चिकित्सक भन्छन् : मंकिपक्सबाट आत्तिनुपर्दैन



काठमाडौं । विरलै देखिने सरुवा रोग मंकिपक्स भाइरसको संक्रमण देखिएपछि जनमानसमा चिन्ता छाएको छ। शुक्रबार ६० वर्षीया विदेशी महिलामा मंकिपक्स पुष्टि भएको हो।

मंकिपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उनको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार मंकिपक्स पुष्टि भएको हो । यो रोग नेपाललगायत संसारका १११ देशमा पाइएको छ।

मंकिपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्छ। यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनसअन्तर्गत पर्ने डबल स्ट्रन्डेड डिएनए भाइरस हो । मंकिपक्स र बिफर धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ। तथापि यो कम घातक हुन्छ।

‘मंकिपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्किने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ। यो भाइरस अफ्रिकी मुसा वा बाँदरबाट मानिसमा भित्रिएको वैज्ञानिक मत छ। सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकिपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुला छाला, मुख, आँखामा भाइरस परे संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकिपक्स’ सर्ने जोखिम हुन्छ।

अहिलेसम्म यो महामारीका रूपमा संसारको कुनै पनि देशमा छैन । यसका बाबजुद भाइरसमा देखिएको म्युटेसनका कारण यो महामारीका रूपमा फैलन सक्ने चिन्ता भने छ। मध्य अफ्रिकामा देखिएको एउटा भेरियन्टले रोगको बढी लक्षण देखाउँछ।

पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्टले भने हल्का लक्षण मात्रै देखाउँछ। ‘मध्य अफ्रिकाको भेरियन्टले १० प्रतिशत र पश्चिम अफ्रिकामा पाइने भरियन्टले २ देखि ३ प्रतिशत मृत्यु गराउने पाइन्छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले द नेपालटपसँग भने, ‘मध्य अफ्रिकाको भेरियन्टले कोरोनाभन्दा ३ गुणा बढी मृत्यु गराउँछ।’

नेपालमा देखिएको भेरियन्ट पश्चिम अफ्रिकामा पाइने भेरियन्ट हो। चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकिपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हन् । यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन थाल्छन् र चिलाउँछन्। पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ।

मंकिपक्स पूरा ठिक हुन २ देखि ४ साता लाग्छ। बच्चाहरूमा भने रोगको जोखिम बढी हुन्छ। यो रोगका कारण ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्नेसमेत हुन सक्छ। मंकिपक्सका कारण आत्तिनुपर्ने अवस्था नआएको डा. पुन बताउँछन्।

उनी यस रोगको लक्षण देखिएमा तत्कालै यौन तथा छाला रोग विशेषज्ञलाई देखाउन सुझाउँछन् । उनकै विचारमा प्रौढ, बच्चा तथा दीर्घरोघीलाई असर गर्ने भएका कारण सतर्कता भने अपनाउन जरुरी छ। सतर्कता अपनाउने क्रममा यस रोगको लक्षण भएकाहरूको संसर्गमा नजाने हो । ‘अफ्रिकाभन्दा बाहिर देखिए पनि यसबाट आत्तिनुपर्ने अवस्था छैन,’ डा. पुन भन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ। साना बालबालिकामा मृत्युदर उच्च छ। हालको समयमा मृत्युदर लगभग ३ दशमलव ६ प्रतिशत छ।

कोरोना भाइरसजस्तै यसको कुनै उपचार छैन। बिरामीहरूलाई पर्याप्त पोषण स्थिति कायम राख्न तरल पदार्थ र पौष्टिक खाना खुवाउने तथा रोगको लक्षणको उपचार गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्