एमाले सत्ताको पछाडि नरहेको एमाले सचिव शंकर पोखरेलको स्पष्टोक्ति



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् ।नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने  बताउँदै एमाले सत्ताको नयाँ समीकरण बनाउने बाटोमा नरहेको बताएका हुन् ।

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी मिसन ग्रास रुट अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा उनले भने, ‘आज नेपालको राजनीतिमा हेर्नुहुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो रु आज प्रतिनिधिसभामा हेर्नुहुन्छ भने नेपाली काँग्रेस पहिलो दल छ । नेकपा एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रूपमा रहेको छ। तर सरकारको नेतृत्व कसले गर्दैछ रु तेस्रो दलले गर्दै छ । के का आधारमा गर्दै छ रु भन्दा नेपाली समाजमा राजनीतिको ध्रुवीकरण हुन सकेन । बलियो राजनीतिक दलहरू, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरू बलिया हुन सकेनन् । यो  मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौता गर्ने, नीतिगत सम्झौता गर्ने जुन प्रकारको अवस्था छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।’

महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरूले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गराउन चाहेको तर्क पनि गरे । उनले जनादेश विपरीत कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्‍याउने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरू क्रियाशील रहेको बताए ।

उनले भने, अहिले हाम्रा लागि सत्ता प्रधान होइन । हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेको विकास अबको हाम्रो सङ्कल्प हो भन्ने मान्यताको आधारमा हामीले मिसन ग्रास रुट अभियान थालेका थियौँ त्यही मिसन ग्रास रुट अभियानको जगमा यति बेला नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको सङ्कल्पका साथ नयाँ योजना, नयाँ सङ्कल्पका साथ अगाडि बढ्न खोजिरहेको कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताए । उनले नीति, सिद्धान्त र सङ्गठनबिनाका नयाँ राजनीतिक शक्तिहरूले मुलुकको नेतृत्व लिन नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्