डेढ वर्षदेखि नीतिविहीन कांग्रेस



काठमाडौं । २४ मंसिर, २०७८ मा १४औँ महाधिवेशनले नीतिबिनै नेतृत्व छानेको सत्तारुढ नेपाली कांग्रेस १९ महिनासम्म नीतिविहीन छ। पार्टीको महाधिवेशनसमेत बाध्यात्मक अवस्थामा गरेको कांग्रेस नेतृत्व विधि र नीतिका विषयमा छलफल गर्न तयार भएन।

महाधिवेशनको मिति तय गर्ने विषयमा समेत लामो रस्साकस्सी गरेका नेतृत्वले महाधिवेशनमा उठ्ने मुद्दा र तिनको जबाफ दिँदा नेतृत्व चयन प्रक्रिया झन्झटिलो हुने कारण देखाएर नीति महाधिवेशन गर्ने निष्कर्षमा पुगेको थियो। नयाँ नेतृत्व आएको ३ देखि ६ महिनाभित्र नीति महाधिवेशन गर्ने बताएको कांग्रेसको महाधिवेशन भएको डेढ वर्ष पुग्दासमेत नीति महाधिवेशनको कुनै टुंगो छैन।

नीतिबिनै नेतृत्व चयन गरेको कांग्रेस यतिबेला नीतिविहीन अवस्थामा छ। तर, केही नेताले त्यसबेला पनि नीति महाधिवेशनलाई नेपाली कांग्रेसको विधानले पनि नचिन्ने टिप्पणी गरेका थिए। कांग्रेसको नीति महाधिवेशन भनिए पनि बस्नुपर्ने महासमिति बैठक हो। किन भने कांग्रेसको विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक हरेक वर्ष महासमिति बैठक राख्नुपर्ने हुन्छ।

१४औँ महाधिवेशनमा नीति र विधिका विषयमा प्रवेश नै नगरेका कारण महासमिति बैठकले संघीय नेपालको कांग्रेस कस्तो हुन्छ ? संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको अभिभावक को हुन्छ ? सार्वभौमसत्ता राजाबाट जनतामा निहीत हुने व्यवस्था गरे पनि जनतामा के फरकपन आउनेछ ? एउटा राजनीतिक दलको जनतासँगको सम्बन्ध कस्तो हुनेछ ?

कांग्रेस जनतामा विश्वास गर्ने ‘मास बेस्ड’ पार्टी कि अब आफ्ना सदस्यमा भर पर्ने ‘क्याडर बेस’ पार्टी हो ? यस्ता विषयमा निर्णयका लागि कांग्रेसको नीति महाधिवेशन गर्ने निर्णय भएको थियो। तर, महाधिवेशनको १९ महिना पुग्दासमेत सभापति शेरबहादुर देउवाले त्यतातर्फ ध्यान दिन सकेको देखिँदैन।

कांग्रेस नीतिविहीन भएकै कारण अहिले भद्रगोल अवस्था सिर्जना भएको केन्द्रीय सदस्य गुरुराज घिमिरे बताउँछन्। ‘कांग्रेस डेढ वर्षदेखि नीतिविहीन छ’ घिमिरेले भने, ‘नीति नभएकै कारण आज कांग्रेसभित्र मनपरि भइरहेको छ।’

शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक, सांस्कृतिक, विकास निर्माण, देशको नीति नियम, अन्तर्राष्ट्रिय विषय, राष्ट्रियताको विषयमा पार्टीको कुनै नीति नभएको घिमिरेले बताए । यही कारण अहिले कांग्रेस पार्टी जस्तोसमेत नभएको उनको तर्क छ। सामान्यतया महाधिवेशनले पार्टी सञ्चालनका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा रणनीति तर्जुमा गर्छ।

महाधिवेशनमा आफ्नो पार्टीलाई समयसापेक्ष गतिशील राख्न अपनाउने विकल्पमाथि छलफल गर्छ, तर १४औँ महाधिवेशन यी विषयलाई बन्देज गरेर नेतृत्व चयनमा मात्र केन्द्रित भयो ।

