल र बहस भएको स्वयं शीर्ष नेताहरूको दाबी छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी एकता गर्नु हतार भएको भन्दै आत्मबोधसमेत गरे । उनले ३ जेठ, २०७५ मा नेकपा एकताभन्दा मोर्चा बनाएको भए केही लामो टिक्थ्यो कि भन्ने आफूलाई लागेको बताए।

समाजवादी मोर्चा परिवर्तन उल्ट्याउन खोज्नेहरूविरुद्ध युद्धको घोषणा भएको प्रचण्डको दाबी छ। तर, यही मञ्चबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने मोर्चा कसैका विरुद्ध लक्षित नरहेको बताए।

उनले भने, ‘यो मोर्चा गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन । हामी परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखापरेका समस्यालाई हल गर्दै अगाडि बढ्न चाहन्छौँ । यो कसैको विरुद्धमा लक्षित छैन । त्यसकारण कोही नतर्सिए हुन्छ।’

राष्ट्रियसभा गृहमा भएको मोर्चा घोषणामा उल्लेख्य रूपमा नेता कार्यकर्ताको उपस्थिति रह्यो। हलभित्र नअटेपछि कार्यकर्ता सबै बाहिर बस्न बाध्य भए। कार्यकर्ता मात्र होइन, अतिथिका रूपमा आएका नेताहरूलाई समेत मञ्चमा राखिएन।

मञ्चमा ६ जना शीर्ष नेता मात्र बस्दा माओवादीका महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेताहरू बाहिर बसे।

हल भरियो, मन भरिएन
मोर्चा घोषणाका साक्षी बस्न आएका नेता–कार्यकर्ताले राष्ट्रियसभा गृहको हल भरियो । तर, मन भने भरिएन । हलभित्र पस्न नपाएका नेताहरू चउरमा बसेर मोर्चाको भविष्यवाणी गर्न थाले। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य मोर्चाको भविष्य धेरै लामोमा साम्यवाद र छोटोमा आगामी चुनावसम्म रहेको बताउँछन्। आगामी चुनावमा हुने टिकट वितरणमै नेताहरूको मनमुटाव देखिने उनी बताउँछन् ।

आफ्नो पार्टीले झन्डै १ दशकदेखि लिएको नीतिका कारण उनी यो मोर्चाको भविष्य के हुने भन्ने किटान गर्न सक्दैनन्। नेताहरूको व्यक्तिगत व्यवस्थापनमा मन नमिल्दा पार्टी एकता, गठबन्धन भत्किएका उदाहरण दिँदै यो विषय नेपाली राजनीतिको मुख्य समस्या रहेको उनको दाबी छ।

साक्षी बस्न आएका अधिकांश नेता नै मोर्चा लामो समय टिक्नेमा विश्वस्त छैनन् । सत्ता टिकाउने र राजनीतिमा आफूहरू किनारा पर्दै गएपछिको डरका कारण यो मोर्चा बनेको नेता कार्यकर्ताको बुझाइ छ। माओवादीका कार्यकर्ता मोर्चा बन्नु प्रचण्डको चतुर राजनीति भएको बताउँछन् । तर, यस्ता खाले राजनीतिले माओवादीलाई कुनै फाइदा नहुने उनीहरूको बुझाइ छ।

माओवादी कार्यकर्ता मुकुन्द गौतम भन्छन्, ‘मोर्चा सेन्टिमेन्टल राजनीति र सत्ता टिकाउने खेलको हो, संसदीय राजनीतिको सत्ता नै प्रमुख रहेछ।’ नेपाली राजनीतिमा प्रचण्डलाई चतुर खेलाडी मान्ने गौतम यसरी पार्टी नबन्नेमा बने ढुक्क छन्।

जसपाका प्रवक्ता मनिष सुमन यो मोर्चाका विभिन्न उद्देश्यमध्ये सत्ताको सौदाबाजी पनि एक भएको बताउँछन्। संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको उद्देश्य रहेको उनको दाबी छ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सिंगो वामपन्थीलाई एकताबद्ध गर्ने पहिलो पाइला भएको बताए। तर, उनीसँग पनि अन्य नेता–कार्यकर्तामा जस्तै संशय भने छ । समाजवादी मोर्चा सत्ता टिकाउनका लागि मात्रै नहोस् भन्ने उनको खबरदारीले खनाल आफैँ मोर्चा लामो समय टिक्ला भन्नेमा विश्वस्त छैनन् ।

तर, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को भने मोर्चाले नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्‍याएको दाबी छ। नेपाली जनताको समाजवादप्रतिको चाहाना पूरा गर्न समाजवादी मोर्चा नेपालको गठन भएको विप्लवको दाबी छ।

‘नागरिकमा छटपटी छ। जनता निराशा र आशाको दोधारमा छन्। यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहनाअनुसार आजको संकटबाट पश्चगामीलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौँ,’ विप्लवले भने, ‘नेपालको स्वाधीनता जोगाउन नयाँ लडाइँ अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड हो।’

विप्लवले यी विषय उठाइरहँदा भने नेता–कार्यकर्तामा कुनै उत्साह देखिएन । उनीहरू विप्लवका यी विषयहरू आधा सत्य पनि मान्दैनन्। किनकि विभिन्न उद्देश्य लिएर पार्टी एकता, विभाजन, गठबन्धन सबै भोगेका कार्यकर्ताहरू मोर्चाले कुनै नयाँ दिने आस गर्दैनन्।

प्रचण्ड र एमाले अध्यक्ष ओलीले हामी मिल्यौँ, पार्टी एकता गरौँ भनिदिए कार्यकर्ताले उनीहरूलाई नै सबैभन्दा महान् ठान्ने मोर्चाका साक्षी बस्न आएका नेताहरूको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्