भलिबल टिमका कप्तान बर्खास्त



काठमाडौँ । नेपाल भलिबल राष्ट्रिय टिमका कप्तानलाई बर्खास्त गरिएको छ । सङ्घले हरिहजुर थापालाई बर्खास्त गरेको हो । सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रङ्गशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल सङ्घले उनलाई बर्खास्त गरेको हो ।

सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा सङ्घले उनलाई कप्तानबाट हटाएको हो ।

उनीमा राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता नपाएको जसका कारण उनलाई पदबाट बर्खास्त गरिएको भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जनाकारी गराएका छन् ।

महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको छानबिन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।

छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरूको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल सङ्घलाई सुझाव दिएको छ ।

विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरी कारबाही गरेको छ ।

छानबिन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अङ्क आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्ट जनाएका थिए । सोही क्रममा खेल अनुशासन भन्दा बाहिर गएको थियो ।

प्रतिक्रिया दिनुहोस्