१० लाख पार्टी कार्यकर्ताबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिलाई बहस र छलफलमा सामेल नगराई भोट मात्र हाल्न लगाइयो । तर, पार्टीको विधानअनुसार उनीहरू भावी रणनीति र त्यसलाई प्राप्त गर्ने कार्यनीति तर्जुमा गर्न बहस छलफलसमेत गराउनुपर्ने व्यवस्था छ। नीतिपछि नेता छान्नुको साटो पहिला नेता छानेर पछि नीतिगत महाधिवेशन गर्ने ‘कर्मकाण्ड’ गरेका कांग्रेसका नेताहरू समय घर्किसकेकपछि नीति महाधिवेशनको चर्चा गर्न थालेको घिमिरे बताउँछन्।

विधान अधिवेशनको विषयमा कांग्रेसको विधानले केही बोल्दैन । यस्तो अभ्यास कांग्रेसमा विगतमा पनि भएको थिएन। ४ वर्षमा गर्नुपर्ने महाधिवेशन साढे ५ वर्षमा पनि गर्न नसकेको कांग्रेसले विधि, विधान र परम्पराविपरीत नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो।

नीतिगत बहस र निर्णय जसरी भए पनि गर्नुपर्ने कांग्रेस नेताहरू बताउँछन्। महासमिति बोलाएर गर्ने कि, कुन संरचना बनाएर गर्ने भन्ने विषयमा समेत नेताहरूबीच आन्तरिक छलफल भइरहेको नेताहरू बताउँछन्।

नीति की विशेष महाधिवेशन ?

१९ महिनासम्म महाधिवेशनमा निर्णय भएको नीति महाधिवेशन गर्ने विषयमा कुनै कुरा गर्न नचाहेका कांग्रेसभित्र विशेष महाधिवेशनको गर्ने समेत चर्चा सुरु भएको छ । विशेष गरी १४औँ महाधिवेशनबाट सुरु भएको गगन–शेखर समूहले विशेष महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिने रणनीति छ।

सभापति देउवाले संस्थागतभन्दा हरेक विषय गुटगत निर्णय गर्ने गरेको आरोप लगाउँदै राजीनामा वा विशेष महाधिवेशनको नीति यो समूहको छ। यद्यपि यो समूहभित्र पछिल्लो समय असन्तुष्टि देखिन्छ। केन्द्रीय सदस्य रामहरि खतिवडा तत्कालै विशेष महाधिवेशन हुने सम्भावना नरहेको बताउँछन्। उनले अहिले पार्टीको नीति महाधिवेशन अत्यावश्यक भए पनि तत्काल गर्न सक्ने सम्भावना नरहेको बताए।

उनले भने, ‘बदलिँदो अवस्थामा पार्टीको आर्थिक, राजनीति, परराष्ट्र, संगठनात्मक स्वरूपलगायतको नीति बनाउन नीति महाधिवेशन अत्यावश्यक छ। तर बर्खा सकिएपछि मात्र नीति महाधिवेशन हुन्छ।’

पार्टी नीति महाधिवेशन समयमै नगर्नुमा नियतभन्दा पनि पार्टीको बाँकी क्षेत्रको अधिवेशन, चुनाव र सत्ता केन्द्रित राजनीतिक भएको खतिवडा बताउँछन्।

द नेपालटपसँग खतिवडाले भने ‘पार्टी महाधिवेशनपछि अधिवेशन हुन बाँकी प्रदेश र जिल्लाहरूको अधिवेशन गर्‍यौँ। लगतै स्थानीय चुनाव भयो, त्यसपछि संघ र प्रदेशको चुनाव भयो, राष्ट्रपति निर्वाचन, सरकारमा सहभागितालगायत विषयमा लाग्दा नीति महाधिवेशन गर्ने समय भएन।’

प्रतिक्रिया दिनुहोस्