काठमाडौँमा आपराधिक गतिविधि बढ्दो



काठमाडौँ । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।

आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार सय ६४ अपराधका मुद्दा दर्ता भएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँभित्र बैङ्किङ कसुर र आर्थिक अपराधका मुद्दा बढेको बताए।

“पछिल्लो समय बैङ्किङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिट्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने प्रवृत्ति बढेको छ,” उनले भने । आव २०७९/८० मा दर्ता भएका १३ हजार चार सय ६४ अपराधका मुद्दामध्ये बैङ्किङ कसुरका मात्र सात हजार १०१, अभद्र व्यवहारका दुई हजार आठ सय ९४, चोरीसम्बन्धी छ सय ४७, ठगीका चार सय १४, लागु औषधका तीन सय ६८, आत्महत्यासम्बन्धी तीन सय ५७ मुद्दा रहेका छन् ।

यस्तै महिला तथा बालबालिकासम्बन्धी कसुरमा तीन सय २६, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी एक सय ८९, कर्तव्य ज्यानसम्बन्धी २७ र अन्य अपराधका एक हजार एक सय ४१ मुद्दा दर्ता भएका थिए । यहाँका प्रहरीले हाल काठमाडौँभित्र ५६ प्रहरी इकाईमार्फत सुरक्षा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्