नेप्सेमा दोहोरो अङ्कको गिरावट 



काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको गिरावट आएको छ । आज मङ्गलवार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३६.१९ अङ्कले ओरालो लागेको हो  नेप्से आज ओराला लागेसँगै र २१६४.३१ विन्दुमा पुगेको छ ।

आइतबार मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमबारदेखि घट्न थालेको हो। सो दिन बजार सकिएपछि भएको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा प्रवाह गर्दा ५० लाख रुपैयाँ सम्मको कर्जामा मात्र जोखिमभार शतप्रतिशत रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि सोमबारदेखि बजार घट्न थालेको हो।

आज सेन्सेटिभ इण्डेक्स ७.६२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अङ्क घटेको छ। आज कारोबार रकम पनि ओरालो लागेको हो । अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

किसान लघुवित्तको शेयर, यस दिन पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटि होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ। यस दिन नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्को १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ।  होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२२ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग तथा विकास बैङ्क उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